घरजग्गा कारोबारमा कमी आउँदा राजस्व संकलनमा ठूलो धक्का, ५७% ले घट्यो



काठमाडौं । तरलता अभाव र भूउपयोग नियमावलीले गर्दा देशभर घरजग्गा उल्लेख्य किनबेच हुन नसक्दा राजस्व संकलनमा ठूलो धक्का पुगेको छ । अहिले बजारमा तरलताको चरम अभाव छ । अर्कोतर्फ जग्गा कित्ताकाटका लागि निकै समस्या भइरहेको छ । जसले गर्दा देशभर कित्ताकाटको कार्य निकै प्रभाव परेको छ ।

सरकारले उच्च कित्ताकाट भएको भन्दै कार्यान्वयनमा ल्याएको भूउपयोग नियमावली सबैको लागि टाउको दुखाई बनेको छ । सरकारले कित्ताकाट कम गर्नका लागि भूउपयोग नियामवली जारी गरेको थियो । तर, देशभरका स्थानीय तहले कित्ताकाटको चाँसो नदिँदा कित्ताकाटसँगै कारोबार उच्च असर परेको छ ।

त्यस्तै, पछिल्ला दिनमा तरलता अभावको समस्या हट्न सकेको छैन । जसले गर्दा घरजग्गा कारोबारमा मन्दी छाएको छ । आर्थिक मन्दीकै कारण कतिपयले सस्तो मूल्यमा घरजग्गा बिक्री गरिरहेका छन् । साथै, अधिकांश व्यक्तिहरुले समयमै कर्जा तिर्न नसक्दा बैंक तथा वित्तिय संस्थाहरुले धेरै संख्यामा सम्पत्तिको लिलामीको सूचना निकालीरहेका छन् ।

त्यसैगरी, चालु आर्थिक वर्षको ६ महिनामा कारोबारमा मन्दी आउँदा समग्र संकलन राजस्वमा ठूलो धक्का पुगेको भूमि व्यवस्थापन तथा अभिलेखले जनाएको छ । देशभर करिब ६५ प्रतिशतले देशभर घरजग्गा कारोबार घट्दा राजस्व संकलन पनि ५७.५७ प्रतिशतले घटेको छ ।

गत वर्ष घरजग्गा कारोबारमा उछाल आउँदा मासिक ५ अर्ब रुपैयाँमाथि राजस्व संकलन हुँदै आएको थियो । तर, यो वर्ष घरजग्गाको कारोबार खुम्चिँदा मासिक ३ अर्बमा सिमित भएको छ । गत वर्ष साउनदेखि पुससम्ममा देशभरका मालपोत कार्यालयबाट ४३ अर्ब ८ लाख हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । तर, यो वर्ष सोही अवधिमा १८ अर्ब २४ करोड २१ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षको साउन महिनामा देशभरको मालपोत कार्यालयबाट २ अर्ब ७३ करोड ७२ लाख रुपैयाँ, भदौमा ३ अर्ब ५६ करोड २९ लाख रुपैयाँ, असोजमा २ अर्ब ५६ करोड ९३ लाख रुपैयाँ, कात्तिकमा ३ अर्ब ७६ लाख रुपैयाँ, मंसिरमा २ अर्ब ६४ करोड ९० लाख रुपैयाँ र पुसमा ३ अर्ब ७१ करोड ५९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत वर्षको साउनमा घरजग्गा किनबेच उच्च हुँदा ८ अर्ब १३ करोड ४१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । त्यस्तै, भदौमा ८ अर्ब २६ करोड ८५ लाख रुपैयाँ, असोजमा ७ अर्ब ३३ करोड २१ लाख रुपैयाँ, कात्तिकमा ५ अर्ब ४९ करोड ५१ लाख रुपैयाँ, मंसिरमा ७ अर्ब ६ करोड ६५ लाख रुपैयाँ र पुसमा ६ अर्ब ७० करोड ४२ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । तर, यो वर्ष कारोबार हुन नसक्दा राजस्व संकलनमा गिरावट आउने विभागको भनाइ छ ।

उपत्यकामा कारोबार बढ्न नसक्दा राजस्व संकलन ६५ प्रतिशतले घट्यो

राजस्व संकलनमा करिब आधा हिस्सा ओगटेको उपत्यकामा कारोबार बढ्न नसक्दा समग्र राजस्व संकलनमै असर पुगेको छ । गत वर्षको ६ महिनाको अवधिमा उपत्यकाका ९ वटा मालपोत कार्यालयबाट मात्रै १८ अर्ब ५१ करोड ११ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । तर, यो वर्ष उपत्यकामा भूउपयोग नियमावली र तरलता अभावले घरजग्गा कारोबार मन्दी छाएकाले राजस्व संकलन ६५ प्रतिशत घटेको छ । जसमा यो वर्षको ६ महिनाको अवधिमा ६ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

उपत्यकाका ९ वटा मालपोत कार्यालयबाट ६ महिनाको अवधिमा १९ हजार ९४३ घरजग्गा किनबेच भएको छ । गत वर्षको सोही अवधिमा ५३ हजार ३२० घरजग्गा किनबेच भएको थियो ।

चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा लगनखेल मालपोत कार्यालयबाट १ अर्ब ४३ करोड २२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । त्यसैगरी, डिल्लिबजार मालपोत कार्यालयबाट १ अर्ब ३ करोड ५१ लाख रुपैयाँ र चावहिल मालपोत कार्यालयबाट १ अर्ब २ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

त्यसैगरी, ६ महिनाको अवधिमा कलंकी मालपोत कार्यालयबाट ९९ करोड ३२ लाख रुपैयाँ, भक्तपुर मालपोत कार्यालयबाट ९५ करोड ३८ लाख रुपैयाँ, साँखु मालपोत कार्यालयबाट ४३ करोड ७१ लाख रुपैयाँ, मनमैजु मालपोत कार्यालयबाट ३४ करोड १३ लाख रुपैयाँ, टोखा मालपोत कार्यालयबाट २९ करोड २२ लाख रुपैयाँ र गोटीखेल ललितपुर मालपोत कार्यालयबाट ४० लाख २८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत वर्ष मालपोत कार्यालयबाट मात्रै ४ अर्ब २३ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । विभागअनुसार पछिल्लो समय उपत्यकामा कारोबार बढ्दै जाँदा राजस्व संकलनमा पनि सुधार हुँदै गएको जनाएको छ ।

त्यसैगरी, विभागको तथ्याङ्कले पनि राजस्व संकलनमा सुधार हुँदै गएको देखाउँछ । गत साउनमा उपत्यकाका मालपोत कार्यालयबाट १ अर्ब १ करोड १४ लाख रुपैयाँ र भदौमा १ अर्ब ४२ करोड ७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

तर, असोज, कात्तिक र मंसिरमा कारोबार कम हुँदा १ अर्ब पनि राजस्व संकलन हुन सकेको थिएन । तर, पुसमा कारोबारमा सुधार हुँदा राजस्व संकलन पनि बढेको छ । जसमा पुस महिनामा उपत्यकाका मालपोत कार्या १ अर्ब २४ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।


अरिष्मा मोक्तान