प्रहरीको मिलेमतोमा अवैध व्यापार बढेको भन्सार कार्यालयको आरोप, बजारमा तस्करीका सामान छ्याप्पछ्याप्ती



विराटनगर । विराटनगर भन्सारबाट भारततर्फ जाने मीरगञ्ज पुल भत्केपछि सीमानाकाबाट तस्करी बढेको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

गत पुष २२ गतेबाट नेपाल भारत सीमामा रहेको मिरगञ्ज पुल भत्केपछि कोशी ब्यारेजमा रहेको पूलबाट रिरुट गर्नै भारतसँगको व्यापार गर्नु परेको छ ।

मिरगञ्ज पुल सञ्चालन नहुँदा देशको प्रमुख भन्सार नाका विराटनगरको राजश्व लक्ष्य प्रभावित भएको छ ।

तीन वर्ष अगाडीसम्म चाडपर्वको मुख्य सिजन साउन, भदौ र असोजमा भन्सार कार्यालयले लक्ष्य अुनसार राजश्व संकलन गर्ने गरेको थियो । तर, चालु वर्षको साउन र भदौमा लक्ष्य अनुसारको राजश्व संकलन हुन सकेन ।

साउनमा लक्ष्यको ८०.९० प्रतिशत र भदौसम्म लक्ष्यको ७२ प्रतिशत मात्रै राजश्व संकलन भएको छ । साउनमा ३ अर्ब ६४ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको कार्यालयले २ अर्ब ९५ करोड रूपैयाँमात्र राजश्व संकलन गर्न सकेको थियो ।

लामोबाटोबाट रि रुट गर्दै आयात निर्यात गर्नु परेपछि खुल्ला सीमानाकाबाट तस्करी बढेकोले लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको भन्सार कार्यालयका अधिकृत तथा सूचना अधिकारी रामचन्द्रप्रसाद ढुंगाना बताउँछन् ।

चालु आर्थिक वर्षमा विराटनगर भन्सार कार्यालयले ६० अर्ब ३ करोड रूपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । गत आर्थिक वर्षमा ४९ अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको कार्यालयले ४० अर्ब रूपैयाँमात्रै राजश्व संकलन गर्न सकेको थियो ।

‘लक्ष्यअनुसार राजश्व संकलन नभए पनि हरेक वर्ष २५ देखि ३० प्रतिशत थपेर नयाँ लक्ष्य दिने गरिएको छ,’ भन्सार कार्यालयका सूचना अधिकारी ढुंगाना भन्छन्,‘ त्यसले पनि लक्ष्यअनुसार राजस्व संकलन नभएको हो ।’

हालसम्म संकलन भएको राजस्वको आधारमा चालु आर्थिक वर्षमा ६५ प्रतिशतमात्रै राजश्व संकलन हुने कार्यालयको अनुमान छ । लक्ष्यअनुसार राजस्व संकलन गर्न दैनिक १६ करोड ५ लाख रूपैयाँ राजश्व संकलन गर्नुपर्ने भएपनि हाल दैनिक ८ करोड रूपैयाँभन्दा बढी रकम संकलन गर्न सकिएको छैन ।

‘खुल्ला सीमानाकाबाट हुने अवैध पैठारीले भन्सार राजश्वलाई प्रभाविव गरेको हो’ भन्सार अधिकृत ढुंगाना भन्छन्, ‘सतप्रतिशत एलसी खोलेर मात्रै सामान ल्याउन पाउने प्रावधानका कारण वैधानिक बाटोबाट हुने व्यापार घटेको छ ।’

छैन तालमेल

प्रहरीले भने खुल्ला सीमाबाट हुने अवैध व्यापारमा निगरानी बढाएको दाबी गरेको छ । मोरङ प्रहरीको तथ्यांकअनुसार चालु वर्षको साउन र भदौ तेस्रो सातासम्म ३८ लाख ८३ हजार ४०५ रूपैयाँ तस्कारीको सामान बरामत गरेर भन्सार कार्यालयमा बुझाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठ प्रहरी अवैध व्यापार नियन्त्रण गर्न निगरानी बढाएको दाबी गर्छन् । उनका अनुसार प्रहरीले राजश्व अनुसन्धान कार्यालय, इटहरीमा १७ वटा ट्रक र ४ वटा ट्याक्टरसहित ८ करोड ६ लाख नौ हजार ९०६ रुपैयाँ बराबरको शंकास्पद सामान अनुसन्धानका लागि बुझाइएको छ ।

गत आर्थिक वर्षमा मोरङ प्रहरीले ३ करोड ५५ लाख ४७ हजार रूपैयाँ बराबरको तस्करीको सामान भन्सार कार्यालयमा बुझाएको थियो ।

भन्सार कार्यालयका सूचना अधिकारी ढुंगाना प्रहरीले कार्यालले जाँचपास गरेर पठाएको मालवस्तु तस्करीका भन्दै समाउने गरेको आरोप लगाउँछन । तस्करी भइरहेको सामानका बारेमा संयुक्त टोली घटनास्थल जाँदासमेत प्रहरीबाट सूचना चुहावट हुने गरेको ढुंगानाको आरोप छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी दीपक श्रेष्ठ भने ढुंगानाको आरोप निराधार रहेको दाबी गर्छन् । ‘प्रहरीले बिना बिल वा बिलभन्दा बढी वजन र परिणाम भएका सामान समातेर राजश्व अनुसन्धान कार्यालय र आन्तरिक राजश्व कार्यालयलाई बुझाउने गरेको छ,’ उनी भन्छन् ।

भन्सार कार्यालयको तथ्यांकमा आयात घटेको देखिए पनि विराटनगर बजारमा सामानको अभाव पनि छैन । सीमाबाट तस्करी गरेर आएका सामान बजारमा पर्याप्त छन । भन्सार कार्यालयका अधिकारीहरु प्रहरीको मिलेमतोमा तस्करी बढेको आरोप लगाउँछन् ।

खाद्यान्न, कन्फेसनरीका आइटम, लत्ताकपडा, रेजिनका सामग्री, स्टेशनसरी र औषधीलगायतका सामानको अवैध आयात बढेको व्यापारीहरुको गुनासो छ ।

‘अवैधरूपमा आयात भएका सामान बजारमा सस्तो हुन्छ,’ कपडा व्यावसायी किशोर श्रेष्ठ भन्छन्,‘भन्सार तिरेर ल्याएको सामान महँगो हुँदा बिक्री हुन कठिन भएको छ ।’

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने राजश्व चुहावट समिति निष्क्रिय हुँदा समेत चोरी निकासी बढेको भन्सार कार्यालयका अधिकारीहरु बताउँछन् । त्यस्तै, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राजस्व अनुसन्धान कार्यालय लगायतका सरोकारवाला निकायबीच समन्वय नहुँदा समेत अवैध गतिविधि बढेको व्यवसायीहरु बताउँछन् ।


क्लिकमान्डु