निर्णयको आठ महिनामा खुल्यो विराटनगरमा कृषि ज्ञान केन्द्र



विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा कृषि ज्ञान केन्द्र सञ्चालनमा आएको । विराटनगर १३ मलाया रोडमा कृषि ज्ञान केन्द्र, मोरङ सञ्चालनमा आएको हो ।

मोरङमा ज्ञान केन्द्र नहुँदा यसअघि यहाँका कृषकहरू सुनसरी जिल्लाको झुम्का ज्ञानकेन्द्र धाउने गर्थे । उनीहरूले सो जिल्लाको केन्द्रबाट नै कृषिजन्य प्रविधि, मलखादलगायतका सेवाहरू लिन बाध्य भएका थिए ।

प्रदेश १ का कृषिमन्त्री झलकबहादुर मगरले शुक्रबार यस कार्यालयको उद्घाटन गरेसँगै मोरङका कृषकहरू लाभान्वित हुने भएका छन् । कृषि विज्ञ सागर भट्टराई भन्छन् ‘कृषि ज्ञान केन्द्र नहुँदा मोरङका किसानहरूले धेरै वर्षसम्म झन्झट र असुविधा झेल्नु परेको थियो । अब चाहिं मोरङका कृषहरूलाई सहज हुने भयो ।’

उनकाअनुसार, कृषि ज्ञान केन्द्रले किसानलाई कृषि प्रसारको काम गर्दछ । जस्तै, प्रविधि, सिंचाइ, मलखाद आदिको वितरण कार्यमा सहजीककरण गर्दछ । केन्द्रले कृषक समूह र सहकारीमार्फत मलखाद वितरणको काम गर्दै आएको छ ।

प्रदेश १ को मन्त्रिपरिषद्ले अघिल्लो वर्षको माघ महिनामा ताप्लेजुङ, मोरङ, र तेह्रथुममा कृषि ज्ञान केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । तर अझै पनि ताप्लेजुङ र तेह्रथुममा ज्ञान केन्द्रका कार्यालहरू स्थापना हुन बाँकी नै छन् । यी तीन जिल्लाबाहेक प्रदेश १ का ११ जिल्लामा यसअघि नै कृषि ज्ञान केन्द्रहरू स्थापना भइसकेका छन् । यसअघि कार्यालय स्थापना नहुँदा सम्बन्धित जिल्लाका कृषकहरूले कृषिजन्य उद्यम गर्न विभिन्न उल्झन झेल्दै आएका थिए ।

सुन्दरहरैंचा नगरपालिकाका व्यावसायिक कृषक छत्रपति तिम्सिना भन्छन्, ‘मोरङमा कृषि ज्ञान केन्द्र नहुँदा हामीलाई प्रशासनिक झन्झटदेखि भौगोलिक कठिनाइ पनि निकै नै थियो ।’

ताप्लेजुङ र तेह्रथुम जिल्लामा पनि यही असोज महिनाभित्र ज्ञान केन्द्रका कार्यालय स्थापना भइसक्ने प्रदेश १ का कृषि मन्त्रालयकका सूचना अधिकारी डा. गंगाराम यादवले जानकारी दिए । उनकाअनुसार, कृषि उत्पादन बढाउन प्रदेश सरकारले २८ वटा स्थानीय तहमा एक पालिका एक उत्पादन कार्यक्रम सुरु गरेको छ ।

तीन तहको सरकारले स्रोत साधनको उच्चतम प्रयोग गरी कृषिलाई आधुनिकीकरण र सम्मानित पेशाका रुपमा स्थापित गर्न सक्नुपर्ने प्रदेश १ कृषि मन्त्रालयका सचिव मेघनाथ तिमल्सेनाले बताए ।

मोरङमा जनसंख्याको ६५ प्रतिशत मानिस कृषि क्षेत्रमा निर्भर रहेको कृषि विज्ञ भट्टराइले बताए ।


क्लिकमान्डु