मुख्य सिजनमै छैन निर्माण सामग्रीको माग, ३० प्रतिशतसम्म घट्यो मूल्य



काठमाडौं । निर्माण सामग्री खपत हुने मुख्य सिजनमै बजार अस्तव्यस्त बनेको छ । हरेक वर्ष यसबेला निर्माण तथा विकासको कार्य तीब्र अगाडि बढ्ने गर्छ । तर, यो वर्ष भने मुख्य सिजनमै निर्माण तथा विकासको कार्य अगाडि बढ्न सकेको छैन ।

नेपालमा विकास खर्चको अवस्था निकै कमजोर छ । गत वर्ष पनि सरकारले विनियोजन गरेको खर्चमध्ये ५० प्रतिशत पनि खर्च हुन सकेन । त्यस्तै, यो वर्ष पनि विकास निर्माणको कार्य निकै सुस्त देखिएको छ । स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनले विकास निर्माणको कार्यमा प्रभाव पारेको छ ।

हाल प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भई सरकार गठनको तयारी भइरहेको छ । यसले गर्दा पनि विकास निर्माणको कार्यले गति लिन सकेको छैन ।

त्यस्तै, अहिले बजारमा तरलताको चरम अभाव छ भने ब्याजदर ह्वात्तै बढेको छ । बजारमा तरलता अभाव र ब्याजदर वृद्धिले अधिकांश क्षेत्रमा प्रभाव परेको छ । व्यवसायीहरुले पर्याप्तमा मात्रामा लगानी गर्नका लागि रकम पाइरहेका छैनन् भने अर्कोतर्फ विगतको दिनमा लिएको ऋण तिर्न निकै चुनौती थपिएको छ ।

नेपाल उद्योग परिसंघले गरेको अध्ययनले तरलता अभाव र ब्याजदर वृद्धिले बजारको मागमा संकुचन आएको निष्कर्ष निकालेको छ ।

समग्र क्षेत्रको अध्ययनअनुसार अहिले बजारमा माग २८.२८ प्रतिशतले घटेको देखाउँछ । परिसंघले देशभर रहेका क्षेत्र र उपक्षेत्र गरी १८ वटा विभिन्न क्षेत्रको अध्ययन गरेको थियो । उक्त अध्ययनबाट अहिले बजार मागमा निकै संकुचन देखाएको हो ।

बजारको समग्रमा २८ प्रतिशतले माग घटेको छ भने २५ प्रतिशतले कारोबार घटेको उल्लेख छ । साथै, नेपालले अधिकांश वस्तु आयात गरी बजारमा आपूर्ति गर्दै छ । तर, तरलता अभाव र ब्याजदर वृद्धिका कारण आयातित वस्तुमा समेत कमी आएको छ । परिसंघअनुसार अहिले वस्तु आयात गर्नका लागि खोलिने एलसी पनि २२ प्रतिशतले कमी आएको छ ।

त्यस्तै, बजारमा विकास निर्माण क्षेत्रमा सबैभन्दा बढी खपत हुने सिमेन्टको माग ४०.२ प्रतिशतले माग घटेको छ भने अधिकांश सिमेन्ट क्षेत्रको कारोबार ३९ प्रतिशतले घटेको छ ।

त्यसैगरी, इन्जिनियररिङ र निर्माण कम्पनीको माग ४३.४ प्रतिशत, घरजग्गा क्षेत्र ५२.८ प्रतिशत र स्टिल उद्योग क्षेत्रको ६१.१ प्रतिशतले माग घटेको छ । बजारमा माग घटेसँगै यसको प्रत्यक्ष असर मूल्यमा परेको छ ।

गत वर्ष विकास निर्माणको मुख्य सिजनमै निर्माण सामग्रीको अत्याधिक मूल्य बढेको थियो । मूल्य बढेको भन्दै देशभरका निर्माण व्यवसायीहरु आन्दोलित भएका थिए । तर, यो वर्ष निर्माण तथा विकासको कार्य अगाडि बढ्न नसक्दा मूल्यमा गिरावट आएको छ ।

समग्रमा अहिले निर्माण सामग्रीको मूल्यमा ३० प्रतिशतसम्म कमी आएको व्यवसायीहरुको भनाइ छ ।

नेपाल इँटा उद्योग महासंघका अध्यक्ष शंकरबहादुर चन्दले इँटाको माग निकै कम भएको बताए । उनकाअनुसार इँटा व्यक्तिगत तथा व्यवसायिक घर निर्माणका लागि बढी प्रयोग हुने सामग्री हो । बजारमा तरलता अभाव भएका कारण घर निर्माणका कार्य ठप्प भएका छन् । जसले गर्दा अहिले इँटाको बजार माग ४० प्रतिशतले कम भएको छ ।

बजार माग नहुँदा मूल्यमा पनि ३० प्रतिशतसम्म गिरावट आएको छ । ‘इँटाको खपत हुने मुख्य सिजन नै यही हो । अहिले विगतको तुलनामा यो वर्ष इँटाको मूल्य ३० प्रतिशतसम्म कमी आएको छ,’ उनले क्लिकमाण्डूसँग भने ।

यस्तै, व्यवसायीहरुले इँटाको नयाँ उत्पादन शुरु गर्न सकेका छैनन् । तयारी अवस्थामा रहेको इँटा नै बिक्री हुन नसकेपछि व्यवसायीहरुले घाटा खाएर नै इँटा बिक्री गर्न थालेको उनको भनाइ छ । अहिले इँटाको गुणस्तर र ब्रान्ड हेरेर बजारमा प्रति इँटाको मूल्य १० रुपैयाँदेखि १७ रुपैयाँमा बिक्री भइरहेको छ ।

नेपाल सिमेन्ट उद्योग संघका सदस्य एवं एडभान्स ग्रुप अफ कम्पनीका उपाध्यक्ष राजन झाले सिमेन्टको माग नहुँदा व्यवसायीहरुले घाटा खाएर नै बिक्री गरिरहेको बताए । उनकाअनुसार उद्योगीहरुको उत्पादन क्षमताको १० प्रतिशत पनि खपत हुन सकेको छैन ।

नेपाल क्लिङ्कर र सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको अवस्था छ । तर, बजारमा खपत हुन नसक्दा उद्योगहरु बन्द हुन थालेका छन् । सिमेन्ट उद्योगमा बैंकहरुको ठूलो लगानी छ । उक्त लगानीको ब्याजसमेत तिर्न नसकेको अवस्थामा सिमेन्ट उद्योग पुगेका छन् । जसले गर्दा सिमेन्ट उद्योगीहरुले घाटा खाएर नै बेच्न बाध्य भएका छन् ।

‘अहिले बजारमा सिमेन्टको माग कम हुँदा साना उद्योगहरुले १५० रुपैयाँसम्म मूल्य घटाएर बिक्री गरिरहेका छन्,’ उनले भने ।

नेपालमा साना र ठूला सिमेन्ट उद्योग छन् । ठूला उद्योगको आफ्नै क्लिङ्कर र ग्रान्डिङ सिमेन्ट उद्योग छन् । उक्त उद्योगहरुले आफैले उत्पादन गरेको क्लिङ्कर आफ्नै उद्योग खपत गर्छ । तर, साना उद्योगले भने अन्य क्लिङ्कर उद्योगबाट खरिद गरेर ग्रान्डिङ सिमेन्ट उत्पादन गरिररहेका छन् ।

क्लिङ्कर खरिद गरी ग्रान्डिङ सिमेन्ट उत्पादन गर्दै आएको अधिकांश सिमेन्ट उद्योगहरु बन्द भइसकेका छन् । बाँकी सञ्चालनमा रहेका उद्योगहरुले पनि घाटामा सिमेन्ट बेचिरहेको उनको भनाइ छ ।

‘ठूला उद्योगहरुले घाटा खाएर पनि उत्पादन गर्न छोडेका छैनन् । किनभने बैंकको ऋण तिर्नपुर्ने बाध्यताले पनि घाटामै भएपनि उत्पादन गरी बिक्री गरिरहेका छन्,’ उनले भने ।

सिमेन्टको मूल्य लागतभन्दा निकै कम भइसकेको छ । आगामी दिनमा धेरै उद्योगहरु टाँट पल्टिनेछन् । सिमेन्ट खपत व्यक्तिगत र संस्थागतमार्फत् बढी खपत हुन्छन् । तर, अहिले बैंकबाट कर्जा नपाउँदा अधिकांश कार्य रोकिएकाले सिमेन्ट क्षेत्र मारमा परेको उनको भनाइ छ ।

त्यस्तै, पछिल्ला दिनहरुमा सिमेन्ट उद्योग अझै थपिँदै गएका छन् । उत्पादन बढिरहेको अवस्थामा खपत भने निकै कम भएकाले उद्योग समस्यामा पर्ने उनको बुझाइ छ ।

अहिले बजारमा विभिन्न ब्रान्डका पीपीसी र ओपीसी सिमेन्ट ६ सय रुपैयाँदेखि ७५० रुपैयाँसम्म बिक्री भइरहेको छ । केही महिना अघिसम्म पीपीसी र ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ६५० रुपैयाँदेखि ८ सय रुपैयाँमा बिक्री भइरहेको थियो ।

यस्तै, डन्डीको मूल्यमा पनि गिरावट आएको छ । यसअघि प्रतिकेजी १३५ देखि १४० रुपैयाँसम्म बिक्री भएको डन्डीको मूल्य अहिले प्रतिकेजी १२छ रुपैयाँदेखि १३० रुपैयाँसम्म बिक्री भइरहेको छ ।

पञ्चकन्या स्टिलले डन्डीको मूल्य घटाएर २६ रुपैयाँ तोकेको छ । यसअघि कम्पनीले प्रतिकेजी १३१ रुपैयाँमा बिक्री गर्दै आएका थिए ।

त्यसैगरी हिमाल स्टिलले केही महिना अगाडिसम्म प्रतिकेजी १३७ रुपैयाँ मूल्यमा बिक्री गरिहेकोमा अहिले घटाएर १३३ रुपैयाँ तोकेको छ । जगदम्बा स्टिलको मूल्य प्रतिकेजी ११० रुपैयाँमा बिक्री भइरहेको छ ।

एक महिनाअघि कम्पनीको डण्डी प्रतिकेजी ११६ रुपैयाँमा बिक्री भइरहेको थियो । साथै, अन्य कम्पनीहरुको डण्डीको मूल्य पनि प्रतिकेजी ७ रुपैयाँसम्म घटाएर बिक्री गरिरहेका छन् ।


अरिष्मा मोक्तान