आजदेखि ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार, कत्रो बन्यो बैंक ?



काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुको बिओकेको एकीकृत कारोबार आजदेखि सुरु भएको छ ।

दुवै बैंकको मङ्सिर २३ गते सम्पन्न साधारण सभाले एकापसमा गाम्भेरगाभिने (मर्जर_ सम्बन्धी प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।

राष्ट्र बैंकले यही पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले पुस १९ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो । दुई बैंक मर्जरपछि ग्लोबल आइएमई बैंकका नामबाट आगामी आजदेखि एकीकृत कारोबार सुरु भएको हो ।

मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल ग्लोबल आइएमई लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थान कमलादीमा हुने छ ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुको एक बराबर एकको स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । बैंक अफ काठमाण्डुको एक सय कित्ता सेयर भएका शेयरधनीले मर्जरपश्चात् ग्लोबल आइएमई बैंकको एक सय कित्ता सेयर पाउनेछन् ।

मर्जरपश्चात् बन्ने बैंकको कूल पुँजी ५७ अर्ब, चुक्ता पूँजी ३५.७७ अर्ब, कूल निक्षेप ४०० अर्ब, कूल कर्जा ३७९ अर्ब भन्दा बढि पुग्नेछ ।

मर्जर पछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बन्नेछ । मर्जरपश्चात् बैंकको शाखा सञ्जाल ३६५ र एटिएम ३६७, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु हुनेछन् ।

मर्जरपश्चात् बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ग्लोबल आइएमई बैंकका सीईओ रत्नराज बज्राचार्य बन्नुहुने छ । साथै मर्जरपश्चात् बैंक अफ काठमाण्डुका सिइओ श्रवणलाल मास्के वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) बन्नेछन । बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंककातर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँच जना र बैंक अफ काठमाण्डुकातर्फबाट दुई जना रहने छन् ।


क्लिकमान्डु