मुद्दती निक्षेपमा पैसा राख्नेको संख्या किन बढिरहेको छ ?



काठमाडौं । पछिल्लो समय मानिसले आफूसँग भएको पैसा बचतमा भन्दा पनि बढी मुद्दती निक्षेपमा राख्न थालेको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंकको बचतमा भन्दा मुद्दती निक्षेपमा पैसा राख्नेहरुको संख्या बढेको हो ।

गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा बचतमा राख्ने पैसाको अंश २१.४५ प्रतिशत बिन्दुले घटेको छ । गत आर्थिक मसान्तमा ३३.१ प्रतिशत रहेकामा अहिले २१.४५ प्रतिशतले घटेर २६ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

बैंकमा बचतको अंश घट्दै गएको भए पनि मुद्दतीमा जम्मा हुने रकम भने बढ्दै गएको छ । एक वर्षको अवधिमा मुद्दती निक्षेपमा थपिएको अंश १०.८९ प्रतिशत बिन्दुले बढेको छ ।

नेपाल राष्ट्र बैंककाअनुसार २०७८ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको बचतको अंश ३३.१ प्रतिशत रहेको थियो । चालु आवको सोही अवधिमा आइपुग्दा बचतको अंश २१.४५ प्रतिशतले घटेर २६ प्रतिशत रहेको हो ।

यस्तै मुद्दती निक्षेप भने गत आर्थिक वर्षको कात्तिक मसान्तसम्म ५२.३ प्रतिशत रहेकामा चालु आवको सोही अवधिमा १०.८९ प्रतिशतले बढेर ५८ प्रतिशत पुगेको छ ।

राष्ट्र बैंककाअनु्सार चालु आर्थिक वर्षको चार महिनामानै बैंक तथा वित्तीय संस्थामा बचत घट्दै जाँदा निक्षेप बढ्दै गएको छ ।
असार मसान्तमा २७.६ प्रतिशत रहेको बचत कात्तिक मसान्तसम्म तुलनामा कात्तिकमा आइपुग्दा ५.७९ प्रतिशतले घटेर २६ प्रतिशत रहेको छ ।

यस्तै असार मसान्तमा ५५.८ प्रतिशत रहेको निक्षेप ३.९४ प्रतिशत बिन्दुले बढेर ५८ प्रतिशत पुगेको छ ।

पछिल्लो समय बैंकहरुले बढाएको ब्याजदरको प्रभाव बढ्दो निक्षेपमा देखिएको छ । अहिले बचतमाभन्दा बढी ब्याज मुद्दती निक्षेपमा पाइन्छ । बचत र मुद्दती निक्षेपको ब्याज अन्तर ५ प्रतिशत रहेको छ ।

बैंकिङ प्रणालीमा निक्षेप अभाव भएपछि बैंकहरुले धमाधम ब्याज बढाए । ब्याज बढाएपछि निक्षेपमा बढी ब्याज पाउने भएसँगै निक्षेपकर्ताको आकर्षण यता देखिएको छ ।

छोटो समयका लागि मुद्दती निक्षेपमा पैसा राख्न चाहनेको पनि संख्या पनि बढ्दै गएको छ । पछिल्लो समय बैंकले तीन महिना, ६ महिना, १ वर्ष वा सोभन्दा बढी अवधिको निक्षेप लिए पनि दिने ब्याजदर उस्तै-उस्तै भएपछि लामो समयभन्दा पनि छोटो समयका लागि निक्षेपमा राख्ने क्रम बढेको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेल बताउँछन् ।

‘ब्याजदर बढेपछि बैंकमा मुद्दती निक्षेप बढेको छ’ उनले भने, ‘अहिले बैंकहरुले तीन महिना, ६ महिना, १ वर्ष वा सो भन्दा बढी अवधिको मुद्दती निक्षेप दिने ब्याजदर उस्तै उस्तै छ, त्यही भएर पनि होला लामो समयमा लागि भन्दा पनि १ वर्ष वा सो भन्दा कम अवधिका लागि मुद्दती निक्षेप थपिएको छ ।’

अहिले तीन महिनादेखि बढी अवधिका लागि मुद्दतीमा पैसा राखेर ब्याज पाउन सकिन्छ । अहिले केही बैंकले मुद्दती निक्षेपमा पैसा लिने भएपछि महिना महिनामा ब्याज दिने समेत गर्न थालेका छन् । अहिले बैंकहरुले मुद्दती निक्षेपमा पैसा राख्दा १२.१३३ प्रतिशतसम्म ब्याज दिने गरेका छन् ।

ब्याजदर मात्रै नभएर बैंकहरुले ल्याएको डबल डिपोजिट योजनाले पनि निक्षेपकर्तालाई आर्षित बनाएको पोखरेलेको भनाइ छ । कतिपय अवस्थामा ग्राहकले नै फोन गरेर समेत बचत खातामा रहेको रकम केही समयमा लागि मुद्दतीमा तानिदिनु पर्यो भन्दै बैंकमा फोन आउने गरेको बैंकर्सहरुको भनाइ छ ।

यस्तै पछिल्लो समय बैंकहरुले मोबाइल एपबाट नै मुद्दती निक्षेप राख्न सकिने व्यवस्था गरेका छन् । जसको प्रभाव पनि यसमा देखिएको छ । ‘अहिले एफडी खाता खोल्न बैंकमा आउनु पर्दैन,मोबाइलबाट नै मिल्छ’ सीईओ पोखरेलले भने, ‘प्रविधिले गर्दा अहिले निकै सहज भएको छ, मोबाइलबाट पनि खाता खोल्न सकिन्छ ।’

राष्ट्र बैंककाअनुसार कात्तिक मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड ९४ लाख ३ हजार ६८० पुगेको छ । असार मसान्तमा मोबाइल बैंकिङ प्रयोगकर्ता १ करोड ८३ लाख ७ हजार २५५ रहेको थियो । यो अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ५.९८ प्रतिशतले बढेको छ ।


सोभित थपलिया