यामाहाको दुई पाङ्ग्रे सवारी बेच्ने एमएडब्लूको १६ अर्बको व्यापार



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयातमा कडाइ गर्दा त्यसको प्रत्यक्ष असर व्यवसायमा देखिएको छ ।

सरकारले आयातमा प्रतिबन्ध र एलसी मार्जिनको व्यवस्थाले गर्दा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन आयात हुन सकेको छैन । जसले गर्दा कम्पनीहरुले लिएको ऋण ‘वाच’मा पर्न थालेको छ ।

अटोमोबाइल कम्पनीहरुले यसअघि रेटिङ गराएर लिएको ऋण समयमै तिर्न निकै चुनौती बनेको छ । कम्पनीले बजारमा सवारी साधन आयात गर्न सकेका छैनन् र व्यापार पनि गर्न सकेका छैनन् जसकारण चुनौती थपिएको छ ।

यामाहा ब्रान्डको दुई पाङ्ग्रे सवारी साधन बेच्ने एमएडब्लू इन्टरप्राइजले यसअघि ४ अर्ब २१ करोड रुपैयाँ रेटिङ गराएको थियो । तर, सरकारले आयातमा कडाइ गरेको कारण व्यापार हुन नसक्दा लिएको ऋण लिस्टमा पर्ने संभावना बढेको छ ।

कम्पनी यामाहा ब्रान्डको दुई पाङ्ग्रे सवारी साधन र स्कोडा ब्रान्डको निजी सवारी साधनको नेपालको लागि आधिकारिक विक्रेता हो ।

कम्पनीको देशभर १०४ वटा डिलर छन् । कम्पनीले सन् २०२२ मा १६ अर्ब ८५ करोड रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ। कम्पनीले सन् २०२१ मा १५ अर्ब ४४ लाख करोड रुपैयाँ, सन् २०२० मा ८ अर्ब ८२ करोड ५० लाख रुपैयाँ र सन् २०१९ मा १० अर्ब ४७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको गत वर्ष व्यापार बढे पनि यो वर्ष भने व्यापार हुन सकेको छैन । सरकारले उच्च आयातका कारण बजारमा तरलता अभाव भएको भन्दै गत वैशाखमा विलासिताको वस्तुको आयातमा प्रतिबन्ध गरेको थियो । त्यसको प्रत्यक्ष असर कम्पनीको व्यापारमा परेको हो ।

कम्पनीअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा कम्पनीको व्यापार ६१ प्रतिशतले घटेको जनाएको छ । कम्पनीले गत वर्ष ७८ प्रतिशत दुई पाङ्ग्रे सवारी साधनबाट गरेको थियो ।

कम्पनीले सन् २०२२ मा १२ प्रतिशतमात्रै नाफा कमाएको छ । सन् २०२१ मा १५ प्रतिशतले नाफा कमाएको थियो । तर, यो वर्षको तीन महिनामा आयात हुन नसक्दा व्यापार ६० प्रतिशतले घटेको उल्लेख छ ।

सरकारले दुई पाङ्ग्रे सवारी साधनको आयातमा ५० प्रतिशत मार्जिनको व्यवस्था अहिलेसम्म पनि कायमै राखेको छ ।

कम्पनीमा अग्रवाल परिवारको स्वामित्व छ । कम्पनीको प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल हुन् ।


क्लिकमान्डु