कर्मचारी बोनसका लागि निर्जीवन बीमा कम्पनीले छुट्याए १३ करोड, कुनले कति ?



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले कर्मचारी बोनस व्यवस्थाका लागि १३ करोड रुपैयाँ छुट्याएका छन् ।

१७ निर्जीवन बीमा कम्पनीहरुले चालु आवको पहिलो त्रैमासको अवधिमा कर्मचारी बोनस व्यवस्थाका लागि १३ करोड ४० लाख ७६ हजार रुपैयाँ छुट्याएका हुन् ।

गत आवको सोही अवधिको तुलनामा यो २.१२ प्रतिशतले कम हो ।

गत आवको यसै अवधिमा कम्पनीहरुले कर्मचारी बोनस व्यवस्थाका लागि १३ करोड ६९ लाख ८५ हजार रुपैयाँ रकम छुट्याएका थिए ।

कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार १७ कम्पनीमध्ये कर्मचारी बोनस व्यवस्थाका लागि धेरै रकम छुट्याउने कम्पनीमा शिखर इन्स्योरेन्स परेको छ ।

चालु आवको तीन महिनामा शिखरले कर्मचारी बोन व्यवस्था शिर्षकमा १ करोड ९२ लाख १७ हजार रुपैयाँ छुट्याएको हो । जुन गत आवको सोही अवधिको तुलनामा ३६.७६ प्रतिशतले धेरै हो ।

गत आवको पहिलो त्रैमासको अवधिमा शिखरले यस शिर्षकमा १ करोड ९० लाख ९३ हजार रुपैयाँ रकम छुट्याएको थियो ।

यस्तै, शिखरपछि कर्मचारी बोनस व्यवस्था शीर्षकमा धेरै रकम छुट्याउने कम्पनीको सूचीमा प्रिमियर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स परेका छन् । यी कम्पनीहरुले कर्मचारी बोनस व्यवस्था शिर्षकमा १ करोड भन्दा धेरै रकम छुट्याएका छन् ।

प्रथम त्रैमासको अवधिमा प्रिमियरले १ करोड १५ लाख रुपैयाँ, नेपालले १ करोड १० लाख १७ हजार रुपैयाँ र प्रभुले १ करोड ५९ लाख रुपैयाँ रकम कर्मचारी बोनस व्यवस्था शिर्षकमा छुट्याएका छन् ।

गत आवको पहिलो त्रैमासको अवधिमा प्रिमियरको ५.५२ प्रतिशत र नेपालको ६.४८ प्रतिशत बढेको हो । भने प्रभुको ३.२१ प्रतिशतले घटेको हो ।

१७ कम्पनीमध्ये ६ वटा कम्पनीको कर्मचारी बोनस व्यवस्था शिर्षकमा खर्च हुने रकम घटेको छ । गत आवको सोही अवधिको तुलनामा सगरमाथाको ४९.४२ प्रतिशतले घटेर ५१ लाख ६८ हजार, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ६० लाख १३ हजार, साविकको जनरल इन्स्योरेन्सको ५०.७७ प्रतिशतले घटेर २९ लाख ९७ हजार र राष्ट्रिय बीमा कम्पनीको ६१ लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ ।

यस्तै, नेको इन्स्योरेन्सको ६.६४ प्रतिशतले घटेर ९५ लाख ९८ हजार रुपैयाँ र प्रभु इन्स्योरेन्सको ३.२१ प्रतिशतले घटेर १ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ ।

गत आवको सोही अवधिको तुलनामा यूनाइटेड इन्स्योरेन्सको कर्मचारी बोनस व्यवस्था शिर्षकमा खर्च हुने रकम ९०.०८ प्रतिशतले बढेर ३६ लाख रुपैयाँ र साविकको सानिमा जनरल इन्स्योरेन्सको ७०.०१ प्रतिशतले बढेर ५९ लाख १३ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, लुम्बिनी जनरलको ३६.७६ प्रतिशतले बढेर ९३ लाख, अजोडको १५.७२ प्रतिशतले बढेर २० लाख २४ हजार, आइएमई जनरलको १५.७० प्रतिशतले बढेर ७१ लाख ९८ हजार, प्रुडेन्सियलको ११.६२ प्रतिशतले बढेर ५८ लाख २१ हजार, सिद्धार्थ इन्स्योरेन्सको ३.२२ प्रतिशतले बढेर ९३ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

बीमा कम्पनीहरुले आर्थिक वर्ष सकिएपछि साधारणसभा सम्पन्न गरि कर्मचारीलाई छुट्याएको बोनस वितरण गर्ने गर्छन् ।


क्लिकमान्डु