नेपाल बाहेकमा पनि मनाइन्छ दशैं, इरानमा राखिन्छ जमरा



काठमाडौं । ‘दशैं’ यो शब्द सुन्नासाथ अधिकांशको मनमा आउने भनेको लामो बिदा, टाढा रहेका परिवारका सदस्यसँग भेटघाट, मिठोमसिनो खाने, नयाँ लुगा लगाउने, पीङ खेल्ने भन्ने आउँछ ।

यति मात्रै होइन दशैं लगायत चाडपर्वमा आर्थिक गतिविधि पनि धेरै हुनेगर्छ । चाडमा आफूभन्दा ठूलाबाट लिने आर्शीवाद तथा शुभेच्छा लिने गरिन्छ ।

दशैं नेपाल भर र नेपाली रहेका स्थानमा मनाइने गरिए पनि ठाउँ अनुसार फरक रहेको पाइन्छ ।

पूर्वमा दशमीको दिनदेखि कोजाग्रत पूर्णीमासम्म नै टिका जमरा लगाउने चलन छ । तर पश्चिममा अधिकांशले दशमीको दिनमात्र टिका लगाउँछन् ।

समुदायअनुसार पूजा र खानपानमा पनि धेरै फरक छ । दशैं नेपालबाहेक भारत, बङ्गलादेश, बर्मा, मलेसिया लगायत थुप्रै मुलुकमा मनाइन्छ । सबै ठाउँको चलन फरक फरक छ ।

कुन देशमा कसरी मनाइन्छ दशैं

भारत
काश्मीरः नौ दिनसम्म उपवास

नवरात्री पर्वको रूपमा भारतको काश्मीर क्षेत्रका रहेका हिन्दू धर्मावलम्बीहरूले द
शैं मनाउँछन् । परिवारका सबै सदस्यले नौ दिनसम्म पानी मात्र खाएर उपवास बस्ने गर्दछन् । हरेक दिन भवानी देवीको पूजा गरिन्छ ।

तामिलनाडुः लक्ष्मी, सरस्वती र दुर्गाको पूजा

भारतको तामिल नाडु, कर्नाटक, आन्ध्र प्रदेशमा दशैंलाई दशहराको रुपमा नौ दिनसम्म मनाइन्छ । उनीहरूले नौ दिन मध्ये तीन–तीन दिन छुट्टा–छुट्टै देवीको पूजा गर्छन् । सुरुको ३ दिन लक्ष्मी, त्यसपछी ३ दिन सरस्वती र बाँकी ३ दिन दुर्गाको पूजा गर्ने प्रचलन रहेको छ ।

गुजरातः नौ दिन गर्बा नाच

भारतको गुजरात क्षेत्रमा दशैं नवरात्रीको नामले परिचित छ । त्यहाँ नौ दिनसम्म हरेक रात गर्बा नाच्ने गरिन्छ । महिला पुरुष सँगै नाचिने यो नाँचमा अत्यन्तै आकर्षक पहिरनको प्रयोग हुन्छ । दुर्गाको मुर्ति, तस्वीर छेउमा राखी दिप प्रज्वलन गरी नाच्ने प्रचलन रहेको छ ।

उत्तर भारतः रामलिला

भारतको उत्तरप्रदेश, बिहार, उत्तराखण्ड र मध्य प्रदेशमा दशैं धुमधामसँग मनाउने गरिन्छ । त्यहाँ दशैंको समयमा दुर्गा मातालाई भन्दा भगवान रामको बढी चर्चा हुन्छ ।

नौ दिनसम्म तुलसीदासले लेखेको राम चरित्रमानसमा आधारित भएर राम लिलाको प्रर्दशन गर्ने प्रचलन रहेको छ । बिहारको सितामाडीको जनावर, हस्तकलाका सामान र घरयासी सामानको किनमेल धेरै हुने गरेको छ । यसलाई मेलाको रुपमा लिने गरिन्छ ।

हिमाञ्चलः विशाल धार्मिक यात्रा, रघुनाथको पूजा

भारतको हिमाञ्चल प्रदेशमा दुर्गाको मात्रै नभएर स्थानी देवता रघुनाथको पनि पूजा गर्ने प्रचलन रहेको छ । त्यहाँ हजारौं सहभागी भएर झकिझकाउ पारेका देवताका मुर्ति बोकेर यात्रा गर्ने प्रचलन रहेको छ । यात्रामा नाँच गान गरेर रमाइलो गर्ने परम्परा रहेको छ ।

महाराष्ट्रः सरस्वती पूजा

महाराष्ट्र क्षेत्रमा दशैंको नौ दिन दुर्गाको पूजा गरिन्छ भने दशौं दिन सरस्वती पूजा गर्ने प्रचलन रहेको छ । यो दिन स्कुल पढ्ने विद्यार्थीले सरस्वतीको आर्शिवाद माग्दै पूजा गर्ने प्रचलन रहेको छ । नयाँ घर किन्न, घर प्रवेश गर्न र बिहा वारिधिका लागि पनि यो दिनलाई निकै उपयुक्त मान्ने प्रचलन रहेको छ ।

बंगलादेश र पश्चिम बंगालमा ५ दिन मात्र

बंगलादेशमा हिन्दूहरूले पाँच दिन दशैं मनाउँछ्न । राजधानी ढाका लगायतका ठाउँमा देवी दुर्गाको विशाल मन्डप बनाइन्छ । अन्तिम मन्डप दिन नदीमा लगेर विसर्जन गर्ने चलन छ ।

दसहराको नाममा पश्चिम बंगालमा ५ दिन मात्र दशैं मनाइन्छ । ठाउँ–ठाउँमा दुर्गा भगवतीका भव्य र आकर्षक मुर्ति निर्माण गरिन्छ । मिठाई र मिठा–मिठा परिकार खाने प्रचलन रहेको छ ।

इरानमा पनि राखिन्छ जमरा !

नेपालमा दशैंका लागि घटस्थापनाको दिन जमरा राख्ने गरिन्छ । धान, जौं, गहुँ, मकै लगायतका बिज छरेर उम्रिएको जमरालाई दशमीको दिन मान्यजनले लगाइदिने विशेष पर्व दशैं हो । दशैंमा जमराको विशेष महत्व हुन्छ ।

नेपालमा मात्र होइन इरानमा पनि जमरा राखिन्छ । नौरोज भनिने नेपाली जमराजस्तै इरानी जमरालाई पनि नौ दिन राखेर तयार गरिन्छ र दशौं दिन त्यसलाई टेबलमा सजाएर राख्ने प्रचलन रहेको छ । नेपालमा जस्तो जमरा लगाउने भन्दा पनि त्यसलाई टेबलमा सजाएर राख्ने प्रचलन रहेको छ र त्यस दिन आफन्तका नाममा मैनवत्ती बाल्ने प्रचलन रहेको हुन्छ ।

घटस्थापना देखि कोजाग्रत पूर्णिमासम्म नेपालमा दशैं मानिन्छ भने नौरोज १३ दिनको हुन्छ । पूर्णिमामा जमरालाई नदीमा सेलाएको जस्तै इरानी जमरा पनि १३ दिनको दिन नजिकको नदीमा लगेर सेलाउने प्रचलन रहेको छ ।
तर इरानी जमरा राख्ने समय त्यहाँको नयाँ वर्षको अवसरमा हुने गरेको छ ।

नौरोजलाई संयुक्त राष्ट्रसङ्घको शिक्षा, विज्ञान तथा संस्कृति सङ्गठन युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको छ । यो चाड इरानसहित युरेशियन र मध्य एशियाली देशहरूमा पनि मनाइन्छ । दक्षिण एशियाका अफगानिस्तान, पाकिस्तान, भारत र बंगलादेशका केही स्थानमा नौरोज मनाइने युनेस्कोको वेबसाइटमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु