उखु खेती घट्दै जाँदाको प्रत्यक्ष असर चिनी उद्योगमा, व्यापार आधाले घट्यो



काठमाडौं । पछिल्लो समय उखु खेतीमा किसानहरुको आकर्षण घट्दै गएको छ । विगतको दिनमा ८० हजारभन्दा बढी हेक्टरमा उखु खेती हुँदै आएकोमा पछिल्ला दिनहरुमा उखु खेती घट्दै गएको विभिन्न तथ्याङ्कले देखाउँछ ।

तराईका सर्लाही, रौतहट, महोत्तरी, सिराहा, बारा र धनुषालगायत अन्य जिल्लाहरूमा उखु खेती हुँदै आएको छ । उक्त जिल्लाहरुको किसानहरुले विगतको दिनमा उच्च उखु खेती उत्पादन गर्दै आएका थिए । तर, पछिल्ला दिनहरुमा सो क्षेत्रका किसानहरू उखु खेतीबाट विस्थापन हँदै गएपछि उत्पादन घट्दै गएको सरकारी तथ्याङ्कले देखाउँछ ।

उखु खेतीप्रतिको आकर्षण घट्दै जानुमा समयमै उद्योगीहरुबाट उखुको बक्यौता नपाउनु र समयमै मल नपाएको मुख्य कारण मानिएको छ । हरेक वर्ष उच्च उखु खेती गर्दै आएका किसानहरूले समयमै बक्यौता नपाउँदा किसानहरू पटक–पटक आन्दोलनका लागि काठमाडौं आउने गरेका छन् । जसले गर्दा पछिल्लो समय उद्योगीहरुले उखु प्रशोधनमा लगेपनि उखुको रकम नपाएपछि खेतीबाट विस्थापन हुँदै गएको पाइन्छ ।

आर्थिक वर्ष २०७२/७३ मा ८१ हजार हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएको उखु खेती अहिले ६४ हजार हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयलअनुसार आव आव २०७२/७३ मा ८१ हजार हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएकोमा आव २०७३/७४ मा आइपुग्दा ७१ हजार हेक्टर क्षेत्रफलमा उत्पादन भएको देखिन्छ ।

त्यस्तै, आव २०७५/७५ मा ७८ हजार हेक्टर क्षेत्रफलमा, आव २०७५/७६ मा ७१ हजार हेक्टर क्षेत्रफल, आव २०७६/७७ मा ६८ हजार हेक्टर र आव २०७७/७८ मा ६४ हजार हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएको छ । साथै, आव २०७८/७९ मा पनि ०.७६ प्रतिशतले उत्पादन कम भएको पाइएको छ ।

त्यसैगरी, कुनैबेला वार्षिक साढे ४३ लाख मेट्रिक टन उखु उत्पादन हुँदै आएकोमा अहिले ३१ लाखमा सिमित भएको छ । आव २०७२/७३ सालमा साढे ४३ लाख मेट्रिक टन उत्पादन भएको उखु गत वर्षमा साढे ३१ लाखमात्रै उखु उत्पादन भएको कृषि मन्त्रालयले जनाएको छ ।

हरेक वर्ष चिनीको उत्पादन घट्दै गएपछि नेपालीहरु आयातित चिनीमा भर पर्दै गएका छन् । साथै, किसानहरुले समयमै उद्योगीबाट बक्यौता नपाएपछि उखु खेती छोड्दै अन्य व्यवसाय गर्न थालेका छन् ।

उखु खेती कम हुँदै जाँदा उद्योगीहरुको व्यापार आधाले घट्यो

देशभर उखु खेतीको उत्पादन घट्दै गएपछि यसको प्रत्यक्ष असर चिनी उद्योगीमा परेको छ । वार्षिक अर्बौ रुपैयाँको चिनीको व्यापार गर्दै आएका उद्योगीहरुको व्यापार पछिल्लो समय आधाले घटेको तथ्याङ्कले देखाउँछ ।
देशभर करिब दर्जनको हाराहारीमा चिनी उद्योग छन् । उक्त उद्योगहरुको आम्दानी हेर्ने हो भने पछिल्ला दिनमा घट्दो क्रममा देखिएको छ । उद्योगीहरुले पनि किसानहरुको बक्यौता समयमै नदिँदा उखु खेतीको उत्पादन घट्दै गएको औंल्याएको छ । त्यस्तै, उद्योगीहरुले किसानहरुको बक्यौतासँगै मल समयमा नपाएकाले पनि उखु खेतीप्रति किसानको आकर्षण घट्दै गएको जनाएको छ ।

त्यस्तै, कुनै बेला वार्षिक ३ अर्ब बढीको व्यापार गर्दै आएको एभरेष्ट सुगर तथा केमिकल इन्डष्ट्रिजको व्यापार आधाले घटेको छ । चिनी उद्योग क्षेत्रमा ठूला कम्पनीको रुपमा स्थापित कम्पनीको व्यापारको तथ्याङ्क हेर्ने हो भने हरेक वर्ष आम्दानी कम हुँदै गएको देखिन्छ । आर्थिक वर्ष ७६/७७ मा ३ अर्ब ४१ करोड ५० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले आव २०७७/७८ मा ९३ करोड ५० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ ।

त्यस्तै, कम्पनीले सन् २०७७/७८ को तुलनामा सन् २०७८/७९ मा बढी व्यापार गरेको छ । कम्पनीले गत वर्ष १ अर्ब ३७ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । तर, आव २०७६/७७ को तुलनामा आधाभन्दा कम व्यापार भएको छ ।

त्यस्तै, कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब १२ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । दैनिक ५५ सय टन उखु प्रशोधन गर्ने क्षमता रहेको कम्पनीले सन् १९९३ देखि निरन्तर चिनी उत्पादन गर्दै आएको छ । महोत्तरीको गौशालामा उद्योग रहेको कम्पनीमा सरफ परिवार र अग्रवाल परिवारको स्वामित्व छ ।

कम्पनी पूर्ण रुपमा किसानले उत्पादन गरेको उखु खेतीमा निर्भर छ । त्यसैले, कच्चा पदार्थको रुपमा प्रयोग हुने उखुको उत्पादनअनुसार नै कम्पनीको आम्दानी गर्छ । तर, पछिल्लो समय नेपालमा उखु खेती विस्तारै घट्दै गएको छ ।

किसानहरूलाई समयमै उखुको रकम भुक्तानी हुन नसक्दा, रासायनिक मल उच्च मूल्यसँगै नपाउने अवस्थाले गर्दा किसानहरूले उखु खेती कम गर्दै गएका छन् । खेती कम भएसँगै चिनी प्रशोधन गर्ने उद्योगहरू पूर्णक्षमतामा सञ्चालन हुन सकेको छैन । जसले गर्दा उद्योगको व्यापारमा निकै प्रभाव परेको कम्पनीको भनाइ छ ।

त्यस्तै, अर्को उद्योग इन्दुशंकर चिनी उद्योगको व्यापार पनि पछिल्लो समय आधाले घटेको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब १३ करोड रुपैयाँको व्यापार गरेको कम्पनीको व्यापार आव २०७८/७९ मा आधाले घटेको देखिन्छ ।

कम्पनीले विगतको दिनमा २ अर्बभन्दा बढीको व्यापार गर्दै आएकोमा अहिले १ अर्बमा सिमित भएको छ । कम्पनीले आव २०७७/८८ मा १ अर्ब ५७ करोड ४४ लाख रुपैयाँको व्यापार गरेको थियो भने आव २०७८/७९ मा १ अर्ब ५९ करोड ७१ लाख रुपैयाँको व्यापार गरेको छ ।

समग्रमा हेर्दा यी दुई उद्योगको मात्रै नभएर अधिकांश चिनी उद्योगको व्यापार खस्किँदो अवस्थामा रहेको व्यवसायीहरु बताउँछन् ।


अरिष्मा मोक्तान