व्यवसायीसँग प्रचण्डले भने- देशको अर्थतन्त्रबारे हामी गम्भीर छौं, सबै मिलेर समाधान गर्नुपर्छ



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अवस्था निकै गम्भीर भएको बताएका छन् । सोमबार बिहान खुमलटारस्थित उनको निवासमा भेट्न पुगेको नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग प्रचण्डले यस्तो बताएका हुन् ।

‘देशको अवस्था निकै गम्भीर छ, हामी सबै मिलेर समाधान गर्नुपर्छ,’ प्रचण्डलको भनाइ उदृत गर्दै भेटमा सहभागी एक व्यवसायीले क्लिकमाण्डूसँग भने, ‘अहिलेको देशको अर्थतन्त्रको विषयमा म निकै सम्बेदनशील छु । तपाईंहरुका पीर मर्का बुझेर काम गर्छौं ।’

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले अर्थतन्त्रमा वहुआयामिक असर परेको र वहुप्रतिक्षित चालु आर्थिक बर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेको अवगत गराएको थियो ।

अध्यक्ष गोल्छाले राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको भन्दै मुल्यवृद्धि सात बर्षयताकै उच्च रहेको र निजी क्षेत्र संकुचित हुँदै गएको बताए । यो समस्या समाधान गर्न राजनीतिक दलका मुल नेतृत्व गंभीर भएर लाग्नुपर्ने सुझाव दिए ।

बिहान १० बजे महासंघको टोली प्रचण्ड निवास पुगेको थियो । अध्यक्ष गोल्छाले १५ मिनेटजति अर्थतन्त्रका विद्यमान समस्याबारे प्रचण्डलाई अवगत गराए ।महासंघको टोलीले आइतबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर यी नै समस्या तथा समाधानका उपायहरु सुझाएको थियो ।

आफूलाई प्रधानमन्त्रीमा दावी गरिरहेका प्रचण्डले व्यवसायीहरुसँग धेरै बोलेनन् ।

‘आज प्रचण्डजी धेरै बोल्नु भएन, सुन्नुमात्रै भयो,’ एक व्यवसायीले भने, हामीले राखेका समस्या र समाधानका उपाय सुनिसकेपछि आफू संवेदनशील भएको र ती गुनासाहरु सम्बोधन गर्न प्रयास गर्ने विश्वास दिलाउनु भयो ।’

निजी क्षेत्रको लगानी संकुचित भई राजस्व समेत निरन्तर घटेर मुलुकको अर्थतन्त्रमा चाप परिरहेको समयमा लागु भएको मार्गदर्शनले व्यवसायमा जटिलता थपेको महासंघको दाबी छ ।

व्याजदरको उतारचढाव, राष्ट्रिय अन्तराष्ट्रिय आर्थिक असहजता, अन्तराष्ट्रियरुपमा आकाशिएको इन्धन एवं कच्चा पदार्थको मूल्य तथा लजिष्टिक्स र फ्रेट शुल्कमा समेत बृद्धि भएकाले अनुमानित वित्तीय विवरण निर्धारण र चालु पूँजीको वास्तविक आवश्यक सीमा निर्धारण बीच तादाम्यता नमिल्ने र चालु पूँजीको अभावमा उद्योग सञ्चालनमै कठिनाई उत्पन्न भएको जानारी प्रचण्डलाई गराइएको थियो ।

प्रतिनिधि मण्डलमा अध्यक्ष गोल्छासहित उपाध्यक्षहरु अञ्जन श्रेष्ठ, रामचन्द्र संघई, दिनेश श्रेष्ठ र महानिर्देशक गोकर्ण अवस्थी सहभागी थिए । बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल भने सहभागी थिएनन् ।

यी हुन् अर्थतन्त्र सुधारका लागि महासंघले दिएका १० सुझाव

१, पुस मसान्तमा पुर्नकर्जा वाफतको करिब ६० अर्ब रुपैयाँ बैंक वित्तीय संस्थाहरुबाट फिर्ता जाने बैंकहरुको भनाइ छ । यसले उद्यमीलाई समस्या त हुने नै छ, बजारमा तरलता अभावलाई थप गहिर्याउनेछ । त्यसैले कम्तीमा एक बर्ष पुर्नकर्जा नविकरणको सुविधा दिइनुपर्छ ।

२, अनिवार्य नगद अनुपात ९सीआरआर० लाई एक प्रतिशत विन्दुले कम गर्नुपर्छ । नीतिगत दर घटाउनुपर्नेछ ।

३, सरकारी ढुकुटीमा रहेको रकम प्रवाह गरि तरलता व्यवस्थापनका उपाय अबलम्बन गरिनुपर्छ ।

४, स्थानीय तहमा जाने रकमलाई निश्चित अवधिका लागि सत प्रतिशत गणना गर्नुपर्ने व्यवस्था गर्नुपर्छ ।

५,पूँजीगत खर्च हुन नसक्नु मुलुकको पुरानो समस्या रहेको र खर्च नहुँदा बजारमा तरलता अभाव हुने गरेको सन्दर्भमा खर्च बढाउन विशेष पहल आवश्यक छ । अर्थमन्त्रालयले पूँजीगत खर्च नहुने कारण पहिल्याइसकेको सन्दर्भमा खर्च बढाउने योजना तत्काल कार्यान्वयन गर्नु आवश्यक छ ।

६, वैदेशिक लगानी आकर्षित गर्नका लागि बजेटमा उल्लेखित स्वचालित प्रक्रिया कार्यान्वयन गर्नुपर्नेछ । यसबारे तत्काल कार्यविधि बनाइ विदेशी लगानी बढाउन पहल गर्नुपर्छ ।

७, सरकारको नीति तथा कार्यक्रममा समावेश भैसकेको कन्ट्री रेटिंग तत्काल गरिनुपर्ने । अन्तराष्ट्रिय रकम भित्र्याउन वोन्ड लगायतका अन्य उपकरणको प्रयोग गर्न सकिन्छ । अन्य लगानीका स्रोतबाट रकम भित्र्याउन नीतिगत सुधार आवश्यक छ ।

८, निजी क्षेत्र तथा बैंकहरुले विदेशबाट ऋण लिनका लागि सहजीकरण एवं प्रोत्साहन गरिनुपर्नेछ ।

९, सरकारको बजेट वक्तव्यमा उल्लेख भएको उत्पादनमूलक उद्योगलाई अन्य व्यवसाय भन्दा कम व्याजदरमा कर्जा प्रवाह गरिने व्यवस्थालाई कार्यविधि बनाइ तत्काल लागु गरिनुपर्नेछ ।


क्लिकमान्डु