एकै वर्ष सूचना र सञ्चार प्रविधि सम्बन्धी ११ उद्योग दर्ता, अधिकांश विदेशी लगानी



काठमाडौं । पछिल्लो समय सूचना र सञ्चार प्रविधिको विकास बढ्दो क्रममा छ । हरेक दिन नयाँ-नयाँ प्रविधिको विकास हुँदै गएको छ । उक्त प्रविधिको विकाससँगै मानिसहरुको जनजीवन सहज, छिटो र छरितो हुँदै गएको छ ।

त्यस्तै, नेपाल पनि सूचना र सञ्चार प्रविधिमा धेरै अगाडि बढिसकेको छ । साथै, पछिल्लो समय नेपालमा समेत सूचना र सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको बढ्दो आकर्षण देखिएको छ ।

विगतमा केही संख्यामा मात्रै सूचना र सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरु दर्ता हुन्थ्यो । तर, पछिल्ला दिनहरुमा उद्योग दर्ता गर्नेको संख्या बढ्दो क्रममा रहेको उद्योग विभागको तथ्याङ्कले देखाउँछ ।

आर्थिक वर्ष २०७७/७८ मा ८० करोड रुपैयाँ कुल पुँजीसहित देशभर सूचना प्रविधि सम्बन्धी ६ वटा उद्योगमात्रै विभागमा दर्ता भएका थिए । दर्ता भएको अधिकांश उद्योग विदेशी लगानीमा आधारित थिए ।

उद्योग विभागअनुसार सो वर्ष टिअन्यिङ्ग टेक्नोलोजी प्रालि, सिम्पल डाटा प्रालि र रोजबे सफ्टवेयर सिस्टम्स प्रालि ५/५ करोड कुल पुँजीसहित दर्ता भएका थिए । त्यस्तै, हाउजेङ बिजनेश हब प्रालिको कुल पुँजी १५ करोड थियो भने गेङ्ग लि सफ्टवेयर डेभलपमेन्ट प्रालि र मिमि चाईनिज सफ्टवेयर डेभलपमेन्ट प्रालि २५/२५ करोड कुल पुँजीसहित दर्ता भएका थिए ।

आव २०७७/७८ मा ६ वटा मात्रै सूचना प्रविधि सम्बन्धी उद्योग दर्ता भएकोमा आव २०७८/७९ मा बढेर ११ वटा दर्ता भएको विभागले जनाएको छ । गत वर्ष करिब २ अर्ब कुल पुँजीसहित ११ वटा सूचना र सञ्चार सम्बन्धी कम्पनी दर्ता गरेका छन् ।

दर्ता गरेका उद्योगमध्ये अधिकांश विदेशी लगानीका छन् । साथै, पछिल्लो समय स्वदेशी लगानीकर्ता पनि यस क्षेत्रतर्फ आकर्षित भएको देखिन्छ । गत वर्ष ११ वटा सूचना प्रविधि सम्बन्धी उद्योग दर्ता हुँदा ७ वटा विदेशी लगानीका छन् भने ४ वटा स्वदेशी लगानीका छन् ।

विभागअनुसार गत वर्षको शुरुमा १५ करोड कुल पुँजी लगानीसहित मिदास एजुकेशन प्रालि दर्ता भएको छ । उक्त उद्योग पूर्ण स्वदेशी लगानीको छ । कम्पनीले ५६ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ ।

विदेशी लगानीमा दर्ता भएको डियरहोल्ड नेपाल प्रालिले ५ कुल पुँजीको छ । कम्पनीले ११० जनालाई रोजगारी दिने भएको छ । कम्पनीले सफ्टवेयर विकासको काम गर्नेछ ।

त्यस्तै, १ अर्ब रुपैयाँ कुल पुँजीसहित प्रभु डिजिटल लिमिटेड उद्योग दर्ता भएको छ । स्वदेशी लगानी रहेको कम्पनीले डिजिटल टेरिट्रियल टेलिभिजन ब्रोडकास्टिङ सञ्ञ्चालन गर्नेछ । जसको सब्स्क्राइबार ग्राहक १ लाख छन् । कम्पनीले १८१ जनालाई रोजगारी दिनेछ ।

५ करोड विदेशी लगानीसहित रिडक्ट भिडियो नेपाल प्रालि दर्ता भएको छ । कम्पनीले १२५ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ ।

त्यसैगरी, ५ करोड रुपैयाँ कुल पुँजीस यसडियस सफ्टवेयर डेभलपमेन्ट प्रालि उद्योग दर्ता भएको छ । विदेशी लगानी रहेको उद्योगले ५८ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ ।

विदेशी लगानीमा दर्तामा भएको साउथ एसिया इन्टरनेट टेक्नोलोजी कम्पनी प्रालिले २० जनालाई रोजगारी दिने प्रतिबद्धतासहित उद्योग दर्ता गरेको छ । कम्पनीको कुल पुँजी १० करोड रुपैयाँ रहेको छ ।

अनलाइनमार्फत् विज्ञापन गरी रोजगारी प्रदान गर्ने उद्देश्यसहित १० करोड ८५ लाख कुल पुँजीसहित रोजगारी सर्भिसेज प्रालि दर्ता भएको छ । स्वदेशी लगानी रहेको कम्पनीले ४३ जनालाई रोजगारी दिनेछ । कम्पनीको देशभर ७० हजार अनलाइन, सफ्टवेयर र एप ग्राहक छन् ।

त्यस्तै, कुल पुँजी १२ करोड रुपैयाँ लगानीमा कुराकानी अनलाइन प्रालि दर्ता भएको छ । कम्पनीले सफ्टवेयर विकासमा काम गर्नेछ भने ४१ जनाले रोजगारी प्रतिबद्धता जनाएको छ ।

सफ्टवेयर विकास, वेबपेज डिजाइन गर्ने उद्देश्यसहित १५ करोड विदेशी लगानीमा हाउजेङ बिजनेश हब प्राइभेट लिमिटेड विभागमा दर्ता भएको छ । कम्पनीले १७० जनालाई रोजगारी दिनेछ ।

त्यस्तै, अनलाइनमा डाटा इन्ट्री, डाटा एनालाइसिस र रिपोर्ट बनाउने कार्य गर्नका लागि ७ करोड रुपैयाँ विदेशी लगानीमा स्मार्टमुभ नेपाल प्रालि दर्ता भएको छ । कम्पनीले वार्षिक ७ हजार फाइलको काम गर्नेछ । कम्पनीमा २३ जनाले रोजगारी दिने प्रतिबद्धता जनाएको छ ।

साथै, ५ करोड विदेशी लगानीमै सूचना र सञ्चार प्रविधि सम्बन्धी कार्य गर्ने लाइटहाउस नेपाल इन्फोटेक प्रालि दर्ता भएको छ । कम्पनीले वार्षिक ७ करोड ६८ लाख रुपैयाँ आम्दानी गर्ने जनाएको छ । कम्पनीमा ६२ जनाले रोजगारी पाउने प्रतिबद्धता जनाएको छ ।

साढे ३ महिनामा ३१ करोड लगानीको प्रतिबद्धता

त्यसैगरी, चालु आर्थिक वर्षको साढे ३ महिनाको अवधिमा ३१ करोड रुपैयाँ लगानी प्रतिबद्धतासहित ४ वटा सूचना तथा सञ्चार सम्बन्धी उद्योग दर्ता भएको छ । दर्ता भएको उद्योगमध्ये एउटा उद्योग मात्रै स्वदेशी लगानीको छ भने बाँकी ३ वटा विदेशी लगानीको छ ।

चालु आर्थिक वर्षको शुरुमा विदेशी लगानीमा ५ करोड कुल पुँजीसहित ग्रीन इन्टेलीजेन्स नेपाल दर्ता भएको छ । कम्पनीले ६५ जनालाई रोजगारी दिनेछ ।

त्यस्तै, १६ करोड रुपैयाँ स्वदेशी लगानीमा विञापन टेक प्रालि दर्ता भएको छ । कम्पनीले ४१ जनालाई रोजगारी दिनेछ ।

मेन्टर फ्रेण्ड्स प्रालि र क्यूनिभर्स प्रालि ५/५ करोड कुल पुँजीसहित दर्ता भएका छन् । विदेशी लगानी रहेको कम्पनीले क्रमशः २२ जना र १०१ जनालाई रोजगारी दिनेछ ।


क्लिकमान्डु