गुठीको जग्गा किनबेच तथा भोगचलन गर्न पाइन्छ ?
काठमाडौं । गुठी भन्नाले कुनै मठ वा कुनै देवी–देवताको पर्व पूजा वा जात्रा चलाउन वा कुनै धार्मिक वा परोपकारी कामको लागि कुनै मन्दिर, देवस्थल, धर्मशाला, पाटी–पौवा, इनार, पोखरी, तलाउ, धारा, पियाउ, बाटो, घाट, पुल, चौतारा, गौचरण, बाग बगैंचा, जंगल, पुस्ताकलय, पाठशाला, औषधीलय, चिकित्सालय घर, इमारत वा संस्था बनाउने, चलाउन वा त्यसको संरक्षण गर्न कुनै दाताले आफ्नो चल अचल सम्पत्ति वा आयस्ता आउने अरु कुनै सम्पत्ति वा रकममा आफ्नो हक छाडेको जग्गालाई गुठीको जग्गा सम्झनुपर्छ ।
त्यस्तै, सरकारले कसैले आफ्नो हक, भोग र स्वामित्वको सम्पत्ति हितग्राहीको लागि अरु कसैबाट सञ्चालन र व्यवस्थापन गर्ने गरी आवश्यक बन्दोबस्त गरेकोमा गुठी स्थापना भएको मानिनेछ ।
जसमा सरकारले मुलुकी देवानी (संहिता)ऐन २०७४ अनुसार गुठी दुई प्रकारको रहेको उल्लेख छ । सरकारले सार्वजनिक गुठी र निजी गुठी गरी दुई प्रकारको हुने ऐनमा समावेश गरेको छ ।
आर्थिक विकासका पूर्वाधार वा अन्य विकास सम्बन्धी कामको लागि प्रयोग हुने कोषको स्थापना, सञ्चालन तथा प्रयोग गर्ने, निम्न आय भएका व्यक्तिहरूको सीप विकास तथा रोजगारीको अवसरको सिर्जना तथा विकासको कार्य गर्न आवश्यक कोषको स्थापना तथा सञ्चालन गर्ने र सामाजिक कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने जस्ता ठाउँलाई सार्वजनिक गुठी भनिन्छ ।
त्यसैगरी विद्यालय, महाविद्यालय, विश्वविद्यालय जस्ता सर्वसाधारणको लागि उपयोगी हुने शैक्षिक तथा प्राज्ञिक संस्थाहरू स्थापना गरी सञ्चालन गर्ने, अस्पताल वा स्वास्थ्य चौकी जस्ता सार्वजनिक प्रयोजनको लागि चिकित्सालय स्थापना गरी सञ्चालन गर्ने, प्राकृतिक, ऐतिहासिक वा साँस्कृतिक सम्पदाको संरक्षण वा त्यस्तो कार्यको प्रवद्र्धन गर्ने, वन्य जन्तु, जलचर वा वातावरणीय संरक्षणका कार्यक्रम सञ्चालन गर्ने, विभिन्न वर्ग, समूह वा समुदायको हित संरक्षण, कल्याण वा उत्थानको लागि कार्यक्रम सञ्चालन गर्ने, खेलकुद सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, सेवामुखी कल्याणकारी कार्य गर्ने, उद्दार कार्य सञ्चालन गर्ने, मठ, मन्दिर, गुम्बा, चैत्य, मस्जिद, गिर्जाघर वा त्यस्तै अन्य धार्मिक कृत्य गर्ने, सार्वजनिक हितको लागि अन्य सार्वजनिक कार्यक्रमहरू सञ्चालन गर्न प्रयोग भएको गुठी सार्वजनिक गुठी मानिन्छ । ।
तर, कुनै खास व्यक्ति वा समूह विशेषलाई हित, लाभ वा सुविधा पु¥याउने उद्देश्यले राखिएको गुठी निजी गुठी मनिन्छ । सार्वजनिक र निजी दुवै उद्देश्य पूरा गर्नको लागि कुनै गुठी स्थापना भएकोमा त्यस्तो गुठी सार्वजनिक गुठी भनिन्छ ।
कुनै गुठी स्थापना गर्न चाहने व्यक्तिले विवरणहरू खुलाई पञ्जिकाधिकारी समक्ष निवेदन दिई गुठी सञ्चालन गर्न पाउने व्यवस्था पनि सरकारले व्यवस्था गरेको छ । उक्त गुठी स्थापनाका लागि सम्पत्तिको सम्पूर्ण विवरणसहित आवश्यक कागजात पेश गर्नुपर्नेछ ।
कुनै व्यक्तिले आफ्नो हक, भोग र स्वामित्वको सम्पत्ति निजको मौखिक व्यवहार, आचरण वा निजको शेष पछि प्रभावकारी हुने गरी दान बमोजिम गुठीको रूपमा सञ्चालन तथा व्यवस्थापन हुने व्यवस्था गरेको रहेछ भने त्यस्तो व्यवहार, आचरण वा दान बमोजिम नै गुठी स्थापना भएको मानिनेछ ।
तर कानून बमोजिम हक हस्तान्तरण हुन रजिष्ट्रेशन पारित गर्नु पर्ने सम्पत्तिको हकमा तत्सम्बन्धी लिखत पारित भएको हुनु पर्नेछ ।
कुनै विदेशी व्यक्तिले गुठी स्थापना गर्न चाहेमा प्रकृया पूरा गरी निवेदन दिनु पर्नेछ । त्यसरी स्थापना गर्ने गुठीमा विदेशी व्यक्ति संस्थापक हुन सक्नेछ ।
तर दफा ३१५ को उपदफा (२) को खण्ड (ठ) बमोजिमको उद्देश्य पूरा गर्न विदेशी व्यक्तिले गुठी स्थापना गर्न सक्ने छैन ।स्थापना भएको गुठीको सञ्चालकमध्ये कम्तीमा एक तिहाई सञ्चालक नेपालमा स्थायी बसोबास गरेको नेपाली नागरिक हुनु पर्नेछ।
त्यस्तै, सरकारले दर्ता गरेर मात्रै गुठी सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ । तर, निजी गुठी दर्ता बिना पनि सञ्चालन गर्न सकिनेछ ।
नेपालमा गुठी स्थापना गर्ने विदेशी व्यक्तिले तीन महिनाभित्र कम्तीमा दश लाख अमेरिकी डलर बराबरको चल सम्पत्ति नियमित बैङ्किङ्ग प्रक्रिया (रेगुलर बैङ्किङ्ग च्यानल) बाट नेपाल ल्याई गुठी सञ्चालकको जिम्मा लगाउनु पर्नेछ । उक्त चल सम्पत्ति जिम्मा लगाएको जानकारी पञ्जिकाधिकारीलाई दिनु पर्नेछ ।
सम्पत्ति सञ्चालन र व्यवस्थापन गर्दा संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोबाहेक अचल सम्पत्ति वा त्यसको कुनै अंश सम्बन्धित पञ्जिकाधिकारीको पूर्व स्वीकृति बिना बिक्री गर्न, बन्धकी दिन वा अन्य कुनै किसिमले हक हस्तान्तरण गर्न सकिने छैन।
संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक उपदफा (१) र (२) बमोजिम गुठी सम्पत्तिको सञ्चालन र व्यवस्थापन गर्दा गुठीको उद्देश्य पूरा गर्न तत्काल आवश्यक नपर्ने सम्पत्तिबाट प्राप्त भएको आर्जन वापतको रकम गुठीको उद्देश्य पूरा गर्न लगानी गर्न सकिनेछ ।
लगानी गर्दा तत्काल लगानी गर्ने कूल रकमको कम्तीमा २५ प्रतिशत रकम नेपाल सरकार वा नेपाल राष्ट्र बैङ्कले जारी गरेको ऋणपत्र, बचतपत्र (टे«जरी बिल) वा नेपाल सरकारबाट जमानत प्राप्त ऋणपत्र खरिद गरेर, बढीमा २५ प्रतिशत रकम वाणिज्य बैङ्कको मुद्दति खातामा जम्मा गरेर, १० प्रतिशत रकम विकास बैङ्कको मुद्दति खातामा जम्मा गरेर, बढीमा पाँच प्रतिशत रकम वाणिज्य बैङ्कको साधारण शेयर खरिद गरेर, बढीमा १० प्रतिशत रकम वित्त कम्पनीको मुद्दति खातामा जम्मा गरेर र बढीमा पाँच प्रतिशत रकम सूचीकृत पब्लिक लिमिटेड कम्पनीको खुला रूपमा कारोबार हुने साधारण शेयर खरिद गरेर सो अनुपातमा लगानी गर्न सकिनेछ ।
लगानी सम्बन्धमा गुठी सञ्चालकले समय समयमा अनुगमन गर्नु पर्नेछ र त्यसरी अनुगमन गर्दा एक क्षेत्रमा भएको लगानीको प्रतिफल कम हुने देखिएमा लगानीका शर्त बन्देजको अधीनमा रही त्यस्तो लगानी झिकी बढी प्रतिफल हुने अर्को क्षेत्रमा लगानी गर्न सकिनेछ ।
सरकारले हितग्राहीको हित प्रतिकूल हुने गरी गुठी सम्पत्तिको भोगचलन गर्न नहुने व्यवस्था गरेको छ । गुठी सञ्चालकले गुठीको सम्पत्ति हितग्राहीको हित प्रतिकूल हुने गरी आफ्नो वा अरू कसैको लागि भोगचलन वा प्रयोग गर्न हुँदैन ।
गुठीको सम्पत्ति उपयुक्त ढंगबाट व्यवस्थापन नभएमा, ठगी वा जालसाजी भएमा, हिनामिना भएमा वा गुठीको उद्देश्य पूरा नगरी गुठी सम्पत्तिको अन्यत्र उपयोग भएमा कुनै संस्थापक वा हितग्राहीले संस्थापनापत्रमा उल्लिखित व्यवस्थाको अधीनमा रही गुठी सम्पत्ति त्यसरी हिनामिना हुनबाट रोक्न अदालतमा उजुरी गर्न सक्नेछ । तर सार्वजनिक गुठीको हकमा जोसुकैले पनि उजुरी गर्न सक्नेछ ।
गुठी सम्पत्ति व्यवस्थापन नभएको, ठगी, जालसाज वा हिनामिना भएको वा अन्यत्र उपयोग भएको ठहर भएमा अदालतले हिनामिना गर्नेबाट बिगो असुल उपर गर्नेछ र गुठी सञ्चालकले त्यसरी हिनामिना गरेको रहेछ भने निजबाट त्यस वापत क्षतिपूर्ति समेत भराउन सक्नेछ ।
त्यसैगरी निजी गुठीको हकमा करार गर्न योग्य भएको हितग्राहीले गुठी सम्पत्तिबाट प्राप्त गर्ने आफ्नो हक, लाभ, सुविधा वा हित गुठी सञ्चालक र पञ्जिकाधिकारीलाई लिखित रूपमा सूचना दिई आंशिक वा पूरै त्याग गर्न सक्नेछ । गुठी सम्पत्ति दर्ता स्रेस्तामा गुठी जनाई संस्थापनापत्रमा उल्लेख भए बमोजिमको व्यक्तिको नाममा रहनेछ र संस्थापनापत्रमा स्वामित्व रहने व्यक्ति उल्लेख नभएकोमा हितग्राही व्यक्तिको नाममा रहनेछ ।
गुठी जुन उद्देश्य र प्रयोजनका लागि संस्थापना भएको थियो सोही उद्देश्य र प्रयोजनका लागि पूर्ववत रूपमा व्यवस्थापन र सञ्चालन गर्नु पर्नेछ । सोही बमोजिमको उद्देश्य र प्रयोजन पूरा गरी बाँकी रहेको सम्पत्ति वा आम्दानी भोग चलन गर्न वा धितो बन्धक राख्न सकिनेछ । संस्थापना भएका गुठीको उद्देश्य र प्रयोजनमा प्रतिकूल असर नपर्ने गरी गुठीको सम्पत्ति खरिद बिक्रि गर्न सकिनेछ ।
खरिद गरि लिने व्यक्तिले जुन प्रयोजनका लागि गुठी संस्थापना भएको हो सोही उद्देश्य र प्रयोजनका निमित्त सम्पत्ति प्रयोग गर्नु पर्नेछ ।
सरकारी जग्गा प्राप्त गरी कुनै खास प्रयोजनका लागि उपदफा (१) बमोजिमको गुठी संस्थापना वा सञ्चालन गरेको भए त्यस्तो जग्गा जुन प्रयोजनका लागि गुठी सञ्चालन भएको थियो ।
त्यस्तो उद्देश्य र प्रयोजन पूरा गर्न प्रयोग गर्नु पर्नेछ र त्यस्तो जग्गा गुठी राख्ने वा निजका सन्तान वा हकवालाले भोगचलन गर्न पाउने छैन । व्यक्तिले त्यस्तो गुठीको उद्देश्य र प्रयोजन पूरा नगरेमा जुन व्यक्तिले त्यस्तो उद्देश्य र प्रयोजन पूरा गरेको छ सोही व्यक्तिले त्यस्तो जग्गा भोगचलन गर्न पाउनेछ ।
त्यस्तै, कुनै लिखत नभई उपदफा (१) बमोजिमको गुठी कसैले निरन्तर रूपमा १६ वर्ष वा सोभन्दा बढी अवधि देखि सञ्चालन गर्दै आएको रहेछ भने त्यस्तो गुठीको उद्देश्य र प्रयोजन पूरा गरी त्यसको सम्पत्ति निजले भोगचलन गर्न सक्नेछ ।