बीमा विधेयक पारित, बीमा समिति प्राधिकरण बन्ने



काठमाडौं । बीमा विधेयक, २०७९ प्रतिनिधि सभाबाट पारित भएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको संशोधित बीमा विधेयक, २०७९ लाई पारित गरेको हो ।

अर्थमन्त्रीको समेत कार्यभार सम्हालेकी उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले ‘बीमा विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उक्त प्रस्ताव बहुमतले पारित भएको थियो ।

उक्त विधेयक सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने छन् । राष्ट्रपतिले स्वीकृत गरेर राजपत्रमा प्रकाशित भएसँगै विधेयक ऐनको रूपमा कार्यान्वयनमा आउने छ ।

२०७५ असार २७ मा दर्ता भएको विधेयक हालसम्म अघि बढ्न सकेको थिएन ।

हाल नेपालको बीमा क्षेत्र बीमा ऐन, २०४९ अन्तर्गत सञ्चालन हुँदै आएको छ । विधेयक पारित भएसँगै समिति खारेज भएर प्राधिकरणमा रूपान्तरण हुने छ ।

बीमा समिति खारेज भएर प्राधिकरणमा रूपान्तरण भए पनि हाल भएका अध्यक्ष तथा सदस्यहरू नयाँ ऐन लागू भएपछि स्वतः प्राधिकरणको अध्यक्ष र सदस्य रहनेछन् । ती व्यक्ति आफ्नो कार्यकालभर सोही पदमा बहाल रहनेछन् । यस्तै, बीमा समितिमा रहेका कर्मचारी पनि स्वतः प्राधिकरणको कर्मचारीमा परिणत हुनेछन् ।

यसअघि प्रस्तावित विधेयकमा प्राधिकरण गठनपछि विद्यमान सञ्चालक समिति स्वतः खारेज हुने व्यवस्था थियो । अर्थसमितिले उक्त व्यवस्था हटाएर प्राधिकरणको सञ्चालक समितिमा पनि हालकै सञ्चालक समितिले निरन्तरता पाउने व्यवस्था गरिएको छ ।

विधेयकको दफा २७ मा बीमकको न्यूनतम चुक्ता पुँजी प्रधिकरणले समय समयमा निर्धारण गरे बमोजिम हुने छ उल्लेख छ ।

‘प्राधिकरणले मुलुकको वित्त वा पुँजी बजारको स्थिति, बीमकले निर्वाह गर्नुपर्ने दायित्व, बीमकको वित्तीय अवस्थाको आधारमा अवधि तोकी बीमकलाई चुक्ता पुँजी बढाउन आदेश दिन सक्ने छ’ उल्लेख छ ।

यस्तै, तोकिएको समयमा तोकिए बमोजिमको पुँजी कायम गर्न नसक्ने बीमा कम्पनीको इजाजतपत्र प्राधिकरणले निलम्वन गर्न सक्ने छ ।

प्रस्तावित बीमा विधेयकमा स्नातकोत्तर तहको शैक्षिक योग्यता हाँसिल गरेका व्यक्ति मात्रै बीमा कम्पनीको सञ्चालक समिति बन्न पाउने व्यवस्था गरेको छ ।

नयाँ बीमा ऐन लागू भएपछि यो व्यवस्था लागू हुने छ । नयाँ विधेयकको दफा ९३ को उपदफा ५ मा बीमा अभिकर्ताको इजाजत पत्र दिँदा समान किसिमको एउटा मात्र बीमकको बीमा अभिकर्ताको ईजाजतपत्र दिईने व्यवस्था गरिएको छ ।

तर, जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमा अभिकर्ताले निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमा अभिकर्ता भई कार्य गर्न र निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमा अभिकर्ताले जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमा अभिकर्ता भई कार्य गर्न पाउनेछन् ।

प्रस्तावित बीमा विधेयकको दफा १५६ को उपदफा १ मा बीमा सूचना केन्द्र स्थापना गर्ने व्यवस्था गरिएको छ ।

बीमा प्राधिकरणले बीमा क्षेत्रको सूचना संकलन गरी एकीकृत र व्यवस्थित गर्नका लागि बीमा सूचना केन्द्र स्थापना गर्न सक्ने उल्लेख छ । उक्त बीमा सूचना केन्द्रको नियमन प्राधिकरणले गर्ने छ ।


क्लिकमान्डु