पाँच वर्षमा जलविद्युत् क्षेत्रमा ८ खर्ब लगानी प्रतिबद्धता, ५ हजार मेगावाट उत्पादन क्षमता



काठमाडौं । नेपालमा लोडसेडिङ अन्त्य भएको ६ वर्ष पुगिसकेको छ । नेपाल विद्युत प्राधिकरणले पहिलो पटक २०७३ सालको तिहारमा देशवासीलाई लोडसेडिङको मुक्त गरी उज्योलो बनाएको थियो । त्यसअघिसम्म नेपालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ हुँदै आएकोमा एकाएक लोडसेडिङको अन्त्य भएको थियो ।

२०७३ सालको तिहारबाट शुरु भएको अभियानले अहिले नेपाल लोडसेडिङ मुक्त देश बनेको छ । साथै, पछिल्ला दिनहरुमा भारतमा निर्यातसमेत गर्दै आएको छ । त्यस्तै, सरकारले अहिले पहिलो प्राथमिकता जलविद्युत उत्पादनमा दिएको पाइन्छ ।

विद्युत उत्पादनमा प्रचुर सम्भावना रहेकाले सरकारले पनि विजुली उत्पादनमा जोड दिँदै आएको छ । निजी क्षेत्रका व्यवसायीहरुले पनि विद्युत उत्पादनमा ठूलो लगानी गरिरहेका छन् ।

निजी क्षेत्रहरुले नेपालमा जलविद्युत प्रचुर सम्भावना देखेसँगै लगानी बढाउँदै लगेको देखिन्छ । त्यस्तै, पछिल्लो पाँच वर्षको अवधिमा निजी क्षेत्रबाट ८ खर्ब ६ अर्ब ३९ करोड ५६ लाख ८१ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएको छ ।

उद्योग विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/७५ देखि आव २०७८/७९ सम्ममा ८ खर्ब बढी लगानी प्रतिबद्धता जनाइएको छ ।

उक्त अवधिमा जलविद्युतसँगै सौर्य विद्युतमा लगानी प्रतिबद्धता जनाइएको छ । पाँच वर्षको अवधिमा सौर्य विद्युत र जलविद्युत गरी दुई सय आयोजना निर्माणका लागि लगानीकर्ताले प्रतिबद्धता जनाएका छन् ।

प्रतिबद्धता जनाएको आयोजनाको विद्युत उत्पादन क्षमता करिब ५ हजार मेगावाट रहेको छ । संकलित तथ्याङ्कले प्रतिबद्धता जनाएअनुसार सम्पूर्ण उद्योगले निर्माण कार्य सम्पन्न गरेमा ४ हजार ९६१ मेगावाट विजुली उत्पादन गर्नेछन् ।

विभागको तथ्याङ्कले निजी क्षेत्रबाट वार्षिक २ खर्ब बढी रकम जलविद्युत क्षेत्रमा प्रतिबद्धता जनाएको देखिन्छ । आर्थिक वर्ष २०७४/७५ मा ३५ वटा आयोजना दर्ता भई २ खर्ब २३ अर्ब ३७ करोड ९६ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका थिए । जसमा उक्त आयोजनाको विद्युत उत्पादन क्षमता १६ सय ६९ मेगावाट रहेको छ ।

त्यसैगरी, आर्थिक वर्ष २०७५/७६ मा ४६ वटा आयोजनाले २ खर्ब १० अर्ब ९८ करोड ७ लाख रुपैयाँको लगानी प्रतिबद्धता जनाएका थिए । प्रतिबद्धता जनाएको आयोजनाको विद्युत उत्पादन क्षमता ११ सय ७५ मेगावाट रहेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा भने लगानी ह्वात्तै घटेको देखिन्छ । २०७६ को अन्त्यतिर कोभिडको निकै असर देखिँदा उक्त वर्ष उच्च प्रभाव देखिन्छ । सो वर्ष ४२ वटा आयोजनाले ९८ अर्ब १७ करोड ३३ लाख रुपैयाँ मात्रै लगानी प्रतिबद्धता जनाएका थिए । विजुली उत्पादन क्षमता ५८५ मेगावाट रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा विद्युत क्षेत्रमा ३० वटा आयोजनाले १ खर्ब ९ अर्ब ९७ करोड ४४ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

साथै, लगानी प्रतिबद्धता जनाएका आयोजनाबाट ६३० मेगावाट विजुली उत्पादन गर्नेछन् । दुई वर्ष कोभिडका कारण निकै असर पर्दा लगानी प्रतिबद्धता पनि कमी आएको विभागले जनाएको छ ।

साथै, आर्थिक वर्ष २०७८/७९ मा ४७ वटा आयोजनाले १ खर्ब ६३ अर्ब ८८ करोड ७४ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् जसमा उक्त आयोजनाबाट ९०१ मेगावाट बिजुली उत्पादन गर्ने क्षमता रहेको छ । समग्रमा हेर्दा आयोजनाको संख्यामा कमी आएको छैन । तर, ठूला रकमको आयोजना आउन नसक्दा वार्षिक डेढ खर्बको मात्रै लगानी प्रतिबद्धता जनाएका छन् ।

यी हुन् पाँच वर्षमा प्रतिबद्धता जनाएका ठूला १० आयोजना

पाँच वर्षमा १५ वटा आयोजनाले मात्रै २ खर्ब ९० अर्ब ४६ करोड ९३ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । जसमा उक्त आयोजनाबाट २१ सय २३ मेगावाट विजुली उत्पादन हुनेछ ।

प्रतिबद्धता जनाएका आयोजनामध्ये सबैभन्दा ठूलो लगानी कालीकोट जिल्लाका एससी पावर कम्पनी प्रालि शाखा उद्योग १ को रहेको छ । एसपी पावरले ४४० मेगावाटको बिजुली उत्पादन गर्ने गरी ४८ अर्ब ८२ करोड ९६ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएको छ ।

त्यसपछि काठमाडौं महानगरपालिका वडा नम्बर २६ मा निर्माण हुने सिचुवान वाङपिङ इनर्जी साईन्स एण्ड टेक्नोलोजी प्रालिले २३५ मेगावाट बिजुली उत्पादन गर्ने गरी ४५ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता जनाएका छन् ।

ताप्लेजुङ जिल्लामा निर्माणको तयारी रहेको तमोर सानिमा इनर्जी प्रालिले २८५ मेगावाट जलविद्युत उत्पादन गर्ने भन्दै ४४ अर्ब ३९ करोड ९३ लाख रुपैयाँको लगानी प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी, मनाङ जिल्लाको नासोङ्ग गाउँपालिका वडा नम्बर ३ मा बुटवल पावर कम्पनी लिमिटेड (तल्लो मनाङ मस्र्याङ्दी विद्युत परियोजना) ले १३९.२ मेगावाट बिजुली उत्पादन गर्ने गरी ३३ अर्ब ४१ करोड ४० लाख रुपैयाँ, ताप्लेजुङ जिल्ला फुङलिङ गाविसमा स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले १२८ मेगावाट बिजुली उत्पादन गर्ने गरी २४ अर्ब १८ करोड रुपैयाँ, संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा–४ मा एमपीक इनर्जी प्रालिले १३२ मेगावाट बिजुली उत्पादन गर्ने गरी २१ अर्ब ८७ करोड रुपैयाँ र रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–५ र पार्वतीकुण्ड गाउँपालिका–२ र ४ मा अपर त्रिशुली हाइड्रोपावरले १०२ मेगावाट विद्युत उत्पादन गर्ने गरी २० अर्ब ३८ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

साथै मुस्ताङ जिल्लामा रेमिट कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिले १६४ मेगावाट विद्युत उत्पादन गर्ने गरी १९ अर्ब ६८ करोड रुपैयाँ, ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–६ मा रेमिट हाइड्रो लिमिटेडले ७७.६५ मेवागाट विजुली उत्पादन गर्ने गरी १७ अर्ब ६२ करोड ४० लाख रुपैयाँ र कास्की जिल्लामै अन्नपूर्ण विद्युत विकास कम्पनीले ८६.५९ मेगावाट विद्युत उत्पादन गर्ने गरी १५ अर्ब ९ करोड २१ लाख रुपैयाँको लगानी प्रतिबद्धता जनाएका छन् ।

सौर्य उर्जामा १५ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता

जलविद्युतसँगै पाँच वर्षको अवधिमा सौर्य उर्जामा पनि १५ अर्ब २९ करोड ५५ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । उक्त प्रतिबद्धता जनाएको लगानीबाट १७८ मेगावाट विद्युत उत्पादन क्षमता हुनेछ ।

सौर्य उर्जा क्षेत्रमा बाजुरा जिल्लामा पियोर इनर्जी प्रालि र शाखा उद्योग १, सिराहा जिल्लामा इको सन पावर डेभलपमेन्ट प्रालि र भारती लक्ष्मी इनर्जी प्रालिले १०/१० मेगावाट सौर्य उर्जा उत्पादन गर्ने गरी ९६/९६ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी, पोजेटिभ इनर्जी प्रालिले कपिवस्तुको दुई वटा स्थानमा २० मेगावाट विद्युत उत्पादन गर्ने गरी लगानी प्रतिबद्धता जनाएका छन् ।

जसमा कपिलवस्तुको विजयनगर गाउँपालिका तथा शिवराज नगरपालिकामा ९५ करोड ८५ लाख रुपैयाँ र शिवराज नगरपालिकामा ९४ करोड ५० लाख रुपैयाँको लगानी प्रतिबद्धता जनाएका छन् ।

साथै, अन्य १९ वटा कम्पनीले विभिन्न जिल्लामा १ मेगावाटदेखि १० मेगावाटसम्म सौर्य उर्जा उत्पादन गर्ने प्रतिबद्धता जनाएका छन् ।


क्लिकमान्डु