कहाँबाट आयो पृथ्वीमा सुन ? सुनसम्बन्धी रोचक तथ्यहरू



पृथ्वीमा सुन कहाँबाट आयो भन्ने सम्बन्धमा दुई खाले अनुमान छ ।

पहिलो मेटोरेइट सिद्धान्त । यस सिद्धान्तअनुसार पृथ्वीले ग्रहको आकार लिएको करिब २० करोड वर्षपछि अर्थात् आजभन्दा २ अर्ब २० लाख वर्षअघि अन्तरिक्षबाट पृथ्वीमा बज्रिन आइपुगेको उल्कापिण्डहरूबाट सुन आएको हुनुपर्दछ ।

दोस्रो, मेन्टल सिद्धान्त । यस सिद्धान्तअनुसार पृथ्वीको बाहिरी पत्रभन्दा मुनिको तातो लाभाका रूपमा मेन्टल तहबाट भौगर्भिक हलचलका कारण सुन पृथ्वीको सतहमा वा माथिल्लो पत्रमा आएको हुनुपर्दछ ।

यी दुई सिद्धान्तहरूमध्ये पहिलो सिद्धान्तलाई बढी विश्वसनीय मान्न सकिन्छ ।

अहिलेसम्म कति उल्खनन भयो सुन ?

वर्ल्ड गोर्ल्ड काउन्सिल (डब्लुजीसी) को तथ्याङ्कअनुसार मानव सभ्यताको सुरुवात यता सन् २०२१ सम्म दुई लाख पाँच हजार २ सय ३८ टन उत्खनन भएको छ । यीमध्ये दुई तिहाई परिणामको सुन १९५० पछिमात्रै उत्खनन भएको देखिन्छ ।

अहिलेसम्म उत्खनन भएको सुनलाई घनाकार स्वरुप दिने हो भने त्यसबाट करिब २२ घनमिटरको क्युब बनाउन सकिन्छ । यदि हालसम्म उत्खनन गरिएको सम्पूर्ण सुनलाई पाँच माइक्रोमको मोटो तार बनाउने हो भने त्यसले विश्वलाई एक करोड १२ पटक बेर्न सकिन्छ ।

जमिनमुनि खानीमा प्रामाणिक मौज्दातका रूपमा लगभग ५३ हजार टन रहेको डब्लुजीसीको दाबी छ । विश्वमा प्रत्येक वर्ष २५०० देखि ३००० टन सुन उत्खनन हुने गर्दछ ।

सुनको शुद्धता
सुन प्रकृतिमा स्वतन्त्र रूपमा रहेको धातु हो । सुनको शुद्धतालाई वर्गीकरण वा मापन गर्ने इकाइ क्यारेट हो । यसले गरगहनामा सुनको मात्रा सङ्केत गर्दछ । २४ क्यारेटको सुनलाई शुद्ध सुन मानिन्छ ।

शुद्ध २४ क्यारेट सुनको घनत्व १९.३ ग्राम हुन्छ । सुनको घनत्व अन्य धातुभन्दा बढी हुने भएकाले जति बढी घनत्व भयो त्यति नै सुनलाई शुद्ध मान्ने गरिन्छ ।

२४ क्यारेटको सुन पूर्ण रूपमा शुद्ध हुने हुँदा धेरै नरम हुन्छ र गहना बनाउन योग्य हुँदैन । उक्त सुनलाई गरगहना बनाउन योग्य बनाउनका लागि सुनमा अरू कडा धातु मिसाइन्छ जसका कारण यो मुलायम र स्थायी हुन्छ ।

सुनमा अरु धातु मिसाउने प्रक्रियाबाट यसमा मिसिएको अरु धातुको मात्रा अनुसार २४, २२, १८ आदि क्यारेटमा वर्गीकरण गरिन्छ ।

२४ क्यारेटको सुनमा ९९.९५ प्रतिशत सुनको मात्रा पाइन्छ, भने २२ क्यारेटमा ९१.७५ प्रतिशत, १८ क्यारेटमा ७५ प्रतिशत सुनको मात्रा रहेको हुन्छ । ५८.५ प्रतिशत सुनको मात्रा भएको सुनलाई १४ क्यारेट तथा ४१.७ प्रतिशत सुनको मात्रा भएको सुनलाई १० क्यारेट सुन भनिन्छ ।

नेपालमा सामान्यत २४ र २२ क्यारेटका सुन चलनचल्तीमा रहेका पाइन्छन् । सुनमा चाँदी, तामा, जस्ता, निकल, प्लाटिनम, पालाडियम जस्ता धातु मिसाएर पनि गरगहनामा प्रयोग गरिन्छ ।

सुनलाई हावा आर्द्रता वा अन्य तत्वहरुले निकै कम असर वा बिगार गर्दछ । त्यसैले यसलाई पवित्र मानिन्छ । हिन्दु धर्मअनुसार सुन पञ्च धातुमध्येको एक प्रमुख धातु मानिएको छ ।

नोटः
माथिको मिश्र धातु रचनाहरू देखाइएका रङ /क्यारेटेज संयोजनहरूमा पुग्नका लागि गहना उद्योगले प्रयोग गर्नेहरूमध्ये विशिष्ट छन्, तर यी संयोजनहरूमा पुग्ने यी मात्र तरिका होइनन् ।

यहाँ सूचीबद्ध सेतो सुन रचनाहरू निकल मुक्त छन् । निकल युक्त सेतो सुन मिश्र धातुहरू सेतो सुन मिश्रहरूको सानो / धेरै सानो प्रतिशत बनाउँछ र सामान्यतया अन्य आधार धातुहरू जस्तै तामा र जस्ता समावेश गर्दछ ।

तल प्रयोग गरिएका उत्कृष्टताका सामान्य मापदण्डहरू छन्ः

सुनको प्रयोग
सुनको सबैभन्दा बढी प्रयोग गरगहना बनाउन गरिन्छ । तथ्याङ्कअनुसार उत्खनन भएमध्येको सबैभन्दा धेरै अर्थात् करिब ४६ प्रतिशत ९४ हजार ४ सय ६४ टन सुन गरगहना बनाउन प्रयोग हुन्छ ।

सुनको दोस्रो बढी प्रयोग विशद् धनका रूपमा रहेको पाइन्छ । २२ प्रतिशत अर्थात् ४५ हजार चार सय ५६ टन सुन सिक्का वा ढिक्काका रूपमा मानिसहरूले धनका रूपमा राखेका छन् ।

यसै गरी तेस्रो ठूलो परिमाण सबैजसो देशका केन्द्रीय बैकहरूले सुनलाई विनिमय सञ्चितिका रूपमा राखेको पाइन्छ । विश्वका केन्द्रीय बैंकहरूले विनिमय सञ्चिति वा बचतका रूपमा राखेको सुनको परिमाण ३४ हजार पाँच सय ९२ टन छ जुन कुल सुनको करिब १७ प्रतिशत हुन आउँछ ।

करिब १५ प्रतिशत सुन (३० हजार सात सय २६ टन) भने अन्य प्रयोजनमा खपत भएको पाइन्छ। सुनलाई विद्युतीय सामग्री बनाउन, विद्युतीय तार, औषधी, विकिरण कवच, ग्लास रङ्गीन बनाउने आदि काममा पनि प्रयोग गर्ने गरिन्छ ।

सुनसम्बन्धी रोचक तथ्यहरू
सुन अत्यन्त कोमल धातु हो । कोमल भएकै कारण १ ग्राम सुनलाई आठ किलोमिटरभन्दा लामो धागोका रूपमा आकार दिन सकिन्छ ।

सुनमा लचकता पनि ज्यादा हुन्छ, कुनै पनि धातुमा लचकपन कति छ भनेर मापन गर्ने तरिका उक्त धातुलाई पिटेर कतिसम्म पातलो च्यादर (सिट) मा बदल्न सकिन्छ भनेर हेर्ने हो । एक अउन्स (२८.३४ग्राम) शुद्ध सुनलाई पिटेर ३ सय वर्गफिटको सिट बनाउन सकिन्छ । साथै यसलाई पारदर्शी हुने गरी पातलो पत्रमा ढाल्न सकिन्छ ।

सुन उम्लने तापक्रम २८०८ डिग्री सेन्टिग्रेड हो भने १०६४ डिग्री सेन्टिग्रेडमा सुन पग्लिन्छ । सुन शुद्ध अवस्थामा गन्धरहित र स्वादरहित हुन्छ ।

संसारमा सबभन्दा धेरै सुन बचत राख्ने पाँच मुलुकहरूमा अमेरिका ८ हजार १३३ टन, जर्मनी ३ हजार ३९५ टन, इटाली २ हजार ४५१.८ टन फ्रान्स २ हजार ४३६.५ टन, रुस २ हजार २९८.५३ टन हुन् ।

हालसम्म उत्खनन भएको सुनलाई घनाकार स्वरुप दिने हो भने त्यसबाट करिब २२ घनमिटरको क्युब बनाउन सकिन्छ । यदि उत्खनन गरिएको सम्पूर्ण सुनलाई पाँच माइक्रोमको मोटो तार बनाउने हो भने त्यसले विश्वलाई एक करोड १२ पटक बेर्न सकिन्छ ।

हाल विश्वमा धेरै सुन उत्खनन गर्ने प्रमुख ५ मुलुकहरूमा चीन ३७० मेट्रिक टन, अस्ट्रेलिया ३३० मेट्रिक टन, रसिया ३०० मेट्रिक टन, सयुक्त राज्य अमेरिका १८० मेट्रिक टन र क्यानडा १७० मेट्रिक टन हुन् ।

नेपालमा सुन आयातको स्थिति
विश्व मानचित्रमा नेपाल अति कम विकसित मुलुकका रुपमा रहेको छ । देशका १८ प्रतिशत जनता गरिबीको रेखामुनि छन् तर अति विलासी र अनुत्पादक वस्तु सुनको खरिद र उपभोगमा भने नेपालीको मोह उच्च देखिन्छ ।

पछिल्ला १५ वर्षमा नेपालमा साढे तीन खर्ब रुपैयाँ बराबरको ७४ हजार किलो सुन भित्रिएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६४/६५ देखि २०७८/७९ सम्ममा ७३ हजार ९सय ४४ किलो सुन भित्रिएको छ जसमा तीन करोड ४२ अर्ब ४७ करोड रुपैयाँ बाहिरिएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा मात्र ३५ अर्ब ६१ करोड रुपैयाँ बराबरको ५०५३ किलो सुन आयात भएको विभागको तथ्याङ्क छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वार्षिक एक खर्ब बराबरको सुन कारोबार हुने गरेको छ ।

विवाहलगायतका सिजनमा दैनिक ५० किलोसम्म र अन्य वा अफसिजनमा दैनिक २० किलोसम्म सुन खपत हुने गरेको छ । हाल नेपाल राष्ट्र बैंकले दैनिक १० किलो सुन आयातको व्यवस्था गरेको छ । राष्ट्र बैंकले सिजनका समयमा भने २० किलो सुन आयातको अनुमति दिने गरेको छ ।

नेपालमा २० भन्दा बढी मुलुकबाट सुन आयात हुने गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार नेपालमा सबैभन्दा बढी खाडी देशहरूबाट सुन आयात हुन्छ । ती देशहरूमा युएई, बहराइन, सिङ्गापुर, ब्रुनाई, साउदी अरब आदि हुन् जसमध्ये ९० प्रतिशत सुन युएईबाट आयात हुने गरेको छ ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार सरकारको ढुकुटीमा असारसम्म १९४५ किलो सुन मौज्दात छ । त्यस्तै विभागमा दुई लाख २२ हजार २ सय किलो चाँदी मौज्दात छ ।

(नेपाल बैंकको ८६ औं वार्षिकोत्सव विशेषाङ्कमा प्रकाशित वरिष्ठ सहायक खड्काको लेख)


क्लिकमान्डु