तरलता अभावले बजारमा सवारी साधनको माग नहुँदा ७८% सम्म घट्यो व्यापार



काठमाडौं । बजारमा तरलता अभावको चरम अभाव छ । एक वर्ष अघिदेखि अर्थतन्त्रमा देखिएको तरलता अभाव अहिलेसम्म पनि कायमै छ । जसले गर्दा अर्थतन्त्र सुधारका लागि दबाब कायमै छ ।

तरलता अभावले लगानीयोग्य क्षेत्रमा नयाँ लगानी आउन सकेको छैन भने अर्कोतर्फ सञ्चालनमा रहेका व्यवसायी पनि पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । साथै, बजारमा अधिकांश वस्तुको माग कम हुँदा अधिकांश व्यापार व्यवसायमा ठूलो गिरावट आएको छ ।

नेपाल उद्योग परिसंघले गत नोभेम्बर सार्वजनिक गरेको अध्ययनले तरलता अभावका कारण समग्रमा बजारको माग २८ प्रतिशतले घटेको निष्कर्ष निकालेको थियो ।

अध्ययन गरेको प्रतिवेदनअनुसार अधिकांश क्षेत्रमध्ये सबैभन्दा बढी अटामोबाइल क्षेत्रमा प्रभाव परेको देखाइएको थियो । जसमा अटोमोबाइल क्षेत्रमा ७८ प्रतिशतले बजारमा माग घटेको उल्लेख थियो । सोही अध्ययन गरेको प्रतिवेदनअनुसार नै अटोमोबाइल क्षेत्रका कम्पनीको व्यापारमा ठूलो कमी आएको कम्पनीहरुको तथ्याङ्कले देखाउँछ ।

चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा अटोमोबाइल कम्पनीहरुले व्यापार गरेको तथ्याङ्क हेर्दा बजारमा माग नहुँदा ५० प्रतिशतदेखि ७८ प्रतिशतसम्म कारोबार घटेको उल्लेख गरेको छ ।

नेपालका लागि भारतबेन्च व्यवसायिक सवारी साधनको आधिकारिक बिक्रेता ओम्नी मोटर्सअनुसार चालु आर्थिक वर्षको ३ महिनामा कम्पनीको व्यापार गत वर्षको तुलनामा ७८ प्रतिशतले घटेको जनाएको छ । कम्पनीले कर्जाका लागि गरेको रेटिङअनुसार तरलता अभावले बजारमा माग नहुँदा ७८ प्रतिशतले व्यापारमा कमी आएको जनाएको हो ।

देशभर ११ वटा आफ्नै शोरुम रहेको कम्पनीले बिक्री गदै आएको सवारी साधनको माग घट्दा बजारमा हिस्सा पनि ६ प्रतिशतले गुमाएको छ । सन् २०२२ को तीन महिनाको अवधिमा व्यवसायिक सवारी साधनमा १५.५ प्रतिशत हिस्सा ओगटेको कम्पनीको व्यापार ७८ प्रतिशतले घट्दा सन् २०२३ को तीन महिनामा बजारमा हिस्सा ९.५ प्रतिशतमा सिमित भएको छ ।

कम्पनीले व्यापार नहुनुमा प्रतिबन्धभन्दा पनि तरलता अभावले माग नहुँदा व्यापारमा ह्रास आएको जनाएको छ । कम्पनीले मध्यम र हेभी ड्यूटी ट्रक सेग्मेन्टमा गाडी तथा व्यवसायिक सवारी साधन बिक्री वितरण गर्दै आएको छ ।

नेपाली बजारमा चर्चित यामाहा ब्रान्डको दुई पाङ्ग्रे सवारी साधन बिक्री वितरण गर्दै आएको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेज प्रालिको व्यापार ६१ प्रतिशतले घटेको छ । बजारमा तरलता अभावले माग नहुँदा गत वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षका सोही अवधिमा ६१ प्रतिशतले व्यापार घटेको हो ।

देशभर १०४ वटा प्रादेशिक डिलर रहेको कम्पनीले यामाहासँगै स्कोडा ब्रान्डको चार पाङ्ग्रे सवारी साधन बिक्री गर्दै आएका छन् । कम्पनीअनुसार चालु आर्थिक वर्षमा आयातका लागि मार्जिन र प्रतिबन्धको व्यवस्थासँगै तरलता अभावको चरम अभाव हुँदा व्यापारमा कमी आएको जनाएको छ ।

त्यस्तै, गोल्छा ग्रुपको हंशराज हुलासचन्द र कम्पनी प्रालिको व्यापार पनि ६० प्रतिशतले कम भएको छ । बजारमा बजाज ब्रान्डको दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारस् साधन, केटीएम ब्रान्डको दुई पाङ्ग्रे सवारी साधन, टिभिएस ब्रान्डको टायर सर्भो लुब्रिक्यान्टको बिक्री वितरण गर्दै आएको कम्पनीको गत वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ६० प्रतिशतले कम व्यापार भएको हो । कम्पनीअनुसार व्यापार तरलता अभावका कारण अर्थतन्त्रमा देखिएको समस्याले ठूलो धक्का पुगेको जनाएको छ ।

त्यसैगरी, गोल्छा ग्रुपकै अर्को कम्पनी बजाज ब्रान्डको सवारी साधन एसेम्बल गर्ने हुला क्राफ्टको व्यापार पनि ५० प्रतिशतले कमी आएको देखिन्छ । कम्पनीले चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा २ अर्ब ६४ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीअनुसार गत वर्ष ५ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा व्यापार ५० प्रतिशत कमी आएको जनाएको छ ।

अर्थतन्त्रमा देखा परेको तरलता अभाव र ब्याजदर वृद्धिले बजार माग ह्वात्तै घटेकाले व्यापारमा कमी आएको कम्पनीको भनाइ छ । कम्पनीअनुसार यो वर्षको मुख्य चाडपर्वमा समेत सवारी साधनको माग उल्लेख्य घटेको जनाएको छ ।

सरकारले उच्च आयातका कारण बजारमा तरलता अभाव भएको भन्दै एलसी मार्जिनदेखि प्रतिबन्ध नै गरेको थियो । त्यसले पनि अटोमोबाइल क्षेत्रमा बढी असर परेको थियो । तर, प्रतिबन्ध तथा मार्जिनको व्यवस्थाले भन्दा बजारमा तरलता अभावले गर्दा माग उल्लेख्य घट्दा व्यापार हुन नसकेको अटोमोबाइल कम्पनीहरुको भनाइ छ । त्यस्तै, बजारमा माग नहुँदा आयात भएका सवारी साधनहरु भन्सार यार्डमै थन्किरहेका छन् ।

सरकारले अहिले प्रतिबन्ध हटाइएको छ भने एलसी मार्जिन हटाउने तयारी भइरहेको छ । तर, व्यवसायीहरुले भने तरलता अभाव र ब्याजदर नघटेसम्म व्यापार हुन नसक्ने बताउँदै आएका छन् । त्यसैले, ब्याजदरसँगै बजारमा तरलता अभाव भएमात्रै व्यापारमा सुधार आउने व्यवसायीहरुले बताउँदै आएका छन् ।


क्लिकमान्डु