राष्ट्र बैंकको कडाइकैबीच ३.६%ले बढ्यो चालु पुँजी कर्जा, कुन क्षेत्रमा के भयो ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जामा व्यापक विकृति भएको भन्दै गत कात्तिक १ गतेदेखि कडाइ गरेको थियो ।

व्यवसायीहरुले व्यवसायका लागि चाहिने भन्दै घरजग्गा धितो राखेर चालु पुँजी कर्जा लिई घरजग्गा र सेयर बजारमा लगानी गरेको पाइएपछि कडाइ गर्नुपरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको कडाइका बाबजुत पनि चालु आर्थिक वर्षको चार महिनामा चालु पुँजी प्रकृत्तिको कर्जा ३.६ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तथ्यांक अनुसार कुल कर्जा विस्तार १.२ प्रतिशतले मात्रै बढेको छ । तर, यो अवधिमा चालु पुँजी कर्जा भने ३.६ प्रतिशतले बढेको हो ।

राष्ट्र बैंकको चालु पुँजी कर्जासम्बन्धी नयाँ नीतिका कारण आफूहरु समस्यामा परेको भन्दै व्यवसायीहरु आन्दोलन गर्दै आएका छन् ।
राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्ममा ४७ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ, जसमध्ये १७ खर्ब रुपैयाँ चालु पुँजी प्रकृत्तिको कर्जा छ ।

राष्ट्र बैंकका अनुसार ०७८ कात्तिक मसान्तको तुलनामा ०७९ कात्तिक मसान्तमा ओभरड्राफ्ट कर्जा ९.७ प्रतिशतले बढेर ७ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ ।

त्यस्तै, ट्रस्ट रिसिप्ट र आयात कर्जा ४.६ प्रतिशले बढेर ८२ अर्ब ८६ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, डिमाण्ड र अन्य चालु पुँजी कर्जा ३.६ प्रतिशतले बढेर कात्तिक मसान्तसम्ममा १० खर्ब ५० अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

यो अवधिमा टर्म लोन ४.९ प्रतिशतले बढेर १२ खर्ब ५५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ भने १ करोड ५० लाख रुपैयाँसम्मको व्यक्तिगत आवासिय घरकर्जा ३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।

त्यसैगरी, व्यवसायिक प्रयोजनका घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जा ३.४ प्रतिशतले बढेर २ खर्ब ६० अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, सेयर धितो कर्जा ५.६ प्रतिशतले घटेर ७५ अर्ब ९६ करोड रुपैयाँमा झरेको छ भने गाडी कर्जा ३.३ प्रतिशतले घटेर १ खर्ब ५१ अर्ब ९२ करोड रुपैयाँमा झरेको छ ।

त्यसैगरी, विपन्न वर्ग अन्तर्गत प्रवाह हुने कर्जा ०.९ प्रतिशतले घटेर ३ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँमा झरेको छ । त्यस्तै, क्रेडिट कार्ड, शैक्षिक कर्जा र साना तथा मझौला उद्योग व्यवसायमा प्रवाह हुने कर्जा २० प्रतिशतले घटेर ४ खर्ब ४६ अर्ब ८० करोड रुपैयाँमा झरेको छ ।

कुन क्षेत्रमा के भयो ?


क्लिकमान्डु