युरियाको ‘हाहाकार’ टार्न झोल मल प्रभावकारी, बोराभन्दा आधा सस्तो



विराटनगर । विराटनगरका युवा व्यवसायी एवं उद्योग संगठन मोरङका पूर्वउपाध्यक्ष राकेश सुरानाले नानो ब्रान्डको झोल युरिया मलको व्यावसायिक आयात गरिरहेका छन् । सुराना सञ्चालक रहेको नेपाल मल्टिट्रेड सेन्टरले नानो लिक्विड युरिया मलको आयात केही समययता गरिरहेको हो ।

बाली लगाउने र रासायनीक मल हाल्ने बेला हरेक वर्ष नेपालमा कृषकहरुले मलको अभाव भोगिरहेका छन् । सरकारले बेलैमा मल आयात नगर्दा हरेक वर्ष जसो कृषिप्रधान भनिएको देशका कृषकले सास्ती पाउने गरेका छन् । बेलैमा मल नभएका कारण उत्पादकत्व घट्ने गरेको छ ।

हरेक वर्ष मलको अभाव हुने गरेपछि सुरानाले झोल मल ल्याउनका लागि प्रयास गरेका थिए । ‘मल ल्याउनका लागि धेरै संघर्ष गर्नु परेको थियो’ उनले भने ।

सरकारले नानो मललाई स्वीकृति दिन एक वर्ष लगाएको उनी बताउँछन् । नार्कलगायतका विभिन्न प्रयोगशालामा परीक्षणपछि राजपत्रमा सूचना प्रकाशित गरेर झोल मल प्रयोगको स्वीकृति दिइएको थियो । त्योबेला निजी क्षेत्रका दुइटा कम्पनीले मात्र नानो युरियाको झोल मल बिक्री गर्ने अनुमति पाएका थिए । त्यसमध्ये सुरानाको नेपाल मल्टिट्रेड सेन्टर कम्पनी पनि एक हो ।

झोलमा उपलब्ध हुने यस्तो मल कृषि अनुसन्धान परिषद् नार्कले गरेको परीक्षणमा निकै प्रभावकारी देखिएको उनी बताउँछन् । नार्कका वैज्ञानिकहरुले स्थानीय ज्यापु काउलीमा गरेको प्रयोगमा यस्तो मलबाट हुने कुल लागत अन्य मलबाट भन्दा प्रतिहेक्टरमा ८ हजार १५० रुपैयाँले सस्तो रहेको पत्ता लागेको थियो । यस्तै उत्पादनका हिसाबले पनि झोल मल बढी प्रभावकारी देखिएको छ ।

राकेश सुराना

नार्कले गरेको परीक्षणमा झोल मल प्रयोग गर्दा दाना मल प्रयोगभन्दा प्रतिहेक्टर ४.६७ मेट्रिकटन बढी उत्पादन पाइएको छ ।
सुरानाले आयात गरेको युरिया झोल मल भारतमा ४ करोड १२ लाख सदस्य भएको सहकारी संस्था इन्डियन फार्मर्स एन्ड फर्टिलाइजर्स कोअपरेटिभ लिमिटेड (इफ्को)को उत्पादन हो ।

सुरानाकाअनुसार, इफ्कोले नानो मलको पेटेन्ट राइट लिएर विश्वका नाइजेरिया, श्रीलंका, इजरायललगायतका १२ मुलुकमा निर्यात गरिरहेको छ । भारतका ११ सय कृषिविज्ञान केन्द्रका आधिकारिक प्रयोगशालामा सफल परीक्षण गरेपछि भारत सरकारले नानो मलको प्रयोगलाई स्वीकृति दिएको थियो ।

कति पर्छ ?

झोल युरिया मल ५ सय एमएलको बोतलमा उपलब्ध छ । यसको मूल्य ४ सय रूपैयाँ तोकिएको उनले बताए । पाँच सय एमएलको यो मलले ५० किलोग्रामको एक बोरा रासायनिक दाना युरिया मल बराबरको काम गर्छ ।

जबकि एक बोरा दाना युरिया मलको मूल्य बजारमा १ हजार २५० रुपैयाँ पर्छ । सरकारले एक बोरा युरिया मलमा प्रतिबोरा ७ सय रुपैयाँ अनुदान दिँदै आएको छ । सरकारले अनुदान नदिने हो भने यसको मूल्य १ हजार ९५० पुग्छ । यो मलको प्रयोगले किसानको उत्पादन–लागत उल्लेखनीय मात्रामा घटाउँछ। तर नानो ‘लिक्विड’ युरिया मलले उत्पादन क्षमता बढाउनुका साथै माटोलाई असर नगर्ने सुरानाको दाबी छ ।

एक बोतल नानो युरिया मल ८ देखि १० कठ्ठा जग्गाका लागि प्रयोग गर्न सकिने उनले बताए । एक लिटर सफा पानीमा २ देखि ४ एमएल नानो युरिया हालेर बिरुवामा स्प्रे गर्नुपर्छ । यो मल बालिमा दुई पटक प्रयोगका लागि उपयुक्त भएको उनले बताए ।
पहिलो पटक विरूवाले हाँगा हालेपछि र दोस्रो पटक पहिलो छर्काइको २० देखि २५ दिनभित्रमा वा बालिमा फूल निस्कँदाको समयमा यो मल राख्दा फाइदा पुग्ने उनी बताउँछन् ।

दाना मलको तुलनामा भण्डारण र ढुवानी गर्न पनि झोल मल सजिलो रहेको उनी बताउँछन् ।

‘दाना मल धेरै समय राख्दा हावा र पानीबाट बिग्रने डर हुन्छ, तर नानो झोल मलमा यो समस्या छैन’ उनले भने, ‘दानादार मल लामो समयसम्म भण्डारण गरेर राख्न मिल्दैन ।’

शीत नभएको र पानी नपरेको समयमा यो मल छर्किनु पर्ने र मल छर्किएको १२ घण्टाभित्र पानी परेमा पुनः हाल्नु पर्ने उनी बताउँछन् ।

झोल मलको प्रयोगले पारम्पारिक युरियाको आवश्यकतालाई ५० प्रतिशत घटाउने उनको दाबी छ ।

यो मल प्रयोकर्ताका लागि सुरक्षित रहेको उनी दाबी छ । जैविक सुरक्षा र विषालुपनाको जाँच डिपार्टमेन्ट बायोटेक्कनोलोजी (डीबीटी), भारत सरकारका र ओईसी अन्तर्राष्ट्रिय दिशा–निर्देशन बमोजिम गरिएकोले यो मल सुरक्षित रहेको सुराना बताउँछन् ।

दानादार युरिया र झोलमा के फरक ?

दानादार युरिया मलमा ४६ प्रतिशत नाइट्रोजन हुन्छ । जबकि, बिरुवालाई साढे दुईदेखि ३ प्रतिशत मात्र नाइट्रोजन आवश्यक पर्छ । त्यसैले, ४६ प्रतिशत भएको दानेदार युरियाको प्रयोगले माटोको मौलिक शक्तिलाई हानी पु¥याउने सुरानाको दाबी गर्छन् ।

नानो युरिया झोल मलमा भने साढे ४ प्रतिशत मात्र नाइट्रोजन हुन्छ । स्प्रे गरेपछि १ देखि २ प्रतिशत हावामा उडेर जान्छ र बिरुवालाई आवश्यक नाइट्रोजन मात्र प्रदान गर्छ । यसले गर्दा माटोलाई कुनै हानी पुग्न पाउँदैन ।

आफ्नो कम्पनीले नेपालमा आवश्यक पर्ने पर्याप्त मल आयात र आपूर्ति गर्न सक्ने दक्षता र क्षमता राख्ने सुराना बताउँछन् ।
पोखरा, विराटनगर, दाङ, चितवन, झापालगायतका ठाउँमा मलको आपूर्ति र वितरण गर्न डिलर राखिसकेको उनले बताए ।
अहिलेसम्म ४० हजार बोतल युरिया झोल मल कृषककहाँ पठाइएको उनले बताए । ‘झोल मल प्रयोग गर्ने किसानहरूको प्रतिक्रिया राम्रो आएको छ’ उनले भने ।

तर पसलहरुले बिक्रीका लागि राख्न नमानेको उनी बताउँछन् । मूल्य नतोकी ल्याए आफूहरुले राख्ने उनीहरुले बताउने गरेको सुराना बताउँछन् ।

‘पसल व्यवसायीहरूले भने लिन मानिरहेका छैनन्। कति नाफा लिने भनेर भारतीय सहकारीबाट मूल्य तोकिएर आएको छ । जस अनुसार, कम्पनीलाई २ प्रतिशत नाफा हुन्छ, डिलरलाई ३ प्रतिशत र दोकानदारलाई ५ प्रतिशत नाफा छ । तर, पनि उनीहरू लिन मानिरहेका छैनन्। मूल्य नतोकी ल्याउनु अनि हामी लिन्छौं भन्छन्’, उनले भने ।

सरकारले अनुगमन नगरेका कारण धेरै खुद्रा व्यवसायीहरूले ग्राहकसँग मलबिऊको चर्को मूल्य असूली गरिरहेको उनको आरोप छ । यो मलमा त्यो गर्न पाइ अवस्था नभएकाले समस्या भएको उनी बताउँछन् ।

उपभोक्ताको हितमा र नियम कानूनमा रहेर व्यापार व्यवसाय गर्नेहरूलाई सरकारले सहयोग नगरेको उनको गुनासो छ । ‘हामीसँग प्रत्येक किसानसमक्ष पुग्ने संयन्त्र छैन,’ उनले भने, ‘किसानसम्म पुग्ने भनेको सरकारी निकाय नै हो । त्यसमा कृषि मन्त्रालय, कृषि ज्ञान केन्द्रलगायतका निकायहरू नै हुन्। सरकारले झोल युरिया मललाई प्रबद्र्धन गर्ने हो भने किसानलाई अनुदान पनि दिइरहनु पर्दैन ।’

उनले झोल युरिया मललाई प्रबद्र्धन गर्ने उद्देश्ले स्थानीय तहलाई पनि पत्राचार गरेका छन् । झोल मलको प्रयोगबाट प्रत्यक्षलाभ किसानलाई पुग्ने भएकाले स्थानीय तहहरूलाई सहयोग गर्न आग्रह गरिएको उनको कथन छ।

स्प्रे ड्रोन’को अनुमति माग
किसानले तरल युरिया मलको प्रयोग वैज्ञानिक, आधुनिक र सहज ढंगले गरून् भन्ने उद्देश्यले आफ्नो कम्पनीले स्प्रे ड्रोनको आयात गर्न लागेको पनि उनको भनाइ छ ।

‘स्प्रे ड्रोन’ अर्थात् कृषि विमान आयातको गर्न नेपाल सरकारसमक्ष अनुमतिको लागि फाइल पनि बुझाइसकेको उनले जानकारी दिए ।‘स्प्रे ड्रोन’का प्रयोग गर्न सके उत्पादन लागत खर्च कटौती हुन्छ भन्ने उनको विश्वास छ ।

अहिलेसम्म नेपालमा कृषि विमान आयात गर्ने सरकारी नीति बनेको छैन । त्यही नीति बनाउनको लागि सरोकारवाला निकायहरूले सरकारको ध्यान आकर्षण गराउन आवश्यक देखिएको कृषिविद् सागर भट्टराई बताउँछन् ।


क्लिकमान्डु