बढ्दो इन्टरनेट प्रयोगले ह्वात्तै बढ्यो राउटरको आयात



काठमाडौं । पछिल्लो समय इन्टरनेटको प्रयोगकर्ता बढ्दो क्रममा छन् । एउटै स्थानमा बसेर विश्व देख्न सकिने प्रविधिको विकासले हरेक काम सजिलो, छिटो र सहज बनाएको छ ।

इन्टरनेटको विकास भएसँगै नेपाल बसेर विश्वमा के भइरहेको सहजै थाहा पाउन सकिने अवस्था छ । त्यसैले, पनि इन्टरनेटतर्फ सबैको आकर्षण बढ्दो क्रममा छ । त्यस्तै, नेपालमा पनि पछिल्लो ३, ४ वर्षको अन्तरालमा इन्टरनेटका प्रयोगकर्ता ह्वात्तै बढेको विभिन्न तथ्याङ्कले देखाउँछ ।

विगतको दिनमा इन्टनेट जताततै जोड्ने प्रचलन थिएन । तर, अहिले हरेक स्थान, घर तथा कार्यालय इन्टरनेट सुविधाको व्यवस्था हुन थालिसकेको छ । अहिले शहरकेन्द्रित मात्रै नभएर गाउँ-गाउँमा इन्टरनेट पुगिसकेको छ । साथै, सोही इन्टरनेटको सहयोग विभिन्न क्षेत्रमा विभिन्न प्रकारका आइडियाको विकास हुन थालेको छ ।

त्यस्तै, बढ्दो इन्टरनेट प्रयोगकर्ताले नेपालमा वायरलेस राउटरको आयात ह्वात्तै बढाएको छ । विगतको दिनमा वायरलेस मोडेम र केबल मोडेमको प्रयोगबाट इन्टरनेट चल्थ्यो । तर, अहिले मोडेमको साट्टो वायरलेस राउटरको प्रयोग हुन थालेको छ । जसले गर्दा नेपालले वार्षिक अर्बौं रुपैयाँको राउटर आयात गरिरहेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

विभागअनुसार आर्थिक वर्ष २०७५/७६ सम्ममा राउटर आयात भएको तथ्याङ्क छैन । तर, आर्थिक वर्ष २०७६/७७ देखि करोडौंको राउटर आयात भएको देखाउँछ । नेपालले आव २०७६/७६ मा २२ करोड ९७ लाख ७७ हजार रुपैयाँको १ लाख १५ हजार ३७४ वटा राउटर आयात गरेको छ ।

त्यसैगरी, नेपालले आव २०७७/७८ मा २ अर्ब १५ करोड ८२ लाख ३९ हजार रुपैयाँको ८ लाख ५ हजार २८० वटा र आव २०७८/७९ मा ४ अर्ब ३६ करोड २२ लाख ३९ हजार रुपैयाँको १२ लाख ९२ हजार ८९२ वटा राउटर आयात गरेको भन्सार विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।

साथै, नेपालले चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा मात्रै ७७ करोड ८५ लाख ५१ हजार रुपैयाँको २ लाख २३ हजार ३१२ वटा राउटर आयात गरेको छ । नेपालले उक्त राउटर सबैभन्दा बढी चीनबाट आयात गरेको छ ।

नेपालले दुई महिनामा चीनबाट मात्रै ७७ करोड ५ लाख ४७ हजार रुपैयाँको २ लाख २२ हजार २४४ वटा राउटर आयात गरेको छ । त्यसपछि नेपालले ताइवानबाट ५५ लाख ९७ हजार रुपैयाँको १ हजार ३० वटा, १ लाख ४० हजार रुपैयाँको २ वटा मलेसियाबाट, १ लाख ३७ हजार रुपैयाँको १ वटा भारतबाट र ६२ हजार रुपैयाँको १६ वटा युएईबाट र २० लाख ४८ हजार रुपैयाँको १२ वटा अमेरिकाबाट आयात गरेको छ ।

१० वर्षको अन्तरालमा २१ लाख बढी प्रयोगकर्ता

प्रविधिको विकाससँगै नेपालमा इन्टरनेटको प्रयोगकर्ता दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । सरकारी तथ्याङ्कअनुसार पनि इन्टरनेटको प्रयोगकर्ता बढ्दो क्रममा रहेको देखाउँछ । नेपाल दूरसञ्चार प्राधिकरणअनुसार नेपालमा करिब १० वर्षको अन्तरालामा झण्डै २२ लाख प्रयोगकर्ता पुगिसकेको छ ।

२०६९ साल चैतसम्ममा देशभर ७९ हजार १५२ जना प्रयोगकर्ता थिए । सो समयमा देशभर २९ वटा इन्टरनेट सेवा प्रदायक संस्था थिए । उक्त इन्टरनेट प्रदायक संस्थामध्ये सबैभन्दा बढी ब्रोडलिंक नेटवर्क तथा कम्यूनिकेशनको थियो । ब्रोडलिंकको मात्रै ३३ हजार ७९ जना ग्राहक थिए । त्यसपछि वल्र्डलिंक कम्यूनिकेशनको १९ हजार ४५० जना ग्राहक थिए भने ८ हजार ४४३ जना सुविसु केबलनेट प्रालिको थियो ।

त्यसपछि २०७० सालको चैतसम्ममा १९ हजार ५२१ जना ग्राहक थप भई इन्टरनेट प्रयोगकर्ताको संख्या ९८ हजार ६७३ जना पुगेको प्राधिकरणको तथ्याङ्कले उल्लेख गर्दछ । सो वर्ष २६ बाट २ वटा सेवा प्रदायक संस्था २४ वटामा सिमित भएको थियो । त्यो बेलासम्म देशभर वायरलेस मोडेम र केबल मोडेमको सहयताले इन्टरनेट प्रयोग गर्दै आएका थिए । तर, २०७० सालपछि भने नेपालमा वायरलेस इन्टरनेट र केबल प्रयोग गरेको पाइन्छ ।

२०७१ को चैतसम्ममा करिब १ लाख इन्टरनेट प्रयोगकर्ता पुगेका थिए । तर, कम्पनी भने घटेर २३ मा आइपुगेको थियो ।

२०७२ साल चैतसम्ममा १ लाख ३७ हजार ६७७ ग्राहक थिए भने २०७३ साल आइपुग्दा एकै वर्ष ८१ हजार ४४८ प्रयोगकर्ता थपिएर २ लाख १९ हजार १२५ जना ग्राहक बनेका थिए । सो बेला सेवा प्रदायक संस्थाको संख्या २२ वटामात्रै थियो । त्यस्तै, २०७४ साल चैतसम्ममा इन्टरनेट प्रयोगकर्ता दोब्बरले बढेको पाइन्छ ।

२०७३ सालमा २ लाख इन्टरनेट प्रयोगकर्ता रहेकोमा एकै वर्ष १ लाख ९३ हजार ७०१ जना ग्राहक थपिएर २०७४ को चैतसम्ममा ४ लाख १२ हजार ८२६ प्रयोगकर्ता थिए । साथै, सोही वर्ष थप ५ वटा सेवा प्रदायक संस्था दर्ता भएको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

त्यस्तै, २०७५ सालमा झनै ग्राहक बढेको देखिन्छ । साथै, सेवा प्रदायक संस्था पनि १० वटा थप भएको थिए । २०७५ चैतसम्ममा १० वटा सेवा प्रदायक कम्पनी थप भई ३७ पुगेको थिए भने ग्राहकको संख्या ८ लाख २१ हजार २४९ जना ग्राहक बनेका थिए ।

त्यसैगरी, २०७६ सालमा इन्टरनेट प्रयोगकर्ताको संख्या बढेर ११ लाख ५ हजार ११७ पुग्दा सेवा प्रदायक संस्थाको संख्या ४० थिए । २०७७ को चैतसम्ममा भने ग्राहकको संख्या १४ लाख ५७ हजार ५५६ पुगेको अवस्थामा सो वर्ष कुनै पनि नयाँ सेवा प्रदायक संस्था थप भएको देखिँदैन ।

२०७७ सालमा कोरोना महामारीको उच्च प्रभाव परेकाले सो वर्ष इन्टरनेटको प्रयोगकर्ता बढे तर संस्था भने थप हुन नसकेको प्राधिकरणले जनाएको छ । कोरोनाको समयमा अधिकांश पठनपाठन तथा काम अनलाइनमार्फत् भएको इन्टरनेटको प्रयोगकर्ता बढेको प्राधिकरणको भनाइ छ ।

तर, कोरोना महामारीकै कारण २०७८ सालमा इन्टरनेटको प्रयोगकर्ता ह्वात्तै बढेको देखिन्छ । कोरोनाअघि वार्षिक ३ लाखको हाराहारीमा ग्राहक थप भएकोमा २०७८ को चैतसम्ममा ६ लाख बढी प्रयोगकर्ता थपिएको देखिन्छ । साथै, इन्टरनेट प्रदायक संस्था ४० वटाबाट बढेर ५७ पुगेको तथ्याङ्कमा उल्लेख छ । जसमा गत चैतसम्ममा देशभर इन्टरनेट प्रयोगकर्ताको संख्या २० लाख ५३ हजार ८०९ जना पुगिसकेको छ ।

त्यसैगरी, २०७९ को जेठसम्ममा देशभर इन्टरनेटको प्रयोगकर्ता संख्या २१ लाख ७४ हजार २६४ जना छन् भने सेवा प्रदायक संस्था ६० पुगेको छ । अहिले अधिकांश क्षेत्रमा इन्टरनेटको प्रयोग उच्च बढेकाले आगामी दिनमा झनै ग्राहक बढ्ने सेवा प्रदायक कम्पनीहरुको भनाइ छ ।


क्लिकमान्डु