देशभर कित्ताकाट बढ्दा घरजग्गा कारोबारमा सुधार, पुसमा ३९ हजार किनबेच



काठमाडौं । देशभर कित्ताकाटको कार्य अगाडि बढ्दा घरजग्गा कारोबारमा सुधार आएको छ । करिब ८ महिनाअघि सरकारले भूउपयोग नियमावली जारी गरेसँगै देशभर जग्गा कित्ताकाटमा निकै प्रभाव परेको छ ।

जसले गर्दा देशभर घरजग्गा कारोबार संकटतर्फ धकेलिएको छ । तर, पुस महिनामा देशभरका विभिन्न स्थानीय तहहरुले कित्ताकाटको कार्य अगाडि बढाउँदा कित्ताकाटसँगै कारोबारमा सुधार आएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागअनुसार स्थानीय तहहरुले कित्ताकाटको कार्य अगाडि बढाउँदा जग्गा कारोबारमा सुधार हुँदै गएको जनाएको छ । तर, अधिकांश स्थानीय तहहरुमा कित्ताकाटबारे अन्यौलता हुँदा अपेक्षाअनुसार जग्गाको वर्गीकरण हुन नसकेको विभागको भनाइ छ ।

विभागको तथ्याङ्क हेर्दा भूउपयोग नियमावली जारी गरेको करिब ८ महिनाको अवधिमा हालसम्मकै उच्च जग्गाको कित्ताकाट भएको छ । साथै, कारोबार पनि ८ महिना यताकै सबैभन्दा बढी कारोबार भएको छ ।

भूउपयोग नियमावली जारी गरेपछि देशभर मासिक बढीमा १५ हजारको हाराहारीमा पनि जग्गाको कित्ताकाट हुन सकेको थिएन । अहिले देशभरका करिब एक सय स्थानीय तहले कित्ताकाटको कार्य अगाडि बढाउँदा पुस महिनामा २१ हजार बढी जग्गा कित्ताकाट भएको विभागको तथ्याङ्कले उल्लेख गर्छ ।

पुस महिनामा देशभर २१ हजार १९२ जग्गा वर्गीकरण भई ४९ हजार ४७४ कित्ता कायम भएको छ । जुन ८ महिनापछि कै सबैभन्दा बढी हो ।

विभागअनुसार गत साउनमा ८ हजार ७८५ जग्गा कित्ताकाट भई १५ हजार ३०५ कित्ता कायम भएको थियो । भदौमा १० हजार ९२२ जग्गा कित्ताकाट भई २१ हजार ८७७ कित्ता कायम भएको छ ।

त्यस्तै, असोजमा ९ हजार ४२६ जग्गा कित्ताकाट भई १९ हजार १७८ वटा कित्ता कायम भएको र कात्तिकमा १० हजार ५४४ जग्गा कित्ताकाट भई २२ हजार ५६५ कित्ता कायम भएको थियो भने मंसिरमा भने देशभर १३ हजार २२१ कित्ता वर्गीकरण भई ३० हजार ७२८ कित्ता कायम भएको थियो । समग्र तथ्याङ्क हेर्दा देशभर कित्ताकाट कार्य अन्यौलमै देखिन्छ ।

यता कित्ताकाट बढेसँगै कारोबारमा पनि सुधार आएको छ । भूउपयोग नियामवली जारीपछि अहिलेसम्म मासिक ३० हजारको हाराहारीमा घरजग्गा किनबेच हुँदै आएको थियो । तर, पुस महिनामा ३८ हजार ८७१ वटा घरजग्गा किनबेच भएको छ । गत मंसिरमा देशभर २९ हजार १८४ घरजग्गा किनबेच भएको थियो ।

पुस महिनामा देशभरका मालपोत कार्यालयबाट करिब ३९ हजार घरजग्गा लिखत पारित हुँदा ३ हजार ९३७८ नामसारी, ३ हजार ८४२ संशोधन, ३१ हजार ३१० रोक्का, २२ हजार ३९० फुकुवा र १३ सय १३ वटा घरजग्गा दाखिला खारेज गरेको छ ।

पुस महिनामा सबैभन्दा बढी मालपोत कार्यालय इनरुवाबाट भएको छ । उउक्त मालपोत कार्यालयबाट पुसमा १ हजार ५६३ घरजग्गा किनबेच भएको छ । त्यस्तै, नेपालगञ्ज कार्यालयबाट १ हजार ५४६ वटा, जनकपुरधाम धनुषाबाट १२ सय ५३ वटा, बेलबारी मोरङबाट ११ सय ९८ वटा, धनगढीबाट ११ सय ६५ वटा, तौलिहवा कपिलवस्तुबाट ११ सय ४४ र भद्रपुर झापाबाटक ११ सय २४ वटा घरजग्गा किनबेच भएको छ ।

राजस्व संकलनमा पनि सुधार

पुस महिनामा कारोबार बढेसँगै राजस्व संकलनमा पनि सुधार आएको छ । पुस महिनामा देशभरका मालपोत कार्यालयबाट ३ अर्ब ७१ करोड ५९ लाख ९७ हजार राजस्व संकलन गरेको छ । मंसिरमा महिनामा देशभरको मालपोत कार्यालयबाट २ अर्ब ६४ करोड ९० लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो ।

विभागअनुसार पुसमा सेवा करबापत २६ करोड १३ लाख रुपैयाँ, बागमतिबापत ८ करोड १८ लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुरबापत १ अर्ब ८९ करोड ९८ लाख रुपैयाँ, पूँजीगत लाभकरबापत १ अर्ब १७ करोड २१ लाख रुपैयाँ र मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबापत २ करोड ३० लाख रुपैयाँलगायत अन्य विभिन्न सेवा दिएबापत राजस्व संकलन गरेको छ । साथै, विभागले सो अवधिमा २७ करोड २७ लाख रुपैयाँ राजस्व छुट दिएको छ ।

देशभरका मालपोत कार्यालयमध्ये पुसमा सबैभन्दा बढी लगनखेल मालपोत कार्यालयले ३३ करोड ४४ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, चावहिल मालपोत कार्यालयबाट १९ करोड ८८ लाख रुपैयाँ, कलंकी मालपोतबाट १८ करोड १८ लाख रुपैयाँ, भक्तपुर मालपोतबाट १७ करोड ४४ लाख रुपैयाँ, डिल्लिबजारबाट १६ करोड १८ लाख रुपैयाँ, चितवनबाट १३ करोड ६२ लाख रुपैयाँ र कास्की मालपोतबाट १३ करोड ८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।


क्लिकमान्डु