मुख्य आयात हुने अधिकांश वस्तुको पैठरी घट्यो, कुन कति ?



काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा मुख्यः आयात हुने अधिकांश वस्तुको पैठरी घटेको छ ।

चालु आर्थिक वर्षको साउन र भदौमा गत वर्षको तुलनामा १३ प्रतिशतले कम आयात भएको छ । सो अवधिमा नेपालले आयात गर्दै आएको मुख्य वस्तुको आयातमा भने उच्च कमी आएको व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको तथ्याङ्कले देखाउँछ ।

नेपालले दुई महिनाको अवधिमा २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रुपैयाँको वस्तु आयात गरेको छ । जसमा मल, विमान तथा पार्टपूर्जा, आल्मोनियम तथा त्यसका सामानहरु, औषधी, पेट्रोलियम पदार्थ केमिकल, पाम तेलबाहेक अन्य वस्तुको आयातमा निकै गिरावट आएको छ । सरकारले विभिन्न वस्तुमा लगाएको प्रतिबन्ध र एलसीको व्यवस्थाले पनि आयातमा प्रभाव परेको भन्सार विभागको भनाइ छ ।

नेपालको आयात तथ्याङ्क हेर्दा दुई महिनाको अवधिमा नेपालले ८ अर्ब ३८ करोड ५१ लाख रुपैयाँको मल आयात गरेको छ । जुन गत वर्षको तुलनामा १४८४ प्रतिशतले बढी हो । सोही अवधिमा विमान तथा पार्टपूर्जाको आयात ३०४ प्रतिशतले बढेको छ । नेपालले साउन र भदौ महिनामा मात्रै १ अर्ब ७१ करोड २९ लाख रुपैयाँको विमान तथा पार्टपूर्जाहरु आयात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ४२ करोड २९ लाख रुपैयाँको मात्रै आयात गरेको थियो ।

केन्द्रको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा ३५.२ प्रतिशतले औषधीको आयात बढेको छ । नेपालले यो अवधिमा १० अर्ब ८५ करोड ३२ लाख रुपैयाँको औषधीजन्य वस्तु आयात गरेको छ । जबकी गत वर्षको सोही अवधिमा नेपालले ७ अर्ब ५२ करोड ५७ लाख रुपैयाँको आयात गरेको थियो ।

त्यस्तै, दुई महिनाको अवधिमा अल्मोनियम तथा त्यसका सामग्रीहरु २३.३ प्रतिशत, पेट्रोलियम पदार्थको आयात ३.५ प्रतिशत र रसायनको आयात ४ प्रतिशतले बढी आयात गरेको छ । दुई महिनाका नेपालले २ अर्ब ५२ करोड ५५ लाख रुपैयाँको आल्मोनियम र त्यसका सामग्रीहरु, ३५ अर्ब ३१ करोड १३ लाख रुपैयाँको पट्रोलियम पदार्थ र ३ अर्ब ४१ करोड १३ लाख रुपैयाँको रसायन आयात गरेको छ ।

केन्द्रअनुसार दुई महिनाको अवधिमा आइरन तथा स्टिलजन्य वस्तुको आयातमा १३.४ प्रतिशतले कमी आएको छ । गत वर्ष ३२ अर्ब ५६ करोड ९६ लाख रुपैयाँको आयात गरेकोमा यो वर्ष २८ अर्ब २१ करोड ८२ लाख रुपैयाँको आयात गरेको छ ।

त्यस्तै, मेशिनरी तथा पार्टपूर्जाको आयातमा २३.४ प्रतिशत र सवारी साधन तथा पार्टपूर्जाको आयातमा ५०.३ प्रतिशतले कमी आएको छ । गत वर्षको दूई महिनाको अवधिमा नेपालले यी दुई वस्तु क्रमशः २२ अर्ब ६८ करोड रुपैयाँ र २१ अर्ब ८४ करोड ४३ लाख रुपैयाँको आयात गरेको थियो । तर, यो वर्ष मेशिनरी तथा पार्टपूर्जा १७ अर्ब ३६ करोड ९४ लाख रुपैयाँको र सवारी साधन तथा पार्टपूर्जा १० अर्ब १७ करोड ३६ लाख रुपैयाँको मात्रै आयात भएको छ ।

त्यस्तै, इलेक्ट्रोनिक र इलेक्ट्रोनिक सामग्रीको आयात १६.४ प्रतिशत, कच्चा भटमासको तेल ४१.८ प्रतिशत, मोबाइलफोन तथा पार्टपूर्जा ३४.१ प्रतिशत, खाद्यान्न ४१.३ प्रतिशत, सुन ३५.१ प्रतिशत, लत्ताकपडा १६ प्रतिशत र पोलिथिन ग्रान्यूल ८.३ प्रतिशतले कम आयात भएको छ ।

केन्द्रअनुसार गत वर्षको यो वर्षको दुई महिनामा रबर तथा त्यसका सामानहरु ३२.३ प्रतिशत, कच्चा सन्फ्लावर तेल ३६.९ प्रतिशत, कटन १५.२ प्रतिशत, कपर तथा त्यसका सामग्रीहरु ११.३ प्रतिशत, तोरीको दाना ५५.३ प्रतिशत, ऊन तथा जनवारको कपाल १७.८ प्रतिशत, जिन्क तथा त्यसका सामग्रीहरु २५.६ प्रतिशत र चाँदीको आयात ९५.४ प्रतिशतले कमी आएको छ ।

नेपालले दुई महिनाको अवधिमा ९ अर्ब ८४ करोड ६० लाख रुपैयाँको इलेक्ट्रोनिक र इलेक्ट्रोनिक सामग्री, ९ अर्ब ८ करोड ५४ लाख रुपैयाँको कच्चा भटमासको तेल, ८ अर्ब ३८ करोड ५१ लाख रुपैयाँको मोबाइलफोन तथा पार्टपूर्जा, ७ अर्ब ५८ करोड १२ लाख रुपौयँको खाद्यान्न, ५ अर्ब ४३ करोड ७२ लाख रुपैयाँको सुन, ४ अर्ब ९९ करोड ४१ लाख रुपैयाँको लत्ताकपडा र ४ अर्ब ४६ करोड २८ लाख रुपैयाँको पोलिथिन ग्रान्यूल आयात गरेको छ ।

त्यसैगरी, साउन र भदौ महिनामा २ अर्ब २३ करोड १० लाख रुपैयाँको रबर तथा त्यसका सामानहरु, २ अर्बको कच्चा सन्फ्लावर तेल, कटन १५.२ प्रतिशत, १ अर्ब ४९ करोड रुपैयाँको कपर तथा त्यसका सामग्रीहरु, १ अर्ब २७ करोड १८ लाख रुपैयाँको तोरीको दाना, ७४ करोड ३४ लाख रुपैयाँको ऊन तथा जनवारको कपाल, ५९ करोड २६ लाख रुपैयाँको जिन्क तथा त्यसका सामग्रीहरु र ३६ करोड ७ लाख रुपैयाँको चाँदी आयात गरेको छ ।


क्लिकमान्डु