अबदेखि श्रमिकका पति-पत्नीले कोषबाट सुविधा पाउने, वार्षिक ८४ जनालाई छात्रवृत्ति पनि प्रदान गर्ने



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मनत्रालयले योगदानकर्ता सन्तति छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेको छ । मन्त्रालयले सामाजिक सुरक्षा योजनासञ्चालन कार्यविधि, २०७६ को तेस्रो संशोधन गरी स्वीकृत गरेको हो ।

सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम संचालन गरेको तीन वर्षको अवधिमा योगदानकर्ताहरुको हितलाई ध्यान दिँदै विभिन्न योजनाहरुमा निरन्तररुपमा सुधार गर्दै लगेको छ ।

कार्यविधिको तेश्रो संशोधन स्वीकृत भएको मितिले ९१औं दिनबाट प्रारम्भ हुने व्यवस्था गरेको छ । यस संशोधनले हाल योगदानकर्ताले प्राप्त गर्दै आइरहेको औषधि उपचार सुविधा निजको श्रीमान वा श्रमतीसमेतले पाउने गरी व्यवस्था गरिएको छ ।

यसका साथै घातक रोगको औषधि उपचार सुरक्षा योजना अन्तरगत कोषमा कम्तिमा दुई बर्ष योगदान गर्ने योगदानकर्ताको कोरोनरी आर्टरी वाइपास वा ओपन हार्ट सर्जरी, मस्तिष्कघात, मृगौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाईमर्स, स्पाईनल ईन्जुरी, हेड ईन्जुरी, सिकलसेल एनिमिया र हेमोफेलिया वा थालासेमिया रोगहरुको लागि सेवा आवधिभर दश लाख सम्मको उपाचार खर्च समेत कोषले व्यहोर्ने व्यवस्था गरिएको छ ।

घातक रोगको औषधि उपचार सुविधा कोषमा कुनै योगदानकर्ताले योगदान गर्न छाडेको दुई वर्षसम्म लागू रहने व्यवस्थाका साथै कोषको वृद्धाअवस्था सुरक्षा योजना अन्तरगत निवृतभरण प्राप्त गर्ने योगदानकर्ताहरुले निवृतभरण प्रारम्भ भएको सात वर्षसम्म घातक रोग सम्वन्धी सुविधा उपयोग गर्न सकिनेगरी विषेश व्यवस्था गरिएको छ ।

सामाजिक सुरक्षा कार्यक्रमलाई थप विस्तार गर्दै लैजाने क्रममा योगदानकर्ताका सन्ततिहरुलाई चिकित्सा विज्ञान, इन्जिनियरिङ्ग, नर्सिङ्ग, वन विज्ञान, कृषि विज्ञान र होटल तथा ट्राभल व्यवस्थापन विषयका लागि हरेक वर्ष प्रत्येक प्रदेशबाट १२ जनाका दरले जम्मा ८४ जनालाई छात्रवृत्ति प्रदान हुने व्यवस्था योगदानकर्ता सन्तति छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७९ मा गरिएको छ ।

योगदानकर्ता सन्तति छात्रवृत्ति कार्यक्रम आगामी शैक्षिक शत्रदेखि लागु हुनुका साथै प्रतिव्यक्ति बढिमा ५ लाख रुपैयाँका दरले छात्रवृत्ति प्रदान हुने व्यवस्था यस कार्यविधिमा रहेको छ ।


क्लिकमान्डु