देशभर साढे ६ हजार व्यावसायिक पशुपालन फार्म, गाईभैंसीबाट वार्षिक ७ करोड लिटर दुध उत्पादन



काठमाडौं । देशभर करिब साढे ६ हजार वटा व्यवसायिक पशुपालन फार्म भएको पाइएको छ ।

नेपालको कृषि तथ्याङ्कीय प्रणालीलाई सुदृढीकरण गर्न विश्व खाद्य तथा कृषि संगठनको आर्थिक तथा प्राविधिक सहयोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय तथ्याङ्क कार्यालय (तत्कालिन केन्द्रीय तथ्याङ्क विभाग) को संयुक्त आयोजनामा आर्थिक वर्ष २०७८/०७९ मा नेपालभरी व्यावसायिकरुपमा संचालनमा रहेका मध्यम तथा ठूला पशुपालन व्यवसायहरुको एकीकृत सर्वेक्षण, २०७८ को अध्ययनले देशभर ६ हजार ४८६ वटा व्यवसायिक पशुपालन फार्म रहेको पाइएको हो ।

सर्वेक्षण प्रयोजनको लागि मध्यम तथा ठूला पशुपालन व्यवसाय भन्नाले निश्चित मापदण्ड पूरा गरेका व्यावसायिकरुपमा सञ्चालित पशुपालन व्यवसायहरुको आधारमा अध्ययन तयार पारेको जनाएको छ ।

यस सर्वेक्षणले दर्ता गरी वा नगरी व्यावसायिकरुपले सञ्चालन गरिएका मध्यम तथा ठूला पशुपालन व्यवसायहरुलाई मात्र समेटेको छ । तर, तोकिएको न्यूनतम मापदण्डभन्दा कम संख्यामा पशुपालन गरेका साना व्यवसायहरु यस सर्वेक्षणमा समावेश नगरिएको मन्त्रालयले जनाएको छ ।

सर्वेक्षणबाट देशभर साढे ६ हजार वटा व्यावसायिक पशुपालन फार्ममध्ये सबैभन्दा गाईपालनमा संलग्न रहेको देखाएको छ ।

सर्वेक्षणअनुसार देशभर १ हजार २३३ वटा गाईपालन फार्म, ९१४ वटा भैंसीपालन फार्म, ४३ वटा राँगापालन फार्म, २ हजार २९५ वटा बाख्रा/च्याँग्रापालन फार्म, ५७२ वटा भेडापालन फार्म, ११८ वटा मासु प्रयोजनका लागि र ३६४ वटा पाठापाठी उत्पादनका लागि सुँगुरपालन फार्मरहेको पाइएको छ ।

त्यस्तै, सर्वेक्षणले नेपालमा गाई/भैंसीपालन (मिश्रित) फार्म ४८३ वटा, बाख्रा/च्याँग्रा/भेडापालन (मिश्रित) फार्म १९८ वटा रगाई/भैंसीपालन तथा बाख्रा/च्याँग्रा/भेडापालन(मिश्रित) फार्म २६५ रहेको देखाएको छ ।

यस्ता व्यावसायिक पशुपालन फार्महरु मध्ये प्रदेश नं. १ मा सबै भन्दाबढी अर्थात १ हजार २७० वटा र मधेश प्रदेशमा सबैभन्दा कम अर्थात् ४०४ वटा फार्महरु रहेको पाइएको छ ।

सर्वेक्षणबाट नेपालमा जम्मा ४४ हजार ८७३ वटा गाई/गोरुहरु व्यावसायिक रुपमा पालिएको देखाएको छ । जसमध्ये उन्नत जातका गाई/गोरुहरुको संख्या ३३ हजार ७५७ (७५%) रहेको छ ।

त्यसमध्ये दुध दिने गाईहरुको संख्या १५ हजार ३८० (६३ प्रतिशत) र नदिने ९ हजार १०४ (३७ प्रतिशत) रहेको छ । सर्वेक्षणले सबैभन्दा बढी अर्थात् ९ हजार ३६४ वटागाई/गोरुहरु बागमती प्रदेशमा र सबैभन्दा कम अर्थात् २ हजार २७४ वटा सुदूरपश्चिम प्रदेशमा रहेको देखाएको छ।

यसैगरी, यो सर्वेक्षणले नेपालमा जम्मा ३४ हजार ६५३ वटा राँगा/भैंसीहरु व्यावसायिक रुपमा पालिएको देखाएको छ । जसमध्ये उन्नत जातका राँगा/भैंसीहरुको संख्या २४ हजार ४४७ (७१ प्रतिशत) रहेको छ । त्यसमध्ये दुध दिने भैंसीहरुको संख्या १० हजार ८४१ (६१ प्रतिशत) र नदिने भैंसीहरुको संख्या ६ हजार ९३१ (३९ प्रतिशत) रहेको छ । सर्वेक्षणले सबैभन्दा बढी अर्थात् ११ हजार ४६९ वटा भैंसी गण्डकी प्रदेशमा र सबैभन्दा कम अर्थात १,६३० वटा सुदूरपश्चिम प्रदेशमा रहेको देखाएको छ ।

देशभर ३१ हजार च्याङ्ग्रा

नेपालमा जम्मा १ लाख ५० हजार ५६८ वटा बाख्राहरु व्यावसायिक रुपमा पालिएको देखाएको छ । त्यसमध्ये उन्नत जातका बाख्राहरुको संख्या ६७ हजार ६७ (४५ प्रतिशत) रहेको छ । यी उन्नत जातका बाख्राहरु मध्ये बोर जातका बाख्रा सबैभन्दा बढी अर्थात ३१,६३७ संख्यामा रहेका छन् ।

बोरपछि जमुनापारी जातका छन् । जसको संख्या २३ हजार ६६३ रहेको छ । सर्वेक्षणले सबैभन्दा बढी अर्थात ३३ हजार २१६ वटा(२२ प्रीतशत)बाख्रा प्रदेश नं. १ मा र सबैभन्दा कम अर्थात् ६ हजार ५०२ वटा (४ प्रतिशत)मधेश प्रदेशमा रहेको देखाएको छ । यसैगरी व्यावसायिक रुपमा पालिएका च्याँग्राहरुको संख्या नेपालमा ३१ हजार ७८१ रहेको सवेक्षणले देखाएको छ ।

नेपालमा व्यावसायिक रुपमा पालिएका भेडाको संख्या ८८ हजार ४२१ देखाएको छ । त्यसमध्ये बरुवाल जातका भेडा सबैभन्दा बढी अर्थात् १३ हजार ३३४ संख्यामा रहेका छन् । त्यस पछि कागे जातका संख्या ६ हजार २४८ रहेको छ । सर्वेक्षणले सबैभन्दा बढी अर्थात् ३४ हजार ९७५ वटा (४० प्रतिशत)भेडा कर्णाली प्रदेशमा र सबैभन्दा कम अर्थात् ३९५ वटा (०.४ प्रतिशत) मधेश प्रदेशमा रहेको देखाएको छ ।

नेपालमा व्यावसायिक रुपमा पालिएका सुँगुरको संख्या ३८ हजार ३६० देखाएको छ । उन्नत जातका सुँगुरहरुको संख्या ३५ हजार २३० वटा (९२ प्रतिशत) रहेको छ । सर्वेक्षणले सबैभन्दा बढी अर्थात् १६ हजार ८८४ वटा (४४ प्रतिशत)सुँगुरप्रदेश नं. १ मा र सबैभन्दा कम अर्थात् ५२८ वटा (१ प्रतिशत) मधेश प्रदेशमा रहेको देखाएको छ ।

७ करोड लिटर दुध उत्पादन

सर्वेक्षणअनुसार देशभर गाई र भैंसीबाट करिब ७ करोड लिटर दुध उत्पादन हुने गरेको पाइएको छ । जसमा गाईबाट ४ करोड ५८ लाख ३ हजार ४५७ लिटर र भैंसीबाट २ करोड ३२ लाख ३१ हजार ९१ लिटर उत्पादन हुने गरेको देखाएको छ ।

सर्वेक्षणमा १५ हजार ३८० वटा दुध दिने गाईहरु बाटदुध दिने अवधिमा ४ करोड ५८ लाख ३ हजार ४५७ लिटर दुध उत्पादन भएको देखाएको छ । जातअनुसार तुलना गर्दा होलिस्टिन/होलिस्टिनक्रसब्रिड जातको गाईबाट सबैभन्दा बढी दुध उत्पादन हुने गरेको पाइएको छ । गाईको दुध उत्पादनको दृष्टिकोणले १ करोड ३५ लाख ९८ हजार ५१० लिटर दुधको उत्पादन सहित बागमती प्रदेश अग्रणी स्थानमा रहेको पाएको छ ।

सर्वेक्षणअनुसार स्थानिय जातको गाईको सरदर दुध दिने अवधि नौ महिना र उन्नत जातको १० महिना देखाएको छ । प्रति गाई प्रति दिन सरदर १० लिटर दुध उत्पादन हुने गरेको पाएको मन्त्रालयले जनाएको छ ।

यसैगरी सर्वेक्षणले यी व्यावसायिक फार्महरुबाट २ करोड ३२ लाख ३१ हजार ९१ लिटर भैंसीको दुध उत्पादन भएको देखाएको छ । जातअनुसार तुलना गर्दा मुर्रा जातको भैंसीबाट सबैभन्दा बढी दुध उत्पादन हुने गरेको पाइएको छ ।

भैंसीको दुध उत्पादनको दृष्टिकोणले ८३ लाख ८८ हजार १८३ लिटर दुध सहित गण्डकी प्रदेश अग्रणी स्थानमा रहेको पाएको छ । भैंसीको सरदर दुध दिने अवधि नौ महिना देखाएको छ भने प्रति भैंसी प्रति दिन सरदर आठ लिटर दुध उत्पादन हुने गरेको छ । साथै, हप्तामा उत्पादित दुध मध्ये गाईको ८९ प्रतिशत र भैंसीको ८५ प्रतिशत बिक्री हुने गरेको समेत सर्वेक्षणले औंल्याएको छ।


क्लिकमान्डु