विद्युतीय भुक्तानी गर्दा यी कुरामा ध्यान नदिए हुनसक्छ बर्बाद



काठमाडौं । पछिल्लो समय विद्युतीय कारोबार वा विद्युतीय भुक्तानी निकै प्रचलनमा रहेको छ । ठूला व्यापारीक केन्द्रदेखि तरकारी पसलसम्म पनि विद्युतीय भुक्तानी प्रचलनमा आएको छ । अहिले कतिपय स्थानमा उपभोक्ताले नगदरहित कारोबार गरिरहेका छन् । जुन विद्युतीय कारोबार नै सहज बनाएको हो ।

हिन्दु धर्मावलम्बीहरुको पर्व दशैं, तिहार, छठ पनि नजिकीएको छ । विगत केही वर्षदेखि डिजिटल दक्षिणाको पनि चर्चा हुँदै आएको छ । यसले नोटको प्रयोग कम हुने, नोट फोहोर नहुने गर्दछ । अन्य समयमा होस् वा चाडबाडको समयमा नै किन नहोस विद्युतीय भुक्तानी जति सहज बन्दैछ, त्यति नै चूनौती पनि । प्रयोगकर्ताहरूले स-साना विषयमा ध्यान नपुर्याउन हो भने हो यसले निम्त्याउने जोखिम पनि उति नै बढी हुनेदेखिन्छ ।

प्रयोगकर्ताहरुले कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, वान टाइम पासवर्ड (ओटीपी) वा संवेदनशील विवरण (जस्तै; खाता नम्बर, जन्म मिति, नागरिकता वा राहदानी नम्बर आदि) अन्य व्यक्तिलाई उपलब्ध गराउनु हुँदैन । उपलब्ध गरायो भने पत्तै नपाई आफुसँग भएको रकम सकिने सम्भावना धेरै टाढा रहँदैन । आफूले राखेको पासवर्डहरू बेलाबेलामा परिवर्तन गर्नुपर्दछ र यस्ता पासवर्डहरू गोप्य तरिकाले सुरक्षित राख्नुपर्दछ ।

भुक्तानीका लागि प्रयोग गरिने कार्ड, मोबाइलजस्ता उपकरण चोरी भएमा वा हराएमा सम्बन्धित सेवा प्रदायकलाई तत्काल जानकारी गराई सेवा बन्द गर्नुपर्दछ ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमका सम्बन्धमा उपभोक्तालाई सचेत पनि गराएको छ ।

विद्युतीय भुक्तानी गर्दा नेपालमा पछिल्लो समयमा विद्युतीय कारोबारमा बढोत्तरी भइरहेको छ । विभिन्न विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार गर्दा विभिन्न आपराधिक व्यक्ति समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको भन्ने गुनासो नआएका भने होइनन् । त्यसलाई न्यून गर्न, आफुसँग भएको पैसा सुरक्षित राख्न सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङ को युजर नेम तथा पासवर्ड माग्ने, नक्कली वेबसाइट बनाइ बनाई ग्राहकका गोप्य सूचनाहरू लिने, ठूलो रकमको चिट्ठा परेको भनी लोभ देखाई उक्त चिट्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने सम्भावना रहन्छ ।

अत्यधिक नाफाको लोभ देखाई गैरकानुनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्नेलगायतका ठगी भइरहेका छन् ।

विद्युतीय कारोबार गर्दा यसप्रकारको ठगीबाट बच्न अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटीपी वा अन्य कुनै पनि संवेदनशील जानकारी दिनुहुँदैन ।

मोबाइल तथा अन्य डिभाइस एवं एपका पासवर्डहरू बेलाबेलामा परिवर्तन गर्नुपर्दछ । यस्ता पासवर्ड गोप्य तरिकाले सुरक्षित राख्नुपर्दछ ।

सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाई रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे नगरेको व्यहोरा अन्य माध्यमबाट यकिन गरेर मात्र रकम पठाउनु पर्दछ ।

अनावश्यक तथा अनधिकृत एप आफ्नो मोबाइल फोन वा अन्य डिभाइसमा डाउनलोड गर्नुहुँदैन । यसरी अनधिकत एप डाउनलोड गर्दा आफ्ना सबै संवेदनशील सूचनाहरू आपराधिक समूहले पत्ता लगाउन सक्छन् ।

कसैले रकम भुक्तानी गर्ने बहानामा बारकोड अथावा क्यूआर कोड पठाएको अथवा एपको पासवर्ड आवश्यक छ भनेर म्यासेज गरे त्यसलाई शङ्कास्पद रुपमा लिनुपर्दछ । रकम भुक्तानी लिन वा पैसा प्राप्त गर्न कुनै पनि बारकोड, क्यूआर कोड अथवा पासवर्ड पठाउन आवश्यक छैन । त्यसमा सदैब ध्यान पुर्याउनु पर्छ ।

कुनै पनि वेबसाइट मार्फत विद्यतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेब साइट हो÷होइन यकीन गरेर मात्र कारोबार गर्नपर्दछ । कुनै पनि वेबसाइटको ठेगाना एचटीटीपीएस बाट सुरु भएको छ भने सुरक्षित, भरपर्दो वा विश्वसनीय छ भन्ने बुझिने भएकाले वेबसाइटको ठेगाना एचटीटीपीएस बाट शुरु भए नभएको यकीन गर्नुपर्दछ ।

विद्युतीय कारोबार गर्दा आफू ठगिएको शङ्का लागेमा अथवा कुनै गुनासो रहेमा आफूले कारोबार गर्ने गरेको बैंक तथा वित्तीय संस्था एवम् नेपाल राष्ट्र बैंकको गुनसो सुनुवाई सम्बन्धी पोर्टलमा गुनासो वा उजुरी दर्ता गर्न सकिनेछ । यसो गरियो भने ठगिने सम्भावना न्यून रहन्छ ।


क्लिकमान्डु