जुनुले डेढ लाखमा शुरु गरेको कृषि पसल यसरी भयो डेढ करोडको
विराटनगर । अहिलेको निकै नै प्रतिस्पर्धात्मक बजारमा पाँचथर मिक्लाजुङ गाउँपालिका १ की ३६ वर्षीया जुनु लावती कृषि पेशामा संघर्षरत छिन् । उनले यो पेशा अंगालेका १२ वर्ष पुग्न लागेको छ ।
चिया खेती, किबी खेती, माछा पालन, बाख्रा पालन, सब्जी खेतीलगायतमा संलग्न भएको उनमा लामो अनुभव छ । उनको संघर्षमा उनका पति बालेन्द्रककुमार राईले पनि साथ दिएका छन् ।
उनले सुरुमा चिया खेशी पेशा अँगालेकी थिइन् । चिया खेतीबारे जानकारी बिना नै उनले सो पेशा अँगालेकी थिइन् । डेढ लाख रुपैयाँ लगानी गरेर सुरु गरेको चिया खेतीले उनलाई सफलता दिन सकेन । असफल हुँदा त्यसमा लगानी गरेको सबै पैसा डुबेको उनले बताइन् । उनले चिया खेती सुरु गर्दा उनका पति बालेन्द्रकुमार राईले विदेशबाट कमाइ गरेको पैसा लगानी गरेकी थिइन् ।
त्यसरी लगानी डुब्दा पनि उनले हरेस खाइनन् । चियाभन्दा छिटो आम्दानी हुने क्षेत्रको खोजीमा लागिन् । त्यस क्रममा उनले सब्जी खेतीतिर गर्ने सोच बनाइन् । त्यसपछि उनले साग र बन्दाकोबीको खेती सुरु गरिन् । उनले उत्पादन गरेको साग र बन्दाकोबी गाउँमा बिक्री नहुँदा उनी हैरान भइन् । त्यसपछि उनले बजारको खोजी गरिन् । विभिन्न व्यक्तिहरूसँग सरसल्लाह गरिन् । ती सल्लाहमा उनले जिल्ला सदरमुकाम पाँचथर सब्जी बेच्ने एउटा बजार भएको ठम्याइन् । त्यहाँ लगेर साग र बन्दाकोबी बेच्न थालिन् । बिस्तारै साग र बन्दाकोबी बिक्री त भयो तर पूरा बिक्री नहुँदा आधाभन्दा नष्ट हुने क्रममा पनि थियो । किनकी त्यहाँ प्रतिस्पर्धा धेरै थियो । त्यसपछि उनले तराईका बजारमा सब्जी बिक्री गर्ने सोच बनाइन् ।
त्यस क्रममा उनले सब्जी टिपेर सोही दिन छिमेकी जिल्लाको दमक बजारमा बेच्न थालिन् । त्यहाँ उनको सब्जीले बजार लियो । सब्जी ल्याएकै दिन बिक्री हुन्थ्यो । सुरुमा एक दुई डोको साग ल्याएर बेचेकी उनले त्यसपछि सानो जीप गाडीमा हालेर साग र कोबी बिक्री गरिन् । तर, साग र बन्दा त सधैं उत्पादन हुँदैन थियो । त्यो सँगसँगै उनले बाख्रा पालन पनि सुरु गरिन् । बाख्रा पालनबाट उनलाई सब्जी बेचेको भन्दा बढी नाफा भयो । त्यसपछि उनमा व्यापार व्यवसायप्रति निकै उत्साह थपियो ।
पतिले पठाएको पैसा वचत गरेर उनले माछा पोखरी पनि सुरु गरिन् । उनले माछा पालना सुरु गर्दा उनका पति पनि विदेश छोडेर फर्किसकेका थिए । उनको पेशामा उनका पतिले पनि भरथेग गरे । उनले यसरी कृषि क्षेत्रका भिन्नभिन्न काम गर्न उनीसँग प्रर्याप्त पैसा थिएन । त्यसले उनले गाउँकै साहू-महाजन व्यक्तिहरुसँग ३६ प्रतिशत व्याजमा ऋण काडिन् ।
माछा पालन गर्दागर्दै पाँचथरमा किबी (ठेकी फल) खेती गर्ने लहर चल्यो । त्यो लहरले उनलाई पनि चाडौ नै आकर्षित गरिछाड्यो ।
अनि उनले पनि किबी खेती गर्ने सोच राखिन् र किबी खेतीसम्बन्धी तालिममा भाग लिइन् । त्यसपछि उनले बैंकबाट साढे ९ लाख रुपैयाँ ऋण लिइन् । त्यो पनि १२ प्रतिशत व्याजमा धितो राखेर । उनले महिलालाई बिनाधितो १५ लाख दिनुपर्ने सरकारी नियम पनि पालना नभएको गुनासो गरिन् ।
उनले साढे ९ लाख ऋण लिन पनि उनकको पति बालेन्द्रकुमार राईको नाममा रहेको साढे १६ कठ्ठा जग्गा धरौटी राखेको बताइन् । उनको किबी खेती ४५ रोपनी जग्गामा फैलिएको छ । त्यहाँ उनले करीब ७ सय बिरुवा रोपेकी थिइन् । किबीले फल दिएको पहिलो वर्ष उनको किबी त्यति बिकेन । उनले निःशुल्क पनि बाँडिन । केही समयपछि मानिसमा किबी फल किनेर खाने बानी पर्यो । सुरुमा एक डेढ सय रुपैयाँमा बिक्री गरेपनि पछि त केजीको ६ सय रुपैयाँसम्म बिक्री भयो ।
तर, उनको त्यो बिक्री स्वात्तै घट्यो । किनकी, उनको गाउँमा अरुले पनि किबी उत्पादन गरे । उनको गाउँभन्दा बाहिर पनि किबी खेती प्रसशस्त हुन थाल्यो । बजार नहुँदा उनलाई समस्या भयो । त्यसपछि उनले पाँचथरबाहेक विराटनगर, धरानजस्ता ठूला सहरमा बिक्री गर्न थालेको उनले बताइन् । बजार लगेकोमा उनलाई कानूनी अड्चन आइप¥यो । दर्ता नगरेको कृषि फारमकको उत्पादित वस्तु बेच्न नपाइने भनियो । त्यसपछि उनले सनम फलफूल प्रशोधन उद्योग दर्ता गरिन् । त्यही ब्राण्डबाट अहिले उनले आफ्ना उत्पादनहरू बजारमा पु¥याउँछिन् ।
५५ हजार बिरुवा उत्पादन
पछिललो समय बजारमा धेरै प्रतिपर्धा भएकोले किबीको फलमात्र बेचेर नहुने ठानी उनले किबीको फल पेलेर स्क्वास, वाइन र जुस पनि बिकैी गर्दछिन् । त्यसको साथसाथै नर्सरीमार्फत किबीको बिरुवा उत्पादन गर्न थालिन् । अहिले उनले ५५ हजार बिरुवा उत्पादनको लागि नर्सरी गरेकी छन् । उनको उत्पादित त्यो बिरुवा सोलुखुम्बु जिल्लामा माग भएको छ । किबीको फलमात्र उनको १ सय क्वीन्टल उत्पादन हुन्छ । सिजनमा उनको उद्योगमा २८ जनासम्म कामदार संलग्न हुने गरेको उनको भनाइ छ । सिजन नहुँदा पनि बढीमा १० जना कामदार हुन्छन्, उनले भनिन् ।
वार्षिक आम्दानी ३२ लाख
किबी फल उत्पादनका लागि उनले १ हजार बिरुवा लगाएकी छन् । जुन बिरुवामा उनको ३ लाख रुपैयाँ लगानी छ । पछिल्लो समय उनको वार्षिक आम्दानी ३२ लाखसम्म हुन थालेको उनले बताइन् । त्यो आम्दानी घर खर्च गरेर उद्योगमै लगाएको उनी बताउँछिन् ।
उनले आफ्नो उत्पादनको बीमा गरेकी छैनन् । स्वास्थ्य बीमा भने गरेकी छन् । ‘अरुका लोग्नेले कमाएको पैसाले सहरबजारमा घरघडेरी किन्छन् तर हामीले कृषि उद्योगमा लगानी गरेका छौं ।’ उनले क्लिकमाण्डूसँग भनिन् ‘तर यसमा सरकारले बजार व्यवस्थापनमा कति पनि सहयोग गरेन् । प्रविधिसम्बन्धी सहयोग पनि गरेन ।’
सरकारले बजार व्यवस्थापनको अलवा समयमै उच्चतम प्रविधि भित्र्याएर गुणस्तरयुक्त बिउ, मल र सिंचाइको उपलव्धता तथा सहुलियत ऋण सुविधा गर्न सके कृषि व्यवसाय फस्टाउन सहयोग पुग्ने उनको सुझाब छ ।
उनले आफ्नो उत्पादनको प्रचारप्रसार र बजार बिस्तारको लागि विभिन्न महोत्सवमा जाने गरेको बताइन् । सोही क्रममा उनी विराट एक्सपो, धरान र धनकुट कृषि महोत्सवमा पनि सहभागी भएको उनले जानकारी दिइन् ।
अब उनी यही माघ १९ गते विराटनगरमा हुने कोसी कृषि तथा औद्योगिक प्रदर्शनीमा भाग लिन आउने भएकी छन् । उनलाई सो प्रदर्शनीमा प्रदेश १ को कृषि मन्त्रालयले निःशुल्क स्टलको व्यवस्था गरिदिएको उनले बताइन् ।
उत्कृष्ट कृषि उद्यमीको सम्मान
उनलाई यसअघि नै प्रदेश सरकारले ५० हजार रुपैयाँ र मिक्लाजुङ गाउँपालिकाले ५ हजार रूपैयाँ नगदसहित उत्कृष्ट कृषि उद्यमीको सम्मान प्रदान गरिसकेका छन् ।
वर्षै दिनमा फल्ने नयाँ प्रविधि
उनले पहिला किबी रोपेको तेस्रो वर्षदेखि फल लाग्ने गरेकोमा नयाँ प्रविधिको प्रयोगले रोपकै वर्षदेखि फल दिने बिरुवा उत्पादन गरेको उनले अनुभव सुनाइन् । फागुनमा रोपेको किबी मंसिरदेखि खानयोग्य हुने उनको भनाइ छ । अचार खान त असोज कात्तिकदेखि नै हुन्छ । खुल्ला हावा खेल्ने र घमाइलो ठाउँमा किबी खेती चाडो फस्टाउने र फल पनि मिठो हुने उनले बताइन् ।
उनको घरमा अहिले ८८ वर्षको सुसुरा,१२ वर्षकी छोरी र पतिसहित चारजनाको परिवार छ । यही व्यवसायबाट उनको परिवार पालिएको छ । उनले माध्यमिक तहसम्मको शिक्षा लिएकी छन् ।
प्रदेश १ मा किबी खेती
प्रदेश १ का १४ मध्ये ११ जिल्लामा किबी खेती गर्न सकिन्छ । जसमध्ये मोरङ, सुनसरी र झापा गरी ३ वटा तराईका जिल्लामा किबी खेती गरिएको छैन । किनभने किबी खेती पहाडी भूभागमा मात्र हुन्छ । प्रदेश १ मा ११ वटा जिल्ला पहाडी क्षेत्रमा पर्दछन् । प्रदेश १ मा इलाम पाँचथर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा जिल्लाहरुमा किबीको व्यावसायिक खेती गरिँदै आएको प्रदेश १ को कृषी मन्त्रालयले जनाएको छ । पछिल्लो समय बाँकी जिल्लाहरूमा पनि किबी खेती थोरै मात्रामा भएपनि गर्न थालिएको छ । पछिल्लो समय धनकुटामा किबीको व्यावसायिक खेती सुरु गरिएको प्रदेश १ कृषि मन्त्रालयले जनाएको छ ।
कस्तो हावापानीमा लगाइन्छ ?
किबी खेती समुन्द्र सतहदेखि ८ सयबाट २ हजार मिटर उचाइसम्मको फराकिलो जमिनमा गर्न सकिने कृषिबाली विहेषज्ञ सागर भट्राईले बताए । उनका अनुसार यति उचाइ भएपनि हिँउ पर्ने ठाउँमा भने किबी खेती गर्न नसकिने हुन्छ । यतिमात्र नभएर किबी खेतीका लागि सिंचाइ गर्न सकिने जमिन आवश्यक हुन्छ । यसलाई मल पनि दिनु पर्दछ । किबी खेतीमा सुरुको मेहनत र लगानी बढी नै गर्नुपर्ने हुन्छ । बर्खामा परेको पानीले मात्र हुँदैन हिँउदमा पनि यो फललाई पानी चाहिन्छ ।
स्वास्थ्यमा लाभाकारी किबी फल
छिप्पिएको किबी फलको बाहिरी भाग पातलो बोक्रा तासेर खान सकिन्छ । यसको भित्री भाग हरियो र केही भाग मसिना दानादारजस्तो देखिन्छ । यसमा प्रशस्तै रेशाहरू हुन्छन् । यो पाकेपछि गुलियो र काँचोमा अमिलो स्वादको हुन्छ । किबी अर्थात ठेकी फल स्वास्थ्यको दृष्टिकोणले खान लाभाकारी मानिन्छ । यो फलमा एन्टीअक्सिडेन्ट र एक्सीनिडी भन्ने तत्व पाइने हुन्छ । यसले शरीरको प्रतिरोधात्मक क्षमता बृद्धि गर्न, पाचन प्रणाली बलियो बनाउन, उच्च रक्तचाप तथा मुटु रोगीको लागि अत्यन्त लाभकारी शिद्ध भएको हालैको अध्ययनले पुष्टि गरेको विशेषज्ञले बताएका छन् ।
त्यसैगरी यो फलमा भिटामिन ई, सी र पोटासियम पाइने भएकोले अनुहारको छाला चाउरी पर्नबाट बचाउँदछ । त्यस्तै चिल्लो पर्दाथ र, कोलेस्ट्रेल नभएको अधिक रेशायुक्त भएकोले जनस्वास्थ्यमा चासो राख्नेहरुको लागि अत्यन्त लाभकारी फलको रुपमा लिन सकिने बताइएकको छ । केही व्यक्तिमा किवीले एलर्जी प्रतिक्रिया अनुभव गराउन सक्दछ, त्यस्ता व्यक्तिले किवी फल खानु हुँदैन भनिएको छ ।