अपुतालीको सम्पत्तिमा कसको अधिकार, कस्तो अवस्थामा अपुताली पाउँदैनन् ?
काठमाडौं । अपुताली भन्नाले अंशियार नभएको सम्पत्ति भन्ने बुझाउँछ । कानूनमा अपुताली सम्पत्तिको हक हस्तान्तरणका लागि व्यवस्था गरिएको छ ।
कुनै पनि व्यक्तिको मृत्यु भएमा निजको अपुताली खुला भएको मानिने व्यवस्था कानूनमा रहेको छ । मृतकको ऋण, धन र सम्पत्ति सम्बन्धि दायित्व र अधिकार कानून बमोजिम हकवालामा सर्ने कार्य अपुतालीमा रहेको हुन्छ ।
मुलुकी देवानी संहिताअनुसार कुनै व्यक्तिको अपुताली खुला भएमा निजको नजिकको हकवालाले अपुताली पाउने व्यवस्था रहेको छ ।
उक्त व्यवस्थाअनुसार अपुताली पाउने नजिकको हकवालाको प्राथमिकताक्रममा सगोलको पति वा पत्नी, सगोलको छोरा, छोरी, विधवा बुहारी, सगोलका बाबु, आमा, सौतेनी आमा, छोरा छोरीतर्फका नाति, नातिनी, नातिनी बुहारी र भिन्न भएका पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, सौतेनी आमालाई तोकेको छ ।
त्यसैगरी, सरकारले भिन्न भएका छोरातर्फका नाति, नातिनी, भिन्न भएका बाजे, बज्यै, सगोलका जिजुबाजे, जिजुबज्यै, दाजु, भाइ, दिदी, बहिनी, विधवा भाउजू वा भाइ बुहारी, सगोलका काका, काकी, भतिजा, भतिजी, भिन्न भएका दाजु, भाइ, दिदी, बहिनी, विधवा भाउजू वा भाइ बुहारी हकवाला हुने तोकेको छ ।
कुनै व्यक्तिको अपुताली खुला हुँदाका बखतको प्राथमिकताक्रममा पहिलो प्राथमिकताक्रममा रहेको व्यक्ति भएसम्म त्यसपछिको प्राथमिकताक्रममा रहेको व्यक्तिले अपुताली पाउने छैन । एउटै प्राथमिकताक्रमका एकभन्दा बढी हकवाला भएमा निजहरु सबैले समान रुपमा अपुताली पाउनेछन् ।
अपुताली पाउने प्राथमिकताहक्रमको कुनै हकवालाले अपुताली लिन नचाहेमा सोही क्रममा अन्य हकवालाले र त्यस्ता क्रमका कुनै हकवालाले पनि अपुताली लिन नचाहेमा त्यसपछिको क्रमको हकवालाले अपुताली पाउनेछ ।
कुनै व्यक्ति नजिकको हकवाला हुँदाहुँदै आफ्नो अंश लिइ टाढाको कुनै हकवालासँग बसेको अवस्थामा निजको मृत्यु भई अपुताली खुला भएमा त्यस्तो व्यक्तिको अपुताली त्यसरी सँगै बस्ने हकवालाले पाउनेछ । त्यसैगरी, कुनै व्यीक्तले नजिकको हकवालाले स्याहार सम्भार नगरी टाढाको हकवालाले स्याहार सम्भार गरेको रहेछ भने निजको अपुताली त्यसरी स्याहारसम्भार गर्ने हकवालाले पाउने व्यवस्था छ ।
साथै, सगोलको हकवालाले स्याहार सम्भार नगरी कुनै व्यक्ति आफ्नो अंश लिई भिन्न बसेको हकवालासँग बस्न गएको अवस्थामा मृत्यु भएमा निजको अपुताली त्यस्ता भिन्न भएका हकवाला र मृतकको स्याहार सम्भार हकवालो नगरी अन्य व्यक्तिले गरेको भए त्यस्तो अपुताली त्यसरी स्याहार सम्भार गर्ने व्यक्तिले पाउनेछ ।
तर, कुनै व्यक्ति आफ्नो अंश केही नलिई केही दिनको लागि मात्र कुनै हकवालासँग बस्न गएको अवस्थामा निजको मृत्यु भएमा त्यसरी पछि बस्न गएका हकवालाले अपुताली पाउने छैन । साथै, कुनै पनि व्यक्तिलाई अपुताली स्वीकार गर्न कर लाग्ने छैन ।
त्यसैगरी, कुनै रिसइबि वा अपुताली पाउने बद्नियतले कसैको ज्यान लिएमा वा लिन लगाएमा त्यसरी ज्यान लिने वा लिन लगाउने व्यक्ति र निजका हकवालाले मृतक वा निजको हकवालाको अपुताली पाउने छैन ।
अपुताली पाउने व्यक्तिले मृतकको रीत परम्पराअनुसार सद्गत तथा किरिया गर्नु वा गराउनुपर्ने, मृतकले लिएको ऋण साहूलाई भुक्तानी गर्नुपर्ने र मृतकले दिएको ऋण तथा लगानी गरेको सम्पत्तिमाथि निजको अधिकार हुनेछ ।
कुनै व्यक्तिको मृत्यु भई निजको सद्गत तथा किरिया अपुताली पाउने व्यक्तिबाहेक अन्य व्यक्तिले गरेको भए अपुताली पाउने व्यक्तिले मृतकको सदुगत तथा किरिया गर्दा लागेको खर्च र त्यस्तो खर्चको थप २५ प्रतिशत रकम त्यसरी सदुगत तथा किरिया गर्ने व्यक्तिलाई दिनुपर्नेछ ।
तर, कुनै व्यक्तिले मृतकको सद्गत तथा किरिया आफूले नगरी अन्य व्यक्तिमार्फत् गराउन लगाएको रहेछ भने त्यसरी सद्गत तथा किरिया गर्दा लागेको वास्तविक खर्च मात्र दिन सक्नेछ ।
कुनै व्यक्तिको अपुताली खुला भएमा र निजका साहु भएमा त्यस्ता साहुले अपुताली पाउनेबाट ऋण तथा दायित्व भराई लिन सक्ने कानूनी व्यवस्था रहेको छ । तर, मृतकको सम्पत्तिभन्दा बढीको ऋण तथा दायित्व अपुताली पाउने व्यक्तिले तिर्न बाध्य हुने छैन । साथै, अपुतालीको सम्पत्ति स्थानीय तहको हुनेछ ।
त्यस्तै, नेपालभित्र मृत्यु भएको कुनै विदेशीको नेपालभित्र कोही हकवाला रहेनछ तर सम्पत्ति रहे भने निजको सदुगत गर्ने वा वा हरहिसाब राख्ने व्यक्तिले त्यस्तो कुराको सूचना तुरुन्त नजिकको स्थानीय तहलाई दिनुपर्ने व्यवस्था छ ।