मर्जरपछि ठूलो बैंक भएसँगै जोखिम र व्यवस्थापकीय चुनौति बढ्यो: चन्द्र ढकाल



काठमाडौं । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंक र बैंक अफ काठमान्डूको मर्जर पश्चात् एकीकृत कारोबार गर्दै अधिकांश सूचकमा पहिलो बनेको बताएका छन् ।

हालसम्म ५ वटा वाणिज्य बैंक,१० वटा विकास बैंक र ६ वटा फाईनान्स कम्पनी मर्ज भएको उनले बताए । सरकार र राष्ट्र बैंकको मर्जरको नीति कार्यान्वयन गरेर अन्य बैंकलाइ पनि मर्जरमा जान प्रेरित गरेको बताए । उनले नेपाल राष्ट्र बैंकले लिएको मर्जरको नीति कार्यान्वयन गराउने पहिलो बैंक ग्लोबल आईएमई बैंक बनेको बताए ।

उनले मुलुकको बित्तीय हिस्साको १० प्रतिशत हिस्सा ओगटेको बताए ।

ठूलो बैंक भएसँगै जोखिम र व्यवस्थापकीय चुनौति रहेपछि पटक पटक मर्जर गरेको अनुभव रहेका कारण सहज रुपमा चुनौतिको सामना गर्ने उनले बताए ।

ढकालले खाडीमा नेपालीले कमाएको पैसा घरघरमा ईमान्दारिता पूर्वक पुर्याएको भन्दै त्यसको आशिर्वाद लागेको र आगामी दिनमा पनि इमान्दारितापूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मर्जर पश्चात् बैंकको कूल पुँजी ५७ अर्ब, चुक्ता पूँजी ३५ अर्ब ७७ करोड, कूल निक्षेप ४ खर्ब १२ अर्ब, कूल कर्जा ३ खर्ब ७७ अर्ब पुगेको छ । यस्तै कुल सम्पति ५ खर्ब ५ अर्ब, ग्राहक संख्या ४० लाख बढि रहेको बैंकले जनाएको छ ।

मर्जर पछि बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बनेको छ ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना संचालक रहनेछन् ।

त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।

दुई बैंकहरुको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठुलो बैंक हुनेछ ।


क्लिकमान्डु