बीमितले समय नपुगी किन त्याग्छन् बीमा पोलिसी ?



काठमाडौं । बीमा बचत र सुरक्षा दुबै हो । बैंकमा राखेको पैसा कुनै पनि समयमा निकाल्न सकिन्छ । तर, बीमा गरिएको रकम आफूले चाहेको समयमा निकाल्न मिल्दैन ।

बीमाशुल्क भुक्तानी नगरेमा बाँकी रकम पनि फिर्ता हुँदैन । रकम फिर्ता नहुने हुँदा जसरी भए पनि रकम जुटाएर बीमाशुल्क भुक्तानी गर्नुपर्छ । अर्थात् आफूले खरिद गरेको पोलिसीलाई चलायनमान बनाउन नियमितरूपमा बीमाशुल्क भुक्तानी गर्नैपर्छ । यस अर्थमा बीमा अनिवार्य बचत हो ।

बीमा अवधि सकिएपछि बीमित जीवित रहेमा बीमाङ्क रकम र बोनस रकम बीमित आफैंले पाउँछ । बीमित जीवित नरहेको अवस्थामा बीमा कम्पनीबाट बीमितले इच्छाएको व्यक्ति वा आश्रित परिवालाई सो रकम भुक्तानी हुन्छ । यसको अर्थ बीमा सुरक्षा हो ।

जीवन बीमा जुनसुकै उमेर समूहका मानिसले गर्न सक्छन् । बीमा कम्पनीहरूले विभिन्न अवधिका बीमा पोलिसी बनाएका हुन्छन् । आफ्नो आयस्रोत र उमेरका आधारमा बीमालेख खरिद गर्ने चलन छ ।

नेपालमा बीमा व्यवसाय सुरूवात भएको सात दशक वित्यो । ७ प्रतिशत जनतामा मात्र सीमित भएको बीमाको पहुँच विगत केही वर्षयता उल्लेख्य रूपले वृद्धि भएको पाइन्छ ।

७ प्रतिशतमा सीमित भएको बीमाको पहुँच अहिले ४१ प्रतिशत पुगेको छ । समितिको तथ्यांकअनुसार चालु आवको साउन महिनामा बीमाको दायरामा आएको जनसंख्या प्रतिशत ४१.१५ प्रतिशत छ । यो संख्या म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमालेख सहितको हो ।

गत आवको साउन महिनामा बीमाको दायरामा आएको जनसंख्या प्रतिशत २७.५१ प्रतिशतमात्रै थियो ।

एक महिनामै ८ हजार पोलिसी समर्पण

बीमा समितिले उपलब्ध गराएको चालु आवको साउन महिनाको तथ्यांकअनुसार १९ जीवन बीमा कम्पनीबाट ८ हजार ४२२ वटा पोलिसी त्याग भएका छन् ।

उक्त अवधिमा एक अर्ब ५१ करोड २७ लाख ८५ हजार रूपैयाँ बराबरका पोलिसी समर्पण भएका हुन् ।

आर्थिक वर्ष २०७८÷७९ मा १२ अर्ब १८ करोड ८ लाख रूपैयाँ बराबरका १८ हजारभन्दा धेरै बीमालेख समर्पण भएको समितिको तथ्यांक छ ।

समितिकाअनुसार अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ९ अर्ब ८८ करोड १४ लाख ९४ हजार रूपैयाँ बराबरका ६३ हजार ३३१ वटा पोलिसी त्याग भएका थिए ।

किन हुन्छ पोलिसी सरेन्डर ?

व्यवसाय र पहुँच बढ्दै जाँदा नेपाली बीमा बजारमा पछिल्लो समय देखिएको समस्या हो पोलिसी सरेण्डर । जीवन बीमा गरेर अवधि नपुग्दै उक्त पोलिसी बीचमै रोक्नु सरेण्डर गर्नु हो । बीमितहरूले निश्चित वर्षको लागि भनेर जीवन बीमालेख खरिद गर्ने तर समय नपुगी उक्त पोलिसी त्याग्ने क्रम बढेको हो ।

प्रायजसो बीमा नियामक निकाय बीमा समितिबाट इजाजतपत्रप्राप्त बीमा अभिकर्ताहरूबाट खरिद गर्ने परिपाटी छ । बीमालेख बिक्री गर्ने अभिकर्ताहरूले कमिसनको लोभमा पोलिसी बिक्री गर्दा यस्ता समस्या बढ्दै आएको सरोकारवालाहरू बताउँछन् ।

जबरजस्ती बिक्री गरिएका पोलिसी लामो समयसम्म चल्दैनन् । अर्थात् अभिकर्ताले बीमाको बारेमा बुझाएर बिक्री गरिएका पोलिसी बीचमै बन्द हुँदैनन् ।

बीमा समितिले जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ जारी गर्दै बीमालेख समर्पणमा नयाँ व्यवस्था लागू गरेको थियो । समितिको नयाँ व्यवस्था बमोजिम बीमितले ३ वर्षसम्म पोलिसी समर्पण गर्न पाउँदैनन् ।

उक्त व्यवस्था हुनुअघि बीमितले बीमालेख खरिद गरेको १ वर्षपछि आफ्नो बीमालेख त्याग गर्न सक्थे । सरेण्डर गर्नेको संख्या बढ्दै गएपछि समितिले नयाँ व्यवस्था लागू गरेको थियो । अवधि बढाएपछि पोलिसी त्याग्ने क्रम रोकिने समितिको विश्वास थियो ।

तर, जीवन बीमा कम्पनीहरूमा पोलिसी त्याग्ने क्रममा सुधार भने देखिएको छैन ।

बीमा योजनाका बारेमा बुझेर आफ्नो आवश्यकताअनुसार बीमालेख खरिद गर्ने अभ्यासको विकास नहुँदा बीमितले आफ्नो बीमालेखलाई निरन्तरता दिन सक्दैनन् । र, बीचमै सरेण्डरको बाटो रोज्न पुग्छन् ।

जानकारहरूकाअनुसार बीमितले बीमालेखलाई निरन्तरता दिन नसक्नुका कारणहरूमा बीमितलाई आर्थिक संकट पर्नु, अभिकर्ताले बीमा योजनाका बारेमा बुझाउन नसक्नु पनि हो ।

अभिकर्ताले विभिन्न खाले प्रलोभन देखाएर बीमालेख बिक्री गर्ने प्रवृत्तिले गर्दा पनि बीमितले आफ्नो बीमालाई निरन्तरता दिन नसक्ने सरोकारवालाहरू बताउँछन् । आफ्नो बीमालाई निरन्तरता दिन नसकेपछि बीमितले पोलिसी सरेण्डरको बाटो रोज्छन् ।

कानूनमा बीमितलाई आफ्नो बीमालेख समर्पण गर्न पाउने व्यवस्था छ । जसले गर्दा पनि बीमितले आफ्नो पोलिसी बीचमै छोड्छन् । यस्तो व्यवस्था नेपालमा मात्र नभई विश्वका प्राय सबैजसो देशमा छ ।

बीमालेख खरिद गर्नुपूर्व नै आफ्नो आय, आम्दानीलाई मध्यनजर गरेर आफ्नो आम्दानीलाई सुहाँउदो बीमा पोलिसी खरिद नगर्दा बीमितलाई पोलिसी सरेण्डरको समस्या आउँछ ।

बीमालेख खरिद गर्ने व्यक्तिले आफ्नो आयस्रोतलाई मध्यनजर नगरि क्षमता भन्दा बढी रकमको बीमा गर्दा बीमालाई निरन्तरता दिन सक्दैनन् । बीमा गर्नुपूर्व नै आफ्नो आर्थिक स्थितिलाई असर नपर्ने गरि बीमालेखलाई निरन्तरता दिनसक्ने खालको बीमालेख खरिद गर्यो भने सरेण्डर गर्नुपर्ने अवश्था आउँदैन ।

बीमलेख खरिद गर्नुपूर्व बीमितले आफ्नो आयमा तलमाथि आयो भने कसरी प्रिमियम तिर्न सकिन्छ भन्नेर समेत तयार रहनुपर्छ । बीमितले बीमालेख खरिद गर्नुअघि नै त्यस्ता कुरामा जानकार भएमा आफूले खरिद गरेको बीमालेखलाई निरन्तरता दिन सक्छन्।

समितिद्वारा जारी जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ ले बीमा पोलिसी समर्पण मूल्य समेत निर्धारण गरेको छ ।

बीमितले बीमा पोलिसी सरेण्डर गर्दा भुक्तानी भएको कुल बीमाशुल्कको अधिकतम ९० प्रतिशतसम्म भुक्तानी हुने व्यवस्था छ । साथै, सो अवधिसम्ममा आर्जित बोनस रकमसमेत जोडिने छ ।

जुन बीमितले अवधि नपुगि बीचमै पोलिसी बन्द गर्नुको अर्को कारण पनि हो ।

जीवन बीमा कम्पनीले बीमितहरूलाई भुक्तान गर्ने प्रतिफललाई बोनसदर भनिन्छ । बीमा कम्पनीहरूले आर्जन गरेको मुनाफाको आधारमा प्रतिवर्ष प्रतिहजारमा बोनसदर निर्धारण गर्ने गर्छन् ।

कम्पनीले आम्दानी गरेको वार्षिक कुल नाफामध्ये ९० प्रतिशत रकम बीमितहरूलाई वितरण गरिन्छ भने १० प्रतिशत रकम लगानीकर्तालाई वितरण गर्नुपर्ने व्यवस्था छ ।

बीमितले पाउने बोनसदर हरेक वर्ष थपघट हुन्छ । बोनसदर थपघट हुँदा पनि बीमितले अवधि नसकिँदै पोलिसी बन्द गर्छन् ।

बीमा गर्दा आफ्नो आय रकमले भ्याएसम्मको गर्नुपर्ने बीमा विज्ञ भोज राज शर्मा बताउँछन् ।

‘व्यक्तिले आफ्नो आयको पूरै रकम बीमामा राख्न सक्दैन,’ शर्माले क्लिकमाण्डूसँग भने ‘बीमालाई कति रकम छुट्याउन सकिन्छ, सो अनुसारको बीमालेख खरिद गर्नुपर्दछ।’

सोअनुसार बीमितले बीमालेख खरिद गरेमा भोलिका दिनमा बीमा योजनालाई निरन्तरता दिन सक्ने उनको भनाइ छ । आफ्नो आयलाई आधार मानेर बीमालेख खरिद गर्दा बीमितले आफ्नो पोलिसीलाई निरन्तरता दिन सक्ने उनी बताउँछन् ।

बीमालेख सरेण्डर हुनुको मुख्य कारण आर्थिक संटक नै रहेको उनको भनाइ छ ।

‘आर्थिक संकट पर्यो भन्दै पोलिसी सरेण्डर गर्छु भन्दा बोल्नै मिल्दैन,’ क्लिकमाण्डूसँग शर्माले भने, ‘सरेण्डर गर्ने चलन संसार भरिनै छ, कानूनले नै सरेण्डर गर्न पाउने व्यवस्था गरेको छ ।’

जीवन बीमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठ बीमा किन्दा आफूलाई सुहाँउदो अर्थात आर्थिक अवस्थाले थेग्ने खालको किन्नु पर्ने बताउँछन् । बीमितलाई जुन बीमा योजना सुहाँउदो हुन्छ त्यो पोलिसी किन्नु पर्ने उनी बताउँछन् ।

‘बीमा गर्नुपूर्व बीमितले आफूलाई सुहाँउदो पोलिसी किन्नु पर्छ,’ मेट लाइफका सीईओसमेत रहेका श्रेष्ठले भने,‘बीमितलाई जुन पोलिसी सुहाँउछ त्यही खरिद गर्नु राम्रो हुन्छ, जसले गर्दा उक्त पोलिसी लङटर्मसम्म चलिरहन्छ ।’

कम्पनीहरूले पनि आवश्कताअनुसारको बीमा योजना बिक्री गर्ने गर्दा त्यस्ता पोलिसी बीचमै बन्द नहुने उनको भनाइ छ । ‘जसलाई जुन प्रडक्ट खाँचो छ त्यो प्रडक्ट सेल हुनुपर्छ,’ श्रेष्ठले थपे, ‘ग्राहकहरूले पनि यो मेरो निड हो भनेर खरिद गर्नुपर्छ ।’

कतिपय पोलिसीहरू जबरजस्ती बिक्री गरिएको अवस्था रहेको उनले बताए । जसले गर्दा बीमितले कानूनअनुसार पोलिसी बन्द गर्ने समयमा पोलिसी बन्द गर्ने गरेको उनको भनाइ छ ।

ग्राहकले यो पोलिसी मेरो लागि सुहाँउदो र यो मेरो आवश्यकता हो भनेर पोलिसी किन्ने वातावरण सृजना नभएसम्ममा पोलिसी बीचमै बन्द हुने समस्या चलिरहने उनको बुझाइ छ ।

बीमितलाई बुझाएर बिक्री भएको पोलिसी लामो समयसम्म अर्थात् तोकिएको अवधिसम्म चलिरहने उनले बताए ।

समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जीवन बीमा कम्पनीहरूमा सरण्डरको दर आउँदो वर्षमा घट्ने बताए ।

‘सरेण्डर आउने वर्ष घट्छ । सरेण्डर गर्न पाउनुपर्छ । सोही विषयलाई मध्यनजर गर्दै हामीले बीमालेख खरिद गरेको ३ वर्षपछि सरेण्डर गर्न मिल्ने व्यवस्था गरिदिएका छौँ,’ अध्यक्ष सिलवालले भने, ‘किन हुँदै छ सरेण्डर, कसले गराउँदै छ अध्ययन हुँदै छ।’

उनले बीमा त्याग्ने भन्दा पनि नवीकरण नहुनु ठूलो समस्या रहेको बताए । ‘सरेण्डर भन्दा पनि ठूलो जटिलता ल्याप्समा देखिएको छ,’ उनले भने, ‘बीमा कम्पनीको फोकस भनेको नयाँ व्यवसायमा मात्रै देखिन्छ । भइरहेको बीमालाई निरन्तरता दिने मनस्थिति देखिँदैन ।’

बीमितले बीमालेखलाई निरन्तरता दिन नसक्नुका कारण

खर्चअनुसार आयस्रोत नबढ्नु

आर्थिक संकट आउनु

ऐनले नै सरेण्डर भ्यालु तय गरी पोलिसी त्याग गर्न सक्ने व्यवस्था गर्नु

बीमालाई फाइदाको रूपमा लिइनु

अभिकर्ताले कमिशनको लोभमा जबरजस्ती पोलिसी बेच्नु

अभिकर्ताले भनेअनुसार पोलिसीका बारेमा पूर्ण जानकार नभई बीमालेख खरिद गर्नु

बीमा कम्पनीको बोनसदर घटबढ हुनु

सुहाँउदो पोलिसी नकिन्नु

आवश्यकताअनुसारको पोलिसी खरिद नगर्नु ।


बिजया बास्कोटा