लगानीकर्ता ‘क्लोज आउट’मा पर्दा लाग्ने जरिवानामा संशोधन गर्न धितोपत्र बोर्ड पुगेको विनियमावलीमा के छ ?



काठमाडौं । धितोपत्र कारोबार राफसाफ तथा फछ्यौट (सातौं संशोधन) विनियमावली-२०७९ धितोपत्र बोर्डमा पुगेको छ ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडले बोर्डमा पठाएको उक्त विनियमावलीमा लगानीकर्ताले क्लोज आउटमा पर्दा तिर्ने जरिवानामा संशोधन गरिएको छ ।

यसअघि उक्त विनियमावलीको विनियम २१ (२) मा क्लोज आउट गर्दा राफसाफ सदस्यले क्लोज आउट भएको कारोबार मूल्यको २० प्रतिशत रकम थप गरी सीडीएसीमा बुझाउनु पर्ने व्यवस्था रहेको छ । अहिले त्यसलाई संशोधन गरेर बोर्डमा पठाइएको छ ।

बोर्डमा संशोधनसहित गएको सातांै विनियमावलीमा केही व्यवस्था थप गरिएको छ । जसमा नियमित कारोबारमा क्लोज आउट गर्दा राफसाफ सदस्यले क्लोज आउट भएको कारोबार मूल्य वा नियमित कारोबार भएको दिन बाहेकको दोस्रो दिन अर्थात् (टी प्लस १) को अन्तिम मूल्यको १० प्रतिशत थप गरी हुन आउने रकममध्ये जुन रकम बढी हुन्छ सो रकम सीडीएससिमा बुझाउनु पर्नेछ ।

अक्सन कारोबारमा क्लोज आउट गर्दा राफसाफ सदस्यले अक्सन गर्नु परेको नियमित कारोबारको कारोबार मूल्य वा अक्सन कारोबारमा क्लोज आउट भएको कारोबार मूल्यको १० प्रतिशत थप गरी हुन आउने रकममध्ये जुन रकम बढी हुन्छ सो रकम सीडीएससिमा बुझाउनु पर्नेछ ।

यस्तै धितोपत्र उपलब्ध नभई अक्सन कारोबार हुन नसकेमा क्लोज आउट गर्दा राफसाफ सदस्यले नियमित कारोबारमा क्लोज आउट भएको कारोबार मूल्य वा नियमित कारोबार भएको दिन बाहेकको दोस्रो दिन टी प्लस टू अर्थात् अक्सन कारोबार भएको दिनको अन्तिम मूल्यको १० प्रतिशत थप गरी हुन आउने रकममध्ये जुन रकम बढी हुन्छ सो रकम सीडीएससिमा बुझाउनु पर्नेछ’ भन्ने व्यवस्था रहेको छ ।

सीडीएससीले बोर्डमा पठाएको विनियमावलीमा केही विषय नयाँ थपिएका छन् भने केही विषयमा संशोधन पनि गरिएको छ । उक्त विनियमावलीको विनियम १३ को उपविनियम (१) मा संशोधन गरिएको छ । हाल भएको व्यवस्था हटाएर नयाँ व्यवस्था थपिएको छ । हाल ‘राफसाफ सदस्यले धितोपत्रको राफसाफ तथा फछ्र्यौट कार्य कारोबार भएको दिन बाहेक २ (दुई) कार्य दिन (टी प्लस टू) भित्र गर्नु पर्नेछ’ भन्ने व्यवस्था रहेको छ । संशोधन विनियममा ‘राफसाफ सदस्यले धितोपत्रको राफसाफ तथा फछ्र्यौट कार्य कारोबार भएको दिन बाहेक २ कार्यदिन भित्र गर्नुपर्नेछ । तर, अक्सन कारोबारको राफसाफ तथा फर्छ्यौट कार्य अक्सन कारोबार भएको दिनको भोलिपल्ट (टी प्लस १ भित्र) गर्नु पर्नेछ’ भन्ने व्यवस्था रहेको छ ।

उक्त विनियमावलीको विनियम १४ मा नयाँ उपविनियम राखिएको छ । जसमा अक्सन कारोबारको राफसाफ तथा फर्छयौट गर्दा सीडीएससिले ट्रेड टु ट्रेड आधारमा काम गर्नेछ ।

थपिएको व्यवस्थामा नियमित कारोबारको राफसाफ समयभित्र बिक्रीकर्ताले आवश्यक संख्यामा धितोपत्र उपलब्ध गराउन नसकेमा सीडीएससिले सो सम्बन्धी जानकारी नेप्से र कारोबार सम्बद्ध राफसाफ सदस्यलाई तत्काल उपलब्ध गराउनेछ । साथै त्यस्ता कारोबारहरुको राफसाफ अक्सन कारोबारको राफसाफमार्फत् गरिनेछ ।

नियमित कारोबारको राफसाफअन्तर्गत नपुग धितोपत्रसँग सम्बन्धित कारोबारको राफसाफ तथा फछ्यौट खण्ड (घ) बमोजिम हुने अक्सन कारोबारको राफसाफ गरिनेछ ।

नियमित कारोबार अन्तर्गत बिक्रीकर्ता राफसाफ सदस्यले उपलब्ध गरान नसकेको धितोपत्र बराबरको रकम भ्यालुएसन डेबिटका रुपमा सीडीएससीलाई बुझाउनु पर्नेछ । सीडीएससीले सो रकम अक्सनअन्तर्गत हुने कारोबारको पे-ईन गर्नका लागि ग्यारेन्टीका रुपमा प्रयोग गर्नेछ ।

नेप्सेले पाएको जानकारीको आधारमा नेप्सेले अक्सन कारोबार सम्पन्न गरे पश्चात् सो कारोबारको बिबरण तत्काल सीडीएससीलाई उपलब्ध गराउनेछ भन्ने व्यवस्था राखिएको छ ।

क्लोजआउट गणनाका निमित्त नेप्सेमा सूचीकृत भएका कम्पनीको अन्तिम कारोबार मूल्य नेप्सेले कारोबार विवरणसँगै हरेक दिन सीडीएससीलाई उपलब्ध गराउनु पर्नेछ । बिक्रीकर्ता राफसाफ सदस्यले आफूले बिक्री गरेको धितोपत्र कारोबार सम्पन्न भएको एक कार्य दिनको राफसाफ समयभित्र आफ्नो पूल खातामा जम्मा गर्नु पर्नेछ ।

खरिदकर्ता राफसाफ सदस्यले आफूले खरिद गरेको धितोपत्र बापतको रकम कारोबार सम्पन एक कार्य दिनको राफसाफ समयभित्र राफसाफ बैंकमा रहेको आफ्नो राफसाफ खातामा जम्मा गर्नु पर्नेछ ।

सीडीएससीले नेप्सेबाट प्राप्त विवरणको आधारमा हरेक राफसाफ सदस्यले कारोबार बापत बुझाउनु पर्ने धितोपत्र र रकम तथा बुझाएको धितोपत्र र रकमको गणना गर्नेछ ।

उक्त गणना गर्दा कुनै सदस्यले जम्मा गर्नुपर्ने धितोपत्र र रकम जम्मा नगरेको वा कम जम्मा गरेको पाइएमा उक्त सदस्यलाई नपुग भएको धितोपत्र र रकम जम्मा गराउन सिडिएससीले निर्देशन दिनेछ । साथै रकम जम्मा गर्दा कर दस्तुर शुल्कसमेत थप गर्नुपर्ने भए सोसमेत थप गरी जम्मा गर्नुपर्नेछ ।

उक्त निर्देशन बमोजिम हरेक राफसाफ सदस्यले कारोबार बापत बुझाउनु पर्ने कर दस्तुर शुल गणना गरी राफसाफ सदस्यको खाताबाट आफ्नो खातामा रकमान्तर गराउन सीडीएससीले राफसाफ बैंकलाई निर्देशन दिनेछ । उक्त निर्देशन गर्दा कुनै सदस्यको खातामा रकम पर्याप्त नभएको पाइएमा उक्त जानकारी राफसाफ बैंकले सीडीएससीलाई दिनु पर्नेछ । यस्तो जानकारी प्राप्त भएमा सीडीएससीले उक्त सदस्यलाई तत्काल नपुग भएको रकम जम्मा गराउन निर्देशन दिनेछ ।

खरिदकर्ता राफसाफ सदस्यले कारोबार बापत बुझाउनु पर्ने रकम भ्यालुएसन डेबिट रकमसँग मिलान गर्न सकिने छ । यसरी मिलान गर्दा धितोपत्रको शुरु कारोबार हुँदा कायम भएको मूल्य भन्दा कम मूल्यमा अक्सन कारोबार भई धितोपत्र उपलब्ध भएमा त्यसरी फरक हुन आउने रकम वा राफसाफ सदस्यले कारोबार बापत बुझाउनु पर्ने रकमभन्दा भ्यालुएसन डेबिट रकम बढी भएमा बढी भएको रकम विनियम ४६ बमोजिम गठन भएको फछ्यौट ग्यारेण्टी कोषमा जम्मा गरिनेछ ।

सीडीएससीले खरिदकर्ताको हकमा हरेक खरिदकर्ताको हकमा राफसाफ सदस्यले प्राप्त गर्नुपर्ने धितोपत्रको गणना गरी अक्सन कारोबारसँग सम्बन्धित नियमित कारोबार अन्तर्गतको खरिदकर्ता राफसाफ सदस्यको धितोपत्रको पुल एकाउण्टमा जम्मा गर्नेछ ।

बिक्रीकर्ताको हकमा हरेक बिक्रीकर्ता राफसाफ सदस्यले प्राप्त गर्नुपर्ने रकम गणना गरी राफसाफ बैंकमा रहेको पुल एकाउण्टबाट रकमान्तर गरी राफसाफ सदस्यको राफसाफ खातामा जम्मा गराउन राफसाफ बैंकलाई निर्देशन दिनेछ ।

यस्तै बिक्रीकर्ता राफसाफ सदस्यले आवश्यक धितोपत्र उपलब्ध नगराई धितोपत्र नपुग हुन गएमा वा अक्सन कारोबारमा आवश्यक धितोपत्र उपलब्ध हुन नसकी क्लोजआउट हुने अवस्था आएमा सम्बन्धित बिक्रीकर्ता राफसाफ सदस्यले विनियम २१ बमोजिम क्लोजआउट रकम सिडिएससीमा बुझाउनु पर्नेछ ।

यसरी क्लोजआउट भई खरिदकर्ताले पाउनुपर्ने आवश्यक धितोपत्र नपुग भएमा धितोपत्रको फछयौट गर्दा नियमित सत्रसँग सम्बन्धित कारोबार नम्बरको प्राथमिकताको आधारमा गरिने थप व्यवस्था रहेको छ ।

खरिदकर्ता राफसाफ सदस्यले प्राप्त गरेको धितोपत्र आफ्नो धितोपत्रको पुल एकाउण्टबाट ग्राहकको खातामा हस्तान्तरण गर्नु पर्नेछ । बिक्रीकर्ता राफसाफ सदस्यले प्राप्त गरेको रकम आफ्नो राफसाफ खाताबाट ग्राहकको खातामा जम्मा गरिदिनु पर्नेछ ।

धितोपत्रको शुरु कारोबार हुँदा कायम भएको मूल्य भन्दा बढी मूल्यमा अक्सन कारोबारमा धितोपत्र उपलब्ध भएमा त्यसरी फरक हुन आउने रकम तथा अन्य शुल्क तथा क्लोजआउट रकम राफसाफ सदस्यले सम्बन्धित ग्राहकबाट असूल उपर गरी लिनेछ ।

नियमित कारोबारमा बिक्रीकर्ताले आवश्यक धितोपत्र उपलब्ध गराउन नसकेमा सो नपुग धितोपत्रको लागि अक्सन कारोबार नगरी नियमित राफसाफ चक्रमै क्लोज आउट गरिनेछ ।

सूचीकृत संगठित संस्था दर्ता किताब बन्द रहेको समयमा यदि नपुग धितोपत्रको अक्सन कारोबार गर्दा अक्सन कारोबारको राफसाफ तथा फर्छ्यौट गर्ने दिन राफसाफ प्रणालीमा उल्लेखित नो डेलिभरि पिरियडको अन्तिम दिन (रेकर्ड डेट) भन्दा पछाडि परेमा र म्यानुअल कारोबार (लिलामीमा बिक्री भई कारोबार प्रणालीमा अभिलेख राख्न गरिएका कारोबार), संस्थापक धितोपत्रको स्वीकृत कारोबार, ऋणपत्रको कारोबार तथा नियामक निकायले तोकेका अन्य धितोपत्र कारोबारहरु भएमा यो व्यवस्था लागू हुने छ ।

सिडिएससीले यो विनियमावली स्वीकृत गर्न बोर्डमा पठाएको एक महिना भन्दा बढी भइसकेको छ । उक्त विनियमावलीका विषयमा अध्ययन भइरहेको धितोपत्र बोर्डका प्रवक्ता रुपेश केसीले बताए ।


सोभित थपलिया