तीन महिनामा साढे १६ करोडको अम्रिसो निर्यात, वार्षिक २ अर्बको उत्पादन



काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा नेपालले साढे १६ करोड रुपैयाँको अम्रिसो निर्यात गरेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १६ करोड ६१ लाख ३८ हजार रुपैयाँको ३३ लाख २६ हजार केजी अम्रिसो निर्यात गरेको देखाउँछ ।

नेपालले उक्त मूल्य बराबरको अम्रिसो भारतमा मात्रै निर्यात गरेको छ । नेपालले गत वर्षको ३ महिनाको अवधिमा १४ करोड ६६ लाख ७२ हजार रुपैयाँको २९ करोड ६७ लाख ५३० केजी अम्रिसो निर्यात गरेको थियो । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको तीन महिनाको अवधिको निर्यात बढेको देखिन्छ ।

साथै, नेपालले गत आर्थिक वर्षमा करिब ७० करोड रुपैयाँको १ करोड ४० लाख ७९ केजी अम्रिसो निर्यात गरेको थियो ।

त्यस्तै, सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् अम्रिसो निर्यातमा अनुदानको व्यवस्था गरेको छ । सरकारले निर्यात अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७५ लाई संशोधन गरी थप ९ वस्तुलाई अनुदान पाउने व्यवस्था गरेको छ । उक्त अनुदान प्रदान गर्ने वस्तुमा अम्रिसो पनि एक हो ।

तर, सरकारले कार्यविधि संशोधन गरी अम्रिसो निर्यातमा अनुदान प्रदान गरेपनि अहिले व्यवसायीहरुले उक्त अनुदान पाएका छैनन् । सरकारले भारतबाहेक अन्य तेस्रो मुलुकमा निर्यात गरे मात्रै अनुदान पाउने व्यवस्था गरेको छ ।

सरकारले अहिले निर्यात अनुदान दिन नसकेपनि कुच्चा निर्यात पनि सम्भावित क्षेत्र हो भनी ध्यानाकर्षण गराउन सफल भएको नेपाल कुच्चो संघका अध्यक्ष राजकुमार कार्की बताउँछन् ।

उनकाअनुसार नेपालको व्यापारघाटा कम गर्न कुच्चोको ठूलो योगदान रहेकाले सरकारले यस क्षेत्रमा प्रोत्साहन गर्न आवश्यक छ ।

नेपालको आन्तरिक उत्पादित वस्तुको निर्यातको अवस्था निकै कमजोर छ । त्यसमा अहिले किसानबाट उत्पादन भइरहेको अम्रिसो उच्च निर्यात भइरहेको छ । जुन निकै सकारात्मक हो ।

‘नेपालमा अम्रिसो माघ, फागुनमा उत्पादन हुन्छ । उक्त उत्पादन भएको अम्रिसो दशैं र तिहारमा बढी माग हुने भएकाले सोहीअनुसार भारतमा निर्यात भएको देखिन्छ,’ उनले क्लिकमाण्डूसँग भने । अहिले निर्यात भएको अम्रिसो विगतको दिनमा मौज्दातमा रहेको निर्यात भएको उनको भनाइ छ ।

अध्यक्ष कार्कीअनुसार नेपालमा अम्रिसो खेतीको ठूलो सम्भावना छ । नेपालले अहिले वार्षिक ८० करोड हाराहारीको निर्यात गर्दै आएकोमा आगामी दिनमा उत्पादनमा जोड दिई निर्यात गर्ने सक्नेछन् ।

नेपालले वार्षिक ८० करोड रुपैयाँको निर्यात गर्दै आएको छ भने आन्तरिक खपत नै डेढ अर्बको रहेको संघले जनाएको छ । ‘नेपालमा अहिले नै २ अर्बको उत्पादन क्षमता छ,’ उनले भने, ‘आगामी दिनमा अझै खेती विस्तार गर्ने हो भने ३,४ अर्बको उत्पादन क्षमता छ । ’

अहिले विशेषगरी सबैभन्दा बढी इलाम जिल्लाबाट अम्रिसो उत्पादन हुँदै आएको छ । त्यसैगरी, संखुवासभा, पाँचथर, काभ्रे, सिन्धुली, दोलखा, धादिङलगायत अन्य जिल्लामा उच्च उत्पादन हुन्छ ।

अम्रिसो खेती विस्तारले अम्रिसो मात्रै नभएर घाँसमा पनि ठूलो योगदान रहेकाले निकै लाभदायी वस्तु रहेको अध्यक्ष कार्कीको भनाइ छ । ‘नेपालमा गर्मीको मौसममा हरियो घाँसहरु पाइदैन । त्यो बेला उत्पादित अम्रिसोको घाँसको रुपमा प्रयोग गर्न सकिन्छ,’ उनले भने ।

सरकारले सहज गरे बंगलादेश निर्यात गर्न सकिने

अहिले अम्रिसो निर्यात भारतमा मात्रै सिमित भएकाले सरकारले बंगलादेश सरकारसँग वार्ता गरी सहज वातावरण निर्माण गरे बंगलादेशमा निर्यात गर्न सकिने कार्कीले जिकिर गरे । बंगलादेशमा भारतको तुलनामा अम्रिसो निर्यातको कर निकै उच्च छ ।

‘बंगलादेशमा अम्रिसो निर्यातका लागि ५१ प्रतिशत कर लाग्छ । यसमा सरकारले बंगलादेश सरकारसँग वार्ता गरी कर घटाउने हो भने उक्त देशमा अम्रिसोको ठूलो बजार बन्नेछ,’ उनले भने ।

त्यस्तै, अन्य देशका लागि विभिन्न देशको प्रविधि र माहोलको बारेमा अध्ययन गर्नुपर्ने उनको भनाइ छ । अन्य देशले अम्रिसो कम प्रयोग गर्ने भएकाले भारतपछि सबैभन्दा ठूलो बजार नै बंगलादेश रहेको उनको दाबी छ ।

अहिले देशभर ११ जिल्लामा डेढ सयभद्यना बढी किसान तथा व्यवसायीहरु संघमा आबद्ध छन् । संघले आगामी दिनमा अम्रिसो उत्पादनमा खेती विस्तार गरी निर्यातमा ठूलो योगदान पुर्याउने योजना बनाएको उनले बताए ।


अरिष्मा मोक्तान