कृषि, पर्यटन र जलस्रोतमा १४ बीमा कम्पनीको ७ अर्ब बढी लगानी, १ वर्षमा ११५ प्रतिशतले बढाए



काठमाडौं । बीमा कम्पनीहरूले कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा लगानी बढाएका छन् । कम्पनीहरूले अघिल्लो आर्थिक वर्षको तुलनामा यस क्षेत्रमा ११५.९२ प्रतिशतले लगानी बढाएका हुन् ।

समितिको तथ्यांकअनुसार गत आवमा सञ्चालनमा रहेका १४ वटा बीमा कम्पनीहरूले मात्रै लगानी गरेका छन् । गत आवमा ९ जीवन बीमा कम्पनी र ५ वटा निर्जीवन बीमा कम्पनीहरूले लगानी गरेका हुन् ।

गत आवमा यस क्षेत्रमा १४ जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले ७ अर्ब ४५ करोड रूपैयाँ कुल लगानी गरेका छन् ।

जुन कम्पनीहरूले गरेको कुल लगानीको १.३५ प्रतिशत हो । अघिल्लो आवमा कम्पनीहरूले यस क्षेत्रमा ३ अर्ब ४५ करोड २९ लाख रूपैयाँ लगानी गरेका थिए ।

गत आवमा ५ वटा निर्जीवन बीमा कम्पनीहरूले ३० करोड ७१ लाख रूपैयाँ लगानी गरेका छन् । यस क्षेत्रमा ९ वटा जीवन बीमा कम्पनीहरूले ७ अर्ब १४ करोड ८५ लाख रूपैयाँ लगानी गरेका हुन् ।

अघिल्लो आवमा यस क्षेत्रमा निर्जीवन बीमा कम्पनीहरूले २७ करोड २६ लाख रूपैयाँ र जीवन बीमा कम्पनीहरूले ३ अर्ब १७ करोड ६६ लाख ३० हजार रूपैयाँ लगानी गरेका हुन् ।

बीमा समितिले बीमकको लगानी सम्बन्धी निर्देशिका, २०७५ जारी गर्दै घरजग्गा व्यवसाय, जलस्रोत, कृषि, पर्यटन, सामूहिक लगानी कोषलगायतका क्षेत्रमा लगानी गर्न सक्ने बाटो खोलिदिएको थियो ।

बीमितबाट संकलित बीमाशुल्कलाई कम्पनीहरूले उद्योग, व्यवसाय, बैंकको निक्षेपलगायत अन्य विभिन्न क्षेत्रमा लगानी गर्छन् । बीमा कम्पनीहरूको मुख्य आम्दानीको स्रोत नै बीमितबाट संकलित रकम हो ।

बीमा समितिले बीमकको लगानी सम्बन्धी निर्देशिका, २०७५ मा जीवन बीमा कम्पनीहरूलाई कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधार क्षेत्रमा कुल लगानीको न्यूनतम १० प्रतिशत र बढीमा २० प्रतिशत लगानी गर्न सक्ने व्यवस्था गरिदिएको छ ।

समितिले उक्त बराबरको रकम लगानी गर्न सक्ने व्यवस्था गरिदिएपनि सञ्चालनमा रहेका सबै बीमा कम्पनीले लगानी गरेको देखिँदैन ।

जीवन बीमा कम्पनीतर्फ गत आवमा यस क्षेत्रमा राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ, एशियन लाइफ, सूर्या लाइफ, सन नेपाल, रिलायन्स लाइफ, सिटिजन, प्रभु र प्राइम लाइफले मात्रै लगानी गरेका छन् ।

अघिल्लो आवमा राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ, एशियन लाइफ र प्राइम लाइफले मात्रै लगानी गरेका थिए ।

अघिल्लो आवको तुलनामा राष्ट्रिय बीमा संस्थानको लगानी २८४.१५ प्रतिशतले बढेर ४ अर्ब ९० करोड ८६ लाख रूपैयाँ पुगेको छ । अघिल्लो आवमा १ अर्ब २७ करोड ७८ लाख रूपैयाँ लगानी गरेको थियो ।

गत आवमा नेपाल लाइफले १ अर्ब ८० करोड ९५ लाख रूपैयाँ, एशियन लाइफले १५ करोड रूपैयाँ, सूर्या लाइफले ८ करोड रूपैयाँ, प्राइमले ६ करोड ६७ लाख रूपैयाँ लगानी गरेका छन् ।

यस्तै, सन नेपाल लाइफले ४ करोड ३५ लाख रूपैयाँ, रिलायन्सले ५ करोड रूपैयाँ, सिटिजन र प्रभुले २÷२ करोड रूपैयाँ लगानी गरेका छन् ।

अघिल्लो आवमा नेपाल लाइफले १ अर्ब ७९ करोड ५३ लाख रूपैयाँ, एशियन लाइफले २५ करोड रूपैयाँ र प्राइमले ७ करोड ८५ लाख रूपैयाँ लगानी गरेका थिए ।

यस्तै, निर्जीवन बीमा कम्पनीतर्फ पनि ५ कम्पनीले मात्रै यस क्षेत्रमा लगानी गरेका छन् । गत आवमा सगरमाथा इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, आईएमई जनरल, शिखर इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले मात्रै लगानी गरेका छन् ।

अघिल्लो आवमा सगरमाथा इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, शिखर इन्स्योरन्स, र नेको इन्स्योरेन्सले मात्रै लगानी गरेका थिए ।

गत आवमा सगरमाथाले ४ करोड ५४ लाख रूपैयाँ, प्रभुले ४ करोड ७३ लाख रूपैयाँ, आइएमई जनरलले २ करोड रूपैयाँ, शिखरले १७ करोड ४३ लाख रूपैयाँ र लुम्बिनी जनरलले २ करोड रूपैयाँ लगानी गरेका छन् ।

अघिल्लो आवमा सगथरमाथाले ७ करोड ९४ लाख रूपैयाँ, प्रभुले ४ करोड ६६ लाख रूपैयाँ, शिखरले १२ करोड १७ लाख रूपैयाँ, नेकोले २ करोड८१ लाख रूपैयाँ र प्रुडेन्सियलले ३ लाख रूपैयाँ लगानी गरेका थिए ।

बीमकको लगानी सम्बन्धी निर्देशिका, २०७५ अनुसार निर्जीवन बीमा कम्पनीहरूले पनि कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधार क्षेत्रमा कुल लगानीको न्यूनतम १० प्रतिशत र बढीमा २० प्रतिशत लगानी गर्न सक्नेछन् ।


क्लिकमान्डु