धर्मपुत्र वा धर्मपुत्री भएको व्यक्तिले आफूलाई जन्माउने बाबु आमाको सम्पत्तिमा अंश दाबी गर्न पाउँछ ?



काठमाडौं । कुनै व्यक्तिले अन्य व्यक्तिको छोरा वा छोरीलाई आफ्नो छोरा वा छोरीको रूपमा स्वीकार गरेको व्यक्ति धर्मपुत्र वा धर्मपुत्री मानिन्छ ।

सरकारले मुलुकी देवानी संहिता, २०७४ मा र्धमपुत्र वा धमपुत्री सम्बन्धी व्यवस्था गरेको छ । धर्मपुत्र वा धर्मपुत्री राख्दा बालबालिकाको सर्वोत्तम हक र हित हुने गरी धर्मपुत्र वा धर्मपुत्री राख्नु पर्नेछ ।

तर, कुनै पनि व्यक्तिसँग छोरा हुनेले धर्मपुत्र र छोरी हुनेले धर्मपुत्री राख्न पाउने छैन । न्यायिक पृथकीकरण गरी भिन्न बसेको महिला वा पुरुषसँग छोराछोरी सँगै नबसेमा यस्ता पुरुष वा महिलाले धर्मपुत्र वा धर्मपुत्री राख्न पाउनेछन् ।

आफ्ना छोरा वा छोरी हुने कुनै व्यक्तिले अन्य बालबालिकालाई पालनपोषण, स्वास्थ्य, शिक्षा तथा हेरचाहको व्यवस्था गर्न सक्ने आर्थिक हैसियत खुलाई धर्मपुत्र वा धर्मपुत्री राख्नको लागि सम्बन्धित जिल्ला अदालतमा निवेदन दिएमा र त्यस्तो निवेदन जाँचबुझ गर्दा निवेदकमा त्यस्तो हैसियत रहेको देखिएमा अदालतले निवेदकलाई धर्मपुत्र वा धर्मपुत्री राख्न अनुमति दिन सक्नेछ ।

सरकारले व्यवस्था गरेअनुसार विवाह भएको १० वर्षसम्म पनि छोरा वा छोरी नहुने दम्पति, ४५ वर्ष उमेर पूरा भएकी अविवाहिता, विधवा, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेकी छोरा वा छोरी नहुने महिला र ४५ वर्ष उमेर पूरा भएको अविवाहित, विधुर, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेको छोरा वा छोरी नहुने पुरुष कुनै व्यक्तिले बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्नेछन् ।

तर, ठोस ठेगानमा नभएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरिएकोे र नाबालकलाई पालनपोषण, स्वास्थ्य, शिक्षा, खेलकुद, मनोरञ्जन तथा हेरचाहको व्यवस्था गर्न सक्ने आर्थिक हैसियत नभएको कुनै व्यक्तिले धर्मपुत्र वा धर्मपुत्री राख्न सक्ने छैन ।

त्यसैगरी, १४ वर्ष उमेर पूरा गरेको, एउटा मात्र छोरा वा छोरीको रूपमा रहेको, एकपटक धर्मपुत्र वा धर्मपुत्रीको रूपमा लिइएको, धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिभन्दा माथिल्लो नाताको र गैरनेपाली नागरिकलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा लिन वा दिन हुँदैन ।

तर विदेशी नागरिकता प्राप्त गरेको गैरआवासीय नेपाली नागरिकको हकमा यस खण्डको व्यवस्था लागू हुने छैन ।

तीन पुस्ताभित्रको नाताको व्यक्ति वा पत्नीको पूर्वपति तर्फ छोरा वा छोरी भएमा १४ वर्ष नाघेको व्यक्तिलाई पनि धर्मपुत्र वा धर्मपुत्री राख्न सकिनेछ । धर्मपुत्र वा धर्मपुत्री हुने र धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको उमेर कम्तीमा २५ वर्ष फरक हुनु पर्नेछ । तीन पुस्ताभित्रको नाताको व्यक्तिलाई धर्मपुत्र वा धर्मपुत्री राख्दा उमेरको बन्देज लाग्ने छैन ।

कसैले कुनै बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्दा त्यस्तो बालबालिकाका बाबु र आमा दुबै जीवित भए दुवै जनाको र बावु र आमामध्ये कुनै एक मात्र जीवित भए जीवित बाबु वा आमाको लिखित सहमति लिनु पर्नेछ ।

पति र पत्नीबीच वैवाहिक सम्बन्ध अन्त्य भई वा न्यायिक पृथकीकरण भएको कारणबाट बावु र आमा अलग भएकोमा त्यसरी सम्बन्ध अन्त्य हुँदा वा न्यायिक पृथकीकरण हुँदा भएको सहमति बमोजिम त्यस्तो बाबु वा आमासँग बसेका बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्दा त्यस्तो बालबालिका बाबु वा आमामध्ये जोसँग निज बसेको छ सोही बाबु वा आमाको सहमति लिनु पर्नेछ ।

बाबु आमा पत्ता नलागेको, जीवित नभएको वा बाबु आमा जीवित भए पनि बाबु वा आमाले अर्को विवाह गरी त्यस्तो बालबालिकालाई अन्य कुनै व्यक्ति वा संस्थाले पालनपोषण वा हेरविचार गरेको रहेछ भने यसरी पालनपोषण वा हेरविचार गर्ने व्यक्ति वा संस्थाको लिखित सहमति लिई त्यस्ता बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्न सकिनेछ ।

१० वर्ष नाघेका बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्दा निजको समेत लिखित सहमति लिनु पर्नेछ । लिखित सहमति सम्बन्धित बालबालिकाले आफ्नो बाबु आमा वा मातृक तथा पैत्रिक अख्तियारी प्रयोग गर्ने संरक्षक वा माथवरको रोहवरमा गर्नु पर्नेछ ।

सहमति लिनुअघि धर्मपुत्र वा धर्मपुत्री दिने व्यक्ति, संरक्षक वा माथवर तथा बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्रीको अर्थ, कानूनी हैसियत र त्यसको परिणाम समेतको विषयमा जानकारी गराउनु पर्नेछ ।

सहमति लिँदा कुनै किसिमको आर्थिक प्रलोभनमा पार्नु हुँदैन र त्यस्तो सहमति स्वेच्छाले दिएको हुनु पर्नेछ ।

कुनै पति वा पत्नीले न्यायिक पृथकीकरण गरी बसेको अवस्थामा धर्मपुत्र वा धर्मपुत्री राखेकोमा पछि पति पत्नी दुवै सगोलमा बसेमा त्यसरी बस्नुभन्दा अघि राखेको धर्मपुत्र वा धर्मपुत्री दुवै दम्पतिले राखेको मानिनेछ ।

कसैले कुनेै बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्न चाहेमा कानूनको रीत पुर्याई धर्मपुत्र वा धर्मपुत्रीको लिखत सहित सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनु पर्नेछ । धर्मपुत्र वा धर्मपुत्रीको लिखत जाँचबुझ गर्दा निवेदकलाई धर्मपुत्र वा धर्मपुत्री राख्न दिन हुने देखेमा सम्बन्धित अदालतले धर्मपुत्र वा धर्मपुत्री राख्ने आदेश दिई त्यस्तो लिखत प्रमाणीकरण गर्नु पर्नेछ ।

धर्मपुत्र वा धर्मपुत्रीको हक, अधिकार, दायित्व र जिम्मेवारी धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको छोरा वा छोरी सरह हुनेछ । कसैले कुनै व्यक्तिलाई धर्मपुत्र वा धर्मपुत्री राखिसकेपछि निजको छोरा वा छोरी जन्मिए पनि त्यस्ता धर्मपुत्र वा धर्मपुत्रीको छोरा वा छोरी सरहको हैसियतमा कुनै असर पर्ने छैन ।

धर्मपुत्र वा धर्मपुत्री भएको व्यक्तिले धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्ने बाबु वा आमा वा दुवैको थर प्रयोग गर्न सक्नेछ । तर, धर्मपुत्र वा धर्मपुत्री हुने व्यक्तिले चाहेमा निजलाई जन्माउने बाबु आमाको थर समेत प्रयोग गर्न सक्नेछ । धर्मपुत्र वा धर्मपुत्री बदर भएमा निजको थर निजलाई जन्माउने बाबु वा आमाको हुनेछ ।

त्यस्तै, कुनै धर्मपुत्र वा धर्मपुत्री भएको व्यक्तिले आफूलाई जन्माउने बाबु आमाको अंशमा दाबी गर्न पाउने छैन ।

तर, धर्मपुत्र वा धर्मपुत्री बदर भएकोमा निजले बाबु आमाको अंशमा दाबी गर्न पाउनेछ । साथै, धर्मपुत्र वा धर्मपुत्री हुँदाका बखत निजले अंश लिइसकेको भए निजले त्यस्तो सम्पत्ति समेत लिन पाउनेछ ।

धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिले पूरा नगरेमा धर्मपुत्र वा धर्मपुत्रीले आफ्नो अंश छुट्याई भिन्न हुन सक्नेछ । धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिले धर्मपुत्र वा धर्मपुत्रीलाई समय समयमा निजको जन्म दिने बाबु आमालाई भेटघाट तथा पत्राचार गर्ने सुविधा दिनु पर्नेछ ।


क्लिकमान्डु