१५ महिनापछि देशबाट बाहिरिनेभन्दा भित्रिने रकम १२ अर्ब रुपैयाँले बढी



काठमाडौं । लगातार घाटामा रहेको शोधानान्तर स्थिति (देशबाट भित्रिने र बाहिरिने मुद्राको फरक) १५ महिनापछि बचतमा आएको छ । २०७८ असारदेखि शोधानान्तर स्थिति लगातर घाटामा थियो । शोधानान्तर स्थिति घाटामा हुँदा देशमा भित्रिनेभन्दा बाहिरिने मुद्रा बढी हुन्छ ।

शोधानान्तर स्थिति लगातार घाटामा गएपछि सरकारले आयातका लागि प्रतितपत्र (एलसी) खोल्दा नगद मार्जिन राख्नु पर्ने देखि १० बस्तुको आयात प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

२०७८ जेठमा १५ अर्ब १४ करोड रुपैयाँले शोधानान्तर स्थिति घाटामा गएको थियो । २०७८ असारमा भने शोधानान्तर स्थिति १ अर्ब २२ करोडको बचतमा थियो । त्यस यता लगातार घाटामा रहेको शोधानान्तर स्थिति गत असोजमा १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा पुगेको छ । गत आर्थिक वर्षमा शोधानान्तर स्थिति २ खर्ब ५५ अर्ब रुपैयाँले घाटामा थियो ।

चालु आर्थिक वर्षको पहिलो महिना शोधनान्तर स्थिति २२ अर्ब ६३ करोड रुपैयाँले घाटामा थियो । यस्तै, भदौमा समेत शोधनान्तर स्थिति २३ अर्ब ६८ करोड रुपैयाँले घाटामा थियो ।

चालु आर्थिक वर्षको तीन महिनामा २ अर्ब १९ करोड डलर रेमिट्यान्स आएपछि विदेशी मुद्राको सञ्चिति बढेको छ । यस्तै, यो वर्ष असोजमा गत वर्ष भन्दा ७.९ प्रतिशत बढी रेमिट्यान्स आउँदा शोधानान्तर स्थिती बचतमा गएको हो । आयात प्रतिबन्धको साथैं बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी नगर्दा आयातमा गिरावट आएकाले समेत विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिअनुसार भदौंभन्दा असोजमा विदेशी मुद्राको सञ्चिति बढेको हो ।

भदौ मसान्तमा ९ अर्ब ३५ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति असोज मसान्तमा ९ अर्ब ४८ करोड डलर पुगेको हो । साउन मसान्तमा विदेशी मुद्राको सञ्चिति ९ अर्ब ४२ करोड डलर थियो ।

नेपाल आयल निगमले भारतीय आयल निगमको करिब ३० अर्ब रुपैयाँ भुक्तानी नगरेकाले समेत पनि असोजमा शोधानान्तर स्थितिमा सुधार आउनुको साथैं विदेशी मुद्राको सञ्चिति बढेको हो ।


क्लिकमान्डु