७ बीमा कम्पनीको बोनसदरः सूर्या र एशियनको बढ्दा ज्योतिको घट्यो, अन्यको स्थिर



काठमाडौं । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये ७ वटा कम्पनीले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेका छन् ।

अमेरिकन लाइफ इन्स्योरेन्स (मेट लाइफ), एशियन लाइफ, नेशनल लाइफ, सूर्या, नेपाल लाइफ, आइएमई लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेका हुन् ।

आर्थिक वर्ष २०७७/७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपश्चात यी कम्पनीहरूले बीमितलाई दिने बोनसदर सार्वजनिक गरेका हुन् ।

आव २०७६/७७ को तुलनामा सूर्या र एशियनको बीमितले पाउने बोनसदर बढेको हो । ज्योति लाइफको बोनसदर घटेको छ । नेपाल लाइफ, नेशनल लाइफ, आइएमई लाइफ र मेट लाइफको बोनसदर स्थिर रहेको हो ।

ज्योति लाइफको घट्यो

ज्योति लाइफ इन्स्योरेन्सले बीमितलाई आव २०७७/०७८ मा प्रतिहजार न्यूनतम २० रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँ बोनसदर दिने भएको छ । ज्योति लाइफले सार्वजनिक गरेको बोनसदर अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ बाट बीमितलाई न्यूनतम प्रतिहजार ४३ रूपैयाँ बोनस दिएको थियो । अधिकतम बोनसदर ७५ रूपैयाँ थियो ।

एशियनको बढ्यो

एशियन लाइफले अघिल्लो आवको तुलनामा आर्थिक वर्ष २०७७/७८ मा बोनसदर बढाएको छ । कम्पनीले नाफामा सरिक हुने सबै जीवन बीमालेखको लागि प्रतिवर्ष प्रतिहजार न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म दिने भएको छ । कम्पनीले अघिल्लो वर्ष बीमितलाई न्यूनतम ३२ रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म बोनस दिएको थियो ।

मेट लाइफको स्थिर

आर्थिक वर्ष २०७७/०७८ मा मेट लाइफले मुनाफामा सरिक हुने बीमालेखहरूका लागि प्रतिहजार न्यूनतम ४५ रूपैयाँदेखि अधिकतम ८० रूपैयाँसम्म बोनसदर कायम गरेको छ । मेट लाइफले अघिल्लो आवको तुलनामा बोनसदरलाई स्थिर राख्न सफल भएको हो ।

आव २०७६/७७ मा मेट लाइफले प्रतिहजार न्यूनतम ४५ रूपैयाँदेखि अधिकतम ८० रूपैयाँ बोनसदर कायम गरेको थियो ।

सूर्याको बढ्यो

सूर्या नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को तुलनामा बोनस दर बढाएको छ ।

इन्स्योरेन्सले मुनाफामा सरिक हुने (बोनस आर्जन) गर्ने गरी जारी गरिएका जीवन बीमालेखहरूअन्तर्गत आव २०७७÷७८ का लागि प्रतिहजार न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ९० रूपैयाँसम्म बोनसदर दिने भएको छ ।

आव २०७६/०७७ मा इन्स्योरेन्सले प्रतिहजार न्यूनतम ३८ रूपैयाँ र अधिकतम ७२ रूपैयाँ बोनसदर कायम गरेको थियो ।

नेपाल लाइफको स्थिर

नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८ मा प्रतिहजार न्यूनतम ५६ रूपैयाँ र अधिकतम ८२ रूपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले २०७८ असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरूमा कायम हुने गरी बोनसदर निर्धारण गरेको हो ।

इन्स्योरेन्सले आव २०७६/०७७ मा पनि प्रतिहजार न्यूनतम ५६ रूपैयाँ र अधिकतम ८२ रूपैयाँ बोनसदर दिएको थियो ।

नेशनलको स्थिर

नेशनल लाइफले आर्थिक वर्ष २०७७/०७८ का बीमितलाई बीमाअवधिअनुसार प्रतिहजार न्यूनतम ६३ रूपैयाँदेखि अधिकतम ८५ रूपैयाँसम्म बोनसदर दिने घोषणा गरेको छ ।

नेशनलले पनि आव २०७६/७७ को तुलनामा बीमितलाइ दिने बोनसदर स्थिर राख्न सफल भएको हो । नेशनलले आव २०७६/०७७ मा बीमितलाई प्रतिहजार न्यूनतम ६३ रूपैयाँ र अधिकतम ८५ रूपैयाँ नै बोनसदर दिएको थियो ।

आइएमई लाइफको स्थिर

आइएमई लाइफले आर्थिक वर्ष २०७७/७८ मा बीमितलाई प्रतिहजार न्यूनतम २० रूपैयाँ र अधिकतम ७० रूपैयाँसम्म बोनसदर दिने भएको छ । इन्स्योरेन्सले अघिल्लो आवको तुलनामा बीमितलाई दिने बोनसदर स्थिर राख्न सफल भएको हो ।

आव २०७६/७७ मा इन्स्योरेन्सले प्रतिहजार न्यूनतम २० रूपैयाँ र अधिकतम ७० रूपैयाँ बोनसदर दिएको थियो ।

कम्पनीकाअनुसार बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुने छ ।

जीवन बीमा कम्पनीले बीमितहरूलाई भुक्तान गर्ने प्रतिफललाई बोनसदर भनिन्छ  । बीमा कम्पनीहरूले आर्जन गरेको मुनाफाको आधारमा प्रतिवर्ष प्रतिहजारमा बोनसदर निर्धारण गर्ने गर्छन् ।

कम्पनीले आम्दानी गरेको वार्षिक कुल नाफामध्ये ९० प्रतिशत रकम बीमितहरूलाई वितरण गरिन्छ भने १० प्रतिशत रकम लगानीकर्तालाई वितरण गर्नुपर्ने व्यवस्था छ ।

बीमितले पाउने बोनस दर हरेक वर्ष थपघट हुन्छ ।

कम्पनीको नाफा, बीमा दाबी धेरै पर्नु लगाएतका कुराहरूले बीमितलाई दिने बोनसदरमा प्रभाव पार्ने सीइओहरू बताउँछन् ।

मृत्युदर बढ्नु, सरेण्डर बढ्नुु लगाएतका कारणले पनि बोनसदर प्रभावित हुने जीवन बीमक संघका अध्यक्ष निर्मल काजी श्रेष्ठ बताउँछन् ।

‘कम्पनीले आम्दानी गरेको कुल नाफामध्ये ९० प्रतिशत रकम बीमितहरूलाई नै हुन्छ,’ मेट लाइफका सीइओ समेत रहेका श्रेष्ठले क्लिकमाण्डूसँग भने, ‘ल्याप्स रेसियो बढ्दा बोनस दर घट्छ । सरेण्डर दर बढ्दा पनि बोनस दर प्रभावित हुन्छ । मृत्युदर बढ्दापनि घट्छ।’


क्लिकमान्डु