म्यादी जीवन बीमा योजनामा बीमितको आकर्षण, सावधिक जीवन बीमाले ओगट्यो ३६% हिस्सा



काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यवसायमा सावधिक जीवन बीमाको हिस्सा बढी देखिएको छ ।

जीवन बीमा कम्पनीहरुले हाल नौ प्रकारका बीमा योजना बिक्री गर्दै आएका छन् । ती बीमा योजनामध्ये व्यवसायमा सावधिक जीवन बीमाको हिस्सा बढी देखिएको हो ।

प्राधिकरणले सार्वजनिक गरेको चालु आवको कात्तिक महिनासम्मको तथ्यांकअनुसार सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले ४६ अर्ब १ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

जीवन बीमा कम्पनीहरुको कुल व्यवसायमा सावधिक जीवन बीमाको हिस्सा ३६.०३ प्रतिशत हुन आउँछ । कात्तिक महिनासम्ममा सावधिक जीवन बीमाबाट कम्पनीहरुले १६ अर्ब ५७ करोड ६७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

तोकिएको अवधिसम्म किस्ताबन्दी रुपमा बीमाशुल्क तिर्ने र सो अवधिपछि यदि बीमित जीवित छ भने उसैलाई र यदि जीवित छैन भने उसका हकवालालाई बीमांक रकम र आर्जित बोनस(यदि मुनाफामा सरिक हुने गरी बीमा गरिएको भएमा) प्रदान गरिने जीवन बीमालाई सावधिक जीवन बीमा भनिन्छ ।

यस्तो बीमा सामान्यतया पाँच वर्षदेखि ५० वर्ष अवधिको लागि गर्ने गरिन्छ । यस बीमाअन्तर्गत बीमा अवधि बाँकी रहँदा नै बीमितको मृत्यु भएमा निजको हकवालालाई र निज जीवितै रहेमा अवधि सकिएपछि निजलाई नै बीमाको रकम प्रदान गरिन्छ । यो बीमा विकासोन्मुख मुलुकहरुमा बढी प्रचलनमा रहेको पाईन्छ । नेपालमा पनि यो बीमा नै सबैभन्दा धेरै प्रचलनमा रहेको देखिन्छ ।

सावधिक जीवन बीमा पछि जीवन बीमा व्यवसायमा अग्रिम भुक्तानी सावधिक जीवन बीमाको योगदान धेरै देखिन्छ । कम्पनीहरुले अग्रिम भुक्तानी सावधिक जीवन बीमाबाट ११ अर्ब ५७ करोड ९६ लाख रुपैयाँ संकलन गरेका छन् । जुन कुल जीवन बीमा व्यवसायको २५.१७ प्रतिशत हो ।

कम्पनीहरुले पान्तरित सावधिक जीवन बीमाबाट ६ अर्ब ४० करोड ७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन कुल जीवन बीमा व्यवसायको १३.९१ प्रतिशत हुन आउँछ ।

जीवन बीमा व्यवसायमा बालबच्चासम्बन्धी सावधिक जीवन बीमालेखको हिस्सा १५.२१ प्रतिशत, वैदेशिक रोजगार म्यादी जीवन बीमाको हिस्सा २.५३ प्रतिशत, आजीवन जीवन बीमाको हिस्सा ३.८२ प्रतिशत, एकल बीमाशुल्क जीवन बीमाको हिस्सा ०.७३ प्रतिशत, म्यादी जीवन बीमाको हिस्सा ०.९३ प्रतिशत र लघु जीवन बीमाको हिस्सा १.६७ प्रतिशत रहेको छ ।

कात्तिक महिनासम्ममा कम्पनीहरुले बालबच्चा सम्बन्धी सावधिक जीवन बीमाबाट ६ अर्ब ९९ करोड ९० लाख रुपैयाँ, वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट एक अर्ब १६ करोड ३७ लाख, आजीवन जीवन बीमाबाट एक अर्ब ७५ करोड ८० लाख रुपैयाँ, एकल बीमाशुल्क जीवन बीमाबाट ३३ करोड ७० लाख रुपैयाँ, म्यादी जीवन बीमाबाट ४२ करोड ५८ लाख रुपैयाँ र लघु जीवन बीमाबाट ७७ करोड ५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको प्रािधकरणको तथ्यांक छ ।

म्यादी जीवन बीमा योजनामा बीमितको आकर्षण

कम्पनीहरुले सञ्चालनमा ल्याएका नौ बीमा योजनामध्ये म्यादी जीवन बीमामा भने बीमितको आकर्षण बढी देखिएको छ । कात्तिक महिनासम्मको सक्रिय बीमालेखको संख्या एक करोड ३९ लाख ४२ हजार ३०९ वटा रहेको प्राधिकरणको तथ्यांक छ ।

जसमध्ये सक्रिय म्यादी जीवन बीमालेखको संख्या ४५ लाख ७१ हजार ६३० वटा बीमालेख जारी गरेका छन् । जुन कम्पनीहरुमा जारी भएको कुल बीमालेखको ३२.७९ प्रतिशत हुन आउँछ ।

बीमाको अवधिभित्र बीमितको मृत्यु भएमा निजको हकवालाई बीमावापतको रकम प्रदान गर्ने गरी छोटो अवधिको लागि गरिने बीमालाई म्यादी जीवन बीमा भनिन्छ ।

यस्तो बीमामा बीमा गरिएको अवधिभित्र बीमितलाई केही भएन भने उक्त अवधिपश्चात कुनै पनि रकम बीमितले पाउँर्दैनन् । यो बीमा केबल सुरक्षा दिने खालको मात्रै हुन्छ, यसमा लगानी वा बचत हुँदैन । यो बीमाको अवधि साधारणतया १,५,७ र १० वर्षको हुने गर्दछ ।

बीमाको अवधि समाप्त भएपश्चात यसलाई नवीकरण गर्नुपर्दछ, अन्यथा यो बीमा स्वतः समाप्त हुन्छ । अन्तमा रकम फिर्ता नपाउने हुनाले यो बीमा जीवन बीमाका अन्य प्रकारहरुभन्दा सस्तो हुन्छ । म्यादी जीवन बीमाका पनि दुई वटा प्रकार रहेका छन् । अस्थायी म्यादी जीवन बीमा र नवीकरणीय म्यादी जीवन बीमा म्यादी जीवनाका प्रकारहरु हुन् ।

यस्तै, बीमा कम्पनीहरुमा जारी भएको कुल बीमालेखमा लघु जीवन बीमाको हिस्सा ३०.९० प्रतिशत, सावधिक जीवन बीमा योजनाको हिस्सा १३.८४ प्रतिशत, वैदेशिक रोजगार जीवन बीमा योजनाको हिस्सा ८.७० प्रतिशत, रुपान्तरिक सावधिक जीवन बीमाको हिस्सा ३.६१ प्रतिशत र अग्रिम भुक्तानी जीवन बीमा योजनाको हिस्सा ३.०१ प्रतिशत रहेको छ । यस्तै, आजीवन जीवन बीमा योजनाको हिस्सा ०.९३ प्रतिशत, एकल बीमाशुल्क जीवन बीमाको हिस्सा ०.१६ प्रतिशत छ ।


क्लिकमान्डु