निर्जीवन बीमा व्यवसायमा हवाई बीमाको हिस्सा न्यून, एक महिनामा ६ वटा बीमालेख जारी



काठमाडौं । निर्जीवन बीमा व्यवसायमा हवाई बीमाको योगदान न्यून रहेको पाइएको छ । चालु आर्थिक वर्षको साउन महिनाको मासिक तथ्यांकले निर्जीवन बीमा कम्पनीको व्यवसायमा हवाई बीमाको हिस्सा २.३४ प्रतिशत रहेको देखाएको हो ।

१९ निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब ४७ करोड ५४ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

कम्पनीहरूले २ लाख २१ हजार ६४२ वटा बीमालेख जारी गरी सो बराबरको रकम संकलन गरेका हुन् ।

निर्जीवन बीमा कम्पनीहरूले साउन महिनामा हवाई बीमावापत १० करोड ४८ लाख ८४ हजार रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा कम्पनीहरूमा हवाई बीमाका ६ वटा मात्रै बीमालेख जारी भएका छन् । जुन कुल बीमालेखको ०.०० प्रतिशत मात्रै हो ।

बीमा बजारमा दक्ष जनशक्तिको अभाव हुँदा कम्पनीहरूले हवाई बीमाको व्यवसाय गर्न नसकेको बीमा विज्ञ रविन्द्र घिमिरे बताउँछन् । बीमा बजारमा दक्ष जनशक्ति उत्पादन नभएसम्म कम्पनीहरूले हवाई बीमा गर्न नसक्ने उनको बुझाइ छ ।

हवाई जहाज सञ्चालन गरिरहँदा विभिन्न प्रकारको क्षति र नोक्नसानी हुने खतरा रहन्छ । हवाई जहाज दुर्घटना वा एकआपसमा ठोक्किएको अवस्थामा हवाई जहाजका यात्री, मालसामान र चालक दलका सदस्यलाई पनि क्षति पुग्न सक्छ । हवाई दुर्घटनाले अरूको सम्पत्ति मानव जीवनमा क्षति पुग्दा त्यसको क्षतिपूर्ति भर्नुपर्ने दायित्व हुन्छ ।

हवाई जहाज वा उक्त हवाई जहाजका कारण धन, जन तथा सामान आदिमा हुने नोक्सानीको क्षतिपूर्तिका लागि गरिने बीमालाई हवाई बीमा भनिन्छ ।

साउन महिनाको तथ्यांकअनुसार निर्जीवन बीमा व्यवसायमा सम्पत्ति बीमाको हिस्सा २३.७२ प्रतिशत, सामुन्द्रिक बीमाको हिस्सा ७.३७ प्रतिशत, मोटर बीमाको हिस्सा २२.९५ प्रतिशत, इञ्जिनियरिङ बीमाको हिस्सा २८.५० प्रतिशत छ ।

यस्तै, कृषि तथा बाली बीमाले ४.७२ प्रतिशत र लघुबीमाले ०.१४ प्रतिशत हिस्सा ओगटेका छन् ।

गत आवमा १४४ वटा बीमालेख जारी

गत आवमा कम्पनीहरूमा १४४ वटा मात्रै हवाई बीमाको पालिसी बिक्री भएका थिए । उक्त बीमालेख जारी गरी कम्पनीहरूले गत आवमा १५ करोड १६ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

गत आवको मासिक तथ्यांकअनुसार हरेक महिना सय भन्दा धेरै हवाई बीमालेख जारी भएको समितिको तथ्यांक छ ।

गत आवको जेठ महिनामा निर्जीवन बीमा कम्पनीहरूमा कुल १३६ वटा हवाई बीमालेख जारी भएका थिए । उक्त अवधिमा बाग्मती प्रदेशबाट १३५ र गण्डकी प्रदेशबाट १ वटा बीमालेख जारी भएको थियो । जेठ महिनामा सो संख्याका बीमालेख जारी गरी कम्पनीहरूले ४१ करोड ९५ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

यस्तै, कम्पनीहरूमा जेठ महिनामा हवाई बीमाका ११५ वटा बीमालेख जारी भएका थिए । सो संख्याका बीमालेख जारी गरी कम्पनीहरूले उक्त अवधिमा ५ करोड ३९ लाख रूपैयाँ संकलन गरेका थिए ।

चैत महिनामा १०९ वटा हवाई बीमालेख जारी गरी कम्पनीहरूले १० करोड ७९ लाख रूपैयाँ संकलन गरेका थिए । फागुन महिनामा कम्पनीहरूले हवाई बीमाका ९७ वटा बीमालेख जारी गरी ५९ करोड ४२ लाख रूपैयाँ संकलन गरेका थिए ।


क्लिकमान्डु