लालबाबुसँग बदला लिँदै शेखरको जित, प्रधानमन्त्रीका दाबेदार ?
विराटनगर । मोरङ क्षेत्र ६ मा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
उनले १२ हजार २८६ सय मतअन्तरले एमालेका निवर्तमान सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई पछि पार्दै विजयी भएका हुन् । कोइरालाले ३५ हजार २१८ मत ल्याएर विजयी भएका छन् । पण्डितले २२ हजार ९२३२ मत प्राप्त गरेका छन् ।
अघिल्लोपटक २०७४ को आमनिर्वाचनमा पण्डितले कोइरालालाई ५७२ मतले पराजित गरेका थिए । त्यसबेला एमाले माओवादी दलबीच गठबन्धन थियो भने यसपटक कांग्रेस माओवादी गठबन्धनबीच चुनावी प्रतिस्पर्धा भएको थियो ।
यसपटकको निर्वाचनमा घण्टी चुनाव चिन्हमा उठेका राष्ट्रिय स्वतन्त्र पार्टीका यादव प्रधानले ९ हजार ५७१ र राप्रपाका गोपाल कटुवालले ८८२९ मत प्राप्त गरेका छन् ।
कोइरालाले कांग्रेस पार्टीमा संस्थापन इतर समूहको नेतृत्व गर्दै आएका छन् । उनको समूहमा रहेका महामन्त्री गगन थापाले प्रधानमन्त्रीका लागि संसदीय दलमा उम्मेदवारी दिने तयारी गरिरहँदा कोइरालालाई पनि प्रधानमन्त्रीका सम्भावित दाबेदारको रुपमा हेरिएको छ ।
उनको संसदीय यात्रा २०६४ बाट भएको थियो । त्यो बेला उनी संविधानसभा सदस्य निर्वाचनमा मोरङ ६ मधेसी जनअधिकार फोरमका विजयकुमार गच्छदारसँग पराजित भएका थिए ।
२०६५ मा भएको उपनिर्वाचनमा उनी सोही क्षेत्रबाट निर्वाचित हुन पुगे । दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा मोरङ ६ बाट उनी पुनः निर्वाचित भएका थिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा मोरङ ६ मा पराजित हुन पुगेका थिए ।
उनको राजनीतिक आबद्धता कांग्रेसको भ्रातृ संगठन नेविसंघको स्थापनाकाल २०२७ मा भएको थियो । उनी महेन्द्र मोरङ क्याम्पसबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका हुन् ।
२०२८ सालमा पार्टी सदस्यता प्राप्त गरी उनी सक्रिय राजनीतिमा लागेका थिए । पार्टीको ११ औं, १२ औं र १३ औं महाधिवेशनसम्म केन्द्रीय सदस्य निर्वाचित भएका उनी १४ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएपछि संस्थापन इतर समूहका नेता बन्न पुगेका हुन् ।
विद्यार्थी क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका कोइरालाले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका सहयोगीको भूमिका निर्वाह गरेका थिए ।
उनले संविधान निर्माणमा राज्यको हरेक निकायमा मधेसी, मुस्लिम, महिला, दलित र आदिवासी जनजातिको समावेशीताको व्यवस्था राख्न कांग्रेसको ह्विपको प्रवाह नगरी संविधानसभामा संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
सक्रिय संसदीय राजनीतिमा आउनुअघि उनी चिकित्सकको भूमिकामा थिए । २०४८ सालको निर्वाचबाट प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले उनलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपककुलपति बनाएका थिए ।
प्रतिष्ठानको कुलपति स्वयम् प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला थिए । गिरिजाको निधनपछि कोइराला परिवारको विरासत सुशील कोइरालाले सम्हालेका थिए । सुशीलको निधनपछि कोइराला परिवारको बिरासत उनले धानिरहेका छन् ।
शेखरका पिता केशवप्रसाद कोइराला र आमा नोना कोइराला हुन् । उनी २००७ मा कोइराला निवास विराटनगरमा जन्मेका हुन् । उनकी पत्नी पुनम र एक छोरी छन् ।