आर्थिक संकुचनमा पनि अम्बे स्टिलको ब्यापार मालामाल, एक वर्षमा ३६ प्रतिशतले बढ्यो



काठमाडौं । जय अम्बे स्टिल लिमिटेडको आम्दानी ३६ प्रतिशतले बढेको छ । कम्पनीको आम्दानी सन् २०२१ को तुलनामा सन् २०२२ मा ३५.६८ प्रतिशतले बढेको हो ।

कम्पनीले सन् २०२२ मा ८ अर्ब ८२ लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा ५ अर्ब ९० करोड २५ लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२२ मा गरेको आम्दानीमध्ये ९६ प्रतिशत टीएमटी बारबाट गरेको छ ।

कम्पनीले आइरन तथा स्टिलजन्य वस्तु उत्पादन गर्दै आएको छ । अम्बे ग्रपद्वारा सञ्चालित कम्पनीले सन् २००८ देखि स्टिलजन्य वस्तुको व्यापार गर्दै आएको छ ।

कम्पनीले टीएमटी बार, बाइन्डिङ वायर र जीआई वायर अम्बे स्टिल ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले टीएमटी बार उत्पादनका लािग आफ्नै बिलेट उद्योग स्थापना गरेको छ । उक्त उद्योगबाट वार्षिक २ लाख मेट्रिक टन विलेट उत्पादन गर्दै आएको छ ।

कम्पनीले पीग आइरन स्पञ्ज आइरनलगायत अन्य कच्चा पदार्थ भारतबाट आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

न्यौपाने, अग्रवाल र पौडेल परिवारको संयुक्त लगानी रहेको कम्पनीको शोभाकार न्यौपाने अध्यक्ष हुन् । उनको कम्पनीमा ४७ प्रतिशत स्वामित्व छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७ अर्ब १६ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३ अर्ब ६१ करोड ५० लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ । इक्रा नेपालले कम्पनीलाई एफोर रेटिङ दिएको छ ।

त्यस्तै, कम्पनीले चालु पुँजी प्रकृतिको डिमान्ड लोन, ओभरड्रफ्ट लोन, सर्ट टर्म लोन र ट्रस्ट रिसिप्ट लोनको लागि ३ अर्ब ५५ करोड रुपैयाँ बराबर ऋण को रेटिङ गराएको छ । राष्ट्र बैंकले गत कात्तिक १ गतेबाट कार्यान्वयनमा ल्याएको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन अनुसार कारोबारको २५ प्रतिशतमात्रै चालु पुँजी कर्जा लिन पाउने व्यवस्था गरेको छ । उक्त व्यवस्था अनुसार कम्पनीले कारोबारका आधारमा २ अर्ब २० लाख रुपैयाँमात्रै ऋण पाउनसक्ने छ ।

मार्गदर्शनअनुसार २ करोडभन्दा बढी चालू पुँजी कर्जाको हकमा वार्षिक कारोबार÷बिक्रीको अधिकतम २५ प्रतिशतले हुन आउने रकमभन्दा बढी नहुने गरी सीमा स्वीकृत गर्नपर्दछ । साथै, कर्जाको अवधि एक वर्ष वा सोभन्दा कम हुनुपर्नेछ । त्यसैले कम्पनीले १ अर्ब ५५ करोड रुपैयाँ फिर्ता कर्जा फिर्ता गर्नुपर्ने अवस्था देखिन्छ ।

कम्पनीले फिर्ता नगर्ने हो भने उक्त ऋणलाई दीर्घकालीन वा स्थिर पुँजीमा परिणत गरी ऋण लिन सक्नेछ । स्थिर पुँजी भने ५ वर्षको अवधिको लागि कर्जा प्रदान गर्नेछ ।

तर, व्यवसायीहरुले भने राष्ट्र बैंकको उक्त चालु पुँजी कर्जा सम्बन्धी मागर्दशन २ वर्ष स्थगत गर्नुपर्ने माग गर्दै आएका छन् ।


क्लिकमान्डु