निर्जीवन बीमा: ७१ प्रतिशत व्यवसाय मोटर, सम्पत्ति र इन्जिनियरिङ बीमाको कब्जामा



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति, सामून्द्रिक, हवाई, मोटर, इन्जिनियरिङ, विविध, कृषि तथा बाली र लघु बीमालेख बिक्री गर्दै आएका छन् । जसमध्ये व्यवसायमा मोटर, सम्पत्ति र इन्जिनियरिङ बीमाको हिस्सा बढी देखिएको छ । मोटर, सम्पत्ति र इन्जिनियरिङ बीमाले निर्जीवन बीमा व्यवसायको ७१.४० प्रतिशत हिस्सा ओगटेका हुन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आवको कात्तिकसम्मको तथ्यांकअनुसार मोटर, सम्पति र इन्जिनियरिङ बीमाबाट ९ अर्ब ५३ करोड ८२ लाख रुपैयाँ संकलन भएको छ । कम्पनीहरुले उक्त अवधिमा ७ लाख ४३ हजार ४४७ वटा बीमालेख जारी गरी उक्त रकम संकलन गरेका हुन् ।

कम्पनीहरुले यस अवधिसम्ममा कुल १३ अर्ब ३५ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले उक्त अवधिमा ९ लाख ९१ हजार १३८ वटा बीमालेख जारी गरी उक्त रकम संकलन गरेका हुन् । जारी भएका कुल बीमालेखमा मोटर, सम्पत्ति र इन्जिनियरिङ बीमालेखले ८०.८९ हिस्सा ओगटेका छन् । यस अवधिमा यी बीमाका एक लाख ७५ हजार ६९१ वटा बीमालेख जारी भएका छन् । जुन कुल बीमालेखको १९.११ प्रतिशत हुन आउँछ ।

यस्तै, विविध, सामुन्द्रिक, हवाई, कृषि तथा बाली र लघु बीमाले व्यवसायको २८.६० प्रतिशत हिस्सा ओगटेका छन् । प्राधिकरणकाअनुसार कम्पनीहरुले यी बीमालेख जारी गरी ३ अर्ब ८२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

व्यवसायमा मोटर बीमाले ३३.२९ प्रतिशत हिस्सा ओगट्यो

कम्पनीहरुले मोटर बीमाबाट ४ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन निर्जीवन बीमा व्यवसायको ३३.२९ प्रतिशत हुन आउँछ ।

यस अवधिमा कम्पनीहरुमा मोटर बीमाका ५ लाख ७३ हजार ३५ वटा बीमालेख जारी भएका छन् ।

कुनै दुर्घटना, चोरी वा अन्यबाट घटनाबाट मोटर गाडी वा तेस्रो पक्ष(बीमक र बीमित बाहेक तेस्रो पक्ष) लाई हुने नोक्सानीको क्षतिपूर्तिको लागि गरिने बीमालाई मोटर बीमा भनिन्छ ।

दुर्घटना, चोरी वा दैवी विपत्तिका कारणबाट मोटर गाडी वा तेस्रो पक्षलाई पुग्न जाने क्षति विरुद्ध गरिने बीमालाई मोटर बीमा भनिन्छ । दुर्घटना, चोरी, ठक्कर आदिबाट हुने क्षतिको क्षतिपूर्ति यस बीमा अन्तर्गत गरिन्छ । कतिपय देशमा मोटर बीमा बीमा अनिवार्य गरिएको हुन्छ ।

नेपालमा भने मोटर बीमा अन्तर्गको तेस्रो पक्ष दायित्व बीमा मा अनिवार्य गरिएको छ । मोटर बीमा अन्तर्गत ब्यापक बीमा र तेस्रो पक्ष बीमा पर्छन् ।

सम्पत्ति बीमाबाट २ अर्ब ८७ करोड संकलन

प्राधिकरणकाअनुसार कम्पनीहरुले सम्पत्ति बीमाका एक लाख ६३ हजार २५६ वटा बीमालेख जारी गरी २ अर्ब ८७ करोड १२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो कम्पनीहरुको कुल व्यवसायको २१.४९ प्रतिशत हो ।

सम्पत्ति बीमाले सम्पत्तिलाई आगलागी, चट्याङ्ग, बिष्फोटनबाट हुने नोक्सानीबाट सुरक्षा प्रदान गर्दछ । यस बीमा अन्तर्गत प्राकृतिक प्रकोपहरु जस्तैः भुकम्प, आंधी बेहेरी, जनमग्न, बाढी, पहिरो, हुरीबतास आदि लगायत मानवीय कारणबाट हुने जस्तैः हुलदङ्गा, हडताल, तोडफोड र आतङ्कवाद तथा विध्वंसात्मक कार्यबाट हुने जोखिमबाट समेत सुरक्षा प्रदान गर्ने गर्दछ ।

इन्जिनियरिङ बीमाले ओगट्यो १६.६१ प्रतिशत

इन्जिनियरिङ बीमाका ७ हजार १५६ वटा बीमालेख जारी गरी २ अर्ब २१ करोड ९४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन निर्जीवन बीमा व्यवसायको १६.६१ प्रतिशत प्रतिशत हो ।

उद्योग, कलकारखाना, परियोजनाहरुमा जडान गरिएका यन्त्र, उपकरण, औजार, प्लान्ट, मेसिनरी सामग्री आदि क्षतिग्रस्त भई उत्पन्न हुने क्षति विरुद्ध गरिने बीमालाई इन्जिनियरिङ बीमा भनिन्छ । यस्तो बीमामा यन्त्र, उपकरण औजार प्लान्ट, मेसिनरि आदिको बिस्फोटन, प्राकृतिक प्रकोप, दैबी बिपत्ति, ब्रेकडाउन, फिेलिएर आदिबाट उत्पन्न जोखिमको बीमा गरिन्छ ।

यन्त्र उपकरणहरुको संरचना र मूल्य बिभाजन जटिल भएको हुनो दाबी व्यवश्थापनको हिसाबले यो बीमा अत्यन्तै जटिल मानिन्छ ।

यस्तै, निर्जीवन बीमा व्यवसायमा विविध बीमाले १२.५५ प्रतिशत, सामून्द्रिक बीमाले ५.६६ प्रतिशत, कृषि तथा पशुपन्छी बीमाले ५.२४ प्रतिशत, हवाई बीमाल २ं५३ प्रतिशत र लघुुबीमाले ०.२० प्रतिशत हिस्सा ओगटेका छन् ।

यस अवधिमा कम्पनीहरुले विविध बीमाबाट एक अर्ब ६७ करोड ६३ लाख रुपैयाँ, सामून्द्रिक बीमाबाट ७५ करोड ६० लाख रुपैयाँ, हवाई बीमाबाट ६० लाख १७ लाख रुपैयाँ, कृषि तथा पछुपन्छी बीमाबाट ६९ करोड ९८ लाख रुपैयाँ र लघु बीमाबाट २ करोड ६३ लाख रुपैयाँ संकलन गरेका छन् ।


क्लिकमान्डु