अनुदानका भेइकल स्क्यानर चलाउन नसकेको भन्सार विभागद्वारा निजी क्षेत्रलाई आह्वान



काठमाडौं । भन्सार विभागले भेइकल स्क्यानर मेसिन जडान र सञ्चालन गर्न इच्छुक निजी कम्पनीसँग प्रस्ताव मागेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित विभिन्न भन्सार नाकामा मालवाहक सवारी साधन र कन्टेनर जाँच गर्न स्क्यानर मेसिन जडानका लागि निजी क्षेत्रसँग प्रस्ताव मागेको हो ।

नेपालमा १७ वर्षअघि चीन सरकारले भेइकल स्क्यानर मेसिन अनुदानमा दिएको थियो । तर कर्मचारी अभाव, नियमित बिजुली आपुर्तीमा समस्या, मर्मत संभार गर्ने प्राविधक ज्ञानको कमी जस्ता कारण देखाएर भेइकल स्क्यानर मेसिन सञ्चालन गर्न नसकेको भन्सार विभागले वीरगञ्ज सुख्खा बन्दरगाह र विमानस्थल भन्सार कार्यालयमा राखेका स्क्यानर मेसिन भने पूर्ण सञ्चालनमा आउन सकेका थिएनन् ।

यसपटक सरकारले आफैं मेसिन सञ्चालन गर्ने नभइ स्वदेशी तथा विदेशी निजी कम्पनीमार्फत चलाउन खोजेको छ । विभागले असोज १ गते सूचना प्रकाशित गर्दै इच्छुक कम्पनीलाई कति दर रेटमा स्क्यान गर्ने, सञ्चालन मोडालिटी, लागत लगायका विषयमा १ महिनाभित्र प्रस्ताव पेस गर्न आह्वान गरेको छ ।

चीन सरकारले नेपाललाई एउटाको करिब २१ करोड रुपैयाँ परेका दुईवटा भेइकल स्क्यानर मेसिन दिएको थियो । उक्त भइकल स्क्यानर आसिकुडा (अटोमेटेड सिस्टम फर कस्टम डाटा) पल्सबाट सुरु भएको भन्सार डिजिटलाइजेसन प्रणाली हाल आसिकुडा वर्डमा पुगेको छ । तर चीन सरकारले नि:शुल्क दिएका मेसिनहरु भने काम लागेन ।

हरेक ३ सेकेण्डमा देशभरि कति भन्सार राजस्व उठ्यो भनेर हेर्न सकिने प्रणाली विकास हुँदा पनि भन्सार चेक जाँच भने पुरानै ढर्राले चलिरहेको छ । त्यसैले, अहिले विभागले भन्सारलाई प्रविधिमैत्री बनाउनका लागि भइकल स्क्यानरको काम निजी क्षेत्रलाई जिम्मेवारी दिने भएको छ । जसमा भेइकल स्क्यानरमा काम गर्दै आएको कम्पनीसँग विभागले तोकेको मापदण्ड हुनुपर्ने जनाएको छ ।

भेइकल स्क्यानरको जिम्मा पाएको कम्पनीले विभागले तोकेको सेवा शुल्कको आधारमा सञ्चालन तथा व्यवस्थापन गर्नुपर्नेछ । तर, भइकल स्क्यानर कम्पनीको नियन्त्रण गर्ने अधिकार र तथ्याङ्कको विश्लेषण गर्ने अधिकार विभागसँग हुनेछ ।

विभागले भेइकल स्क्यानरका लागि आवश्यक पूर्वाधार तथा सञ्चालन खर्च तोकेको छ । सोहीअनुसार निजी कम्पनीले काम गर्नुपर्ने स्पष्ट गरेको छ । विभागले एउटा सिफ्टमा ५ वटा अपरेटर हुनुपर्ने उल्लेख गरेको छ । जसमा विभागले सिस्टम अपरेटर, मार्सल र सुरक्षा गरी एउटा सिफ्टमा ५ जना अपरेटर हुनुपर्ने जनाएको छ ।


क्लिकमान्डु