नेपालमा बागवानी विकासका लागि एडीबीको ७ करोड अमेरिकी डलर सहयोग



काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले हर्टिकल्चर (बागवानी) उत्पादकत्व वृद्धि तथा विकासका लागि ७ करोड अमेरिकी डलर (९ अर्ब ३ करोड ४५ लाख रुपैयाँ) सहयोग गरेको छ ।

पहाडी भेगमा फलफूल खेती गरिरहेका किसानहरूको जीवनस्तर उकास्न तथा जलवायु परिवर्तनसँग जुध्नका लागि एडीबीले नेपाललाई सहयोग गरेको हो ।

एडीबीले खाद्य सुरक्षाको जोखिम बढ्दै गएकाले विशेषगरी बागमती, गण्डकी, कर्णाली, प्रदेश १ र सुदूरपश्चिममा रहेका ३० हजार किसानले १० हजार हेक्टर क्षेत्रफलमा मौसमअनुसार उत्पादन गर्दै आएको फलफूलको उत्पादकत्व वृद्धि गर्नका लागि सो रकम सहयोग गरेको जनाएको छ ।

यस परियोजनाका लागि एडीबीले ६ करोड डलर सहुलियतपूर्ण ऋण तथा १ करोड डलर अनुदानका रुपमा उपलब्ध गराउने छ । साथै, सोही परियोजनका लागि नेपाल सरकारले १ करोड ४० लाख डलर खर्च गर्ने भएको छ ।

उक्त रकम कृषक समूह र सहकारीहरुलाई लगानी गर्नका लागि अनुदानको रुपमा उपलब्ध गराइनेछ । साथै, ग्रामीण क्षेत्रका अधिकांश किसानहरू वित्तीय पहुँचभन्दा बाहिर छन् । त्यसैले, एडीबीले किसानहरूलाई वित्त पहुँचका लागि धितो नभएको अवस्थामा ऋण ग्यारेन्टी कोषको स्थापना गरेर अनुदान दिने जनाएको छ ।

एडीबीअनुसार सो परियोजनाअन्तर्गत् कम्तिमा ३० प्रतिशत महिला र २० प्रतिशत पिछडिएका समूहबाट प्रतिनिधित्व गर्ने किसानहरूलाई माटो व्यवस्थापन, बालीपालन र ड्रिप सिँचाइलगायतका जलवायु परिवर्तनका अनुकूलन बारेमा तालिम दिइनेछ ।

नेपालमा बढ्दो शहरीकरण, पोषणयुक्त खानेकुराको ज्ञान, बढ्दो राष्ट्रिय सम्पत्ति र पर्यटनले गर्दा फलफूलको माग बढ्दै गएको छ । तर, फलफूलको उत्पादन भने घट्दो क्रममा छ ।

पछिल्लो समय पहाडी क्षेत्रका खेतीयोग्य जमिन बाँझो राखेर रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका छन् । जसले गर्दा पहाडी क्षेत्रका मानिसहरु विदेशमा कमाएर पठाएको रेमिट्यान्समा भर परेका छन् ।

‘सरकारले सन् २०१६–२०२६ लाई ‘फलफुल दशक’ घोषणा गरेको छ । उक्त योजनालाई एडीबीको ऋणले नेपालको पहाडी क्षेत्रमा बागवानी खेतीलाई पुनर्जीवित गर्न सहयोग गर्नेछ,’ एडीबीको दक्षिण एसियाका लागि वरिष्ठ प्राकृतिक स्रोत तथा कृषि विशेषज्ञ सुनाइ किमले भने, ‘सो ऋणले घरेलु आपूर्ति र माग बीचको खाडल पूर्ति गर्नुका साथै, व्यावसायिक फलफूल र नट खेतीबाट अपेक्षित नाफा कमाउनेछन् । साथै, कृषि क्षेत्रमा युवा जनसंख्यालाई कायम राख्न र महिलाहरुको आयको अवसर प्रदान गर्न मद्दत गर्नेछ ।’

यस परियोजनाले कृषकहरूलाई सामूहिक रूपमा व्यापार योजना तयार गरी आफ्नो उत्पादनको बजारीकरण गर्न, सहकारी र बजारीकरण संघहरूलाई प्रोत्साहन गर्दै बागवानी उत्पादनहरू जम्मा गर्न र गुणस्तर व्यवस्थापन गर्न सक्षम बनाउने एडीबीको दाबी छ ।

एडीबीअनुसार परियोजनाले गुणस्तरीय रोपण सामग्री सुनिश्चित गर्न, नर्सरी र बागवानी क्षेत्र व्यवस्थापनको लागि संस्थागत क्षमतामा सुधार गर्नेछ ।

राष्ट्रिय स्तरमा, परियोजनाले नर्सरी मापदण्ड, प्रमाणीकरण योजना, र निरीक्षण प्रणाली विकास गर्ने एडीबीको भनाइ छ ।

त्यसैगरी, बैंकले ग्लोबल एग्रीकल्चर एण्ड फूड सेक्युरिटी प्रोग्रामबाट ९० लाख डलर अनुदान पनि दिनेछ । यस अनुदानले ०.२ हेक्टरभन्दा कम क्षेत्रफल भएका र व्यावसायिक बगैंचा विकासमा लगानी गर्न नसक्ने, सुख्खा मौसममा सिँचाइयुक्त तरकारी र हिउँदमा पौष्टिक खाद्य बाली उत्पादनमा थप १० हजार साना किसानहरूलाई सहयोग गर्नेछ ।


क्लिकमान्डु