पारिवारिक बिजनेशमा कसरी राज गर्दैछन् छोरीहरु ?



एजेन्सी । करिब १०० वर्षअघि जब कपडा बुन्नमा प्रख्यात नल्ली चिन्नासमी चेट्टीले चेन्नईको टी नगरस्थित आफ्नो घरबाट उत्कृष्ट रेशम र शुद्ध काँचीपुरमको सारीहरु उत्पादन गर्न सानो पसल खोलेका थिए । त्यसबेला कुनै विन्दुमा यो व्यावसायको नेतृत्व एक महिलाले गर्नेछिन् भन्ने अकल्पनिय थियो ।

तर, वर्षेनि २० लाखभन्दा धेरै सारीहरु बेच्ने भारतको सबैभन्दा पुरानोमध्येको यो पारिवारिक व्यावसायमा यस्तै भयो ।

आर्थिक वर्ष २०२१ मा मात्रै ५७० करोड भारुको कारोबार गरेको ‘नल्ली सिल्क सारीज्’ कम्पनीमा उपाध्यक्ष बनेकी लाभन्या नल्लीका लागि २००५ मा पारिवारिक व्यावसायमा प्रवेश गर्दा सबै कुरा सहज थिएन ।

आफ्नो पारिवारिक व्यावसायमा प्रवेश गर्ने पहिलो महिला रहेकी लाभन्या भन्छिन्, ‘रिटेल क्षेत्रलाई त्यो बेला नराम्रो क्षेत्रको रुपमा हेरिन्थ्यो ।’

आफ्नो इञ्जिनियरिङको पढाई पुरा गरेपछि खाली रहेको तीन हप्ताको समय उनले कम्पनीको कार्यालयमा बिताएकी थिइन् । र उनलाई कम्पनीभित्रका सबै कुराले मोहित बनायो ।

‘मलाई खुद्रा प्रणालीले मोहित बनाएको थियो,’ उनी भन्छिन्, ‘पर्दा पछाडि धेरै कुरा भइरहेका थिए । हामीसँग प्रक्रिया र प्रणाली थियो । तर, यो सबै मानिसले गरेका थिए ।’

उनले गरेको सबैभन्दा पहिलो काम नै यो प्रक्रियालाई स्वचालित बनाउनु थियो । केही वर्षसम्म कम्पनीमा काम गरेपछि उनी हार्वर्डमा एमबिएका लागि गइन् । पढाई पुरा भएपछि २०१६ मा आफ्नो पारिवारिक व्यावसायसँग पुनः जोडिनुअघि उनले ‘म्याककिन्सी’ र ‘मिन्त्रा’मा केही वर्ष काम गरेकी थिइन् ।

लाभन्या आफू अनुकूल कुराहरु नभएकाले कम्पनीमा उनले आफ्नो बाटो आफैं बनाउनु परेको बताउँछिन् । उदाहरणका लागि उनले ई-कर्मसको व्यावसायलाई शुन्यबाट बनाएकी थिइन् । उनी भन्छिन्, ‘मेरो सन्दर्भमा पारिवारिक व्यावसायमै जोडिनुपर्छ भन्ने कुनै दबाब थिएन् ।’

लाभन्याले व्यावसायमा प्रवेश गर्दा दबाब भोग्नु नपरेको भए पनि पारिवारिक व्यावसायलाई अघि बढाउने अन्य महिलाहरुमाथि राम्रो गर्नुपर्ने दबाब आफैं आइपर्छ ।

‘म्याक्स कम्पनी’का संस्थापक अनालजित सिंहका तीन सन्तानमध्येकी कान्छी छोरी तारा सिंह भचानीलाई लागि भने आफ्नो ठाउँ आफैं बनाउनुपर्छ भन्ने थाहा थियो । उनी म्याक्स इण्डियाको उपाध्यक्ष तथा ‘अन्तरा सिनियर लिभिङ’की कार्यकारी प्रमुख रहेकी छिन् । कम्पनीले आर्थिक वर्ष २०२२ मा मात्रै २३० करोड भारुको कारोबार गरेको छ । उनी भन्छिन्, ‘मैले जे गर्छु, म त्यसको बारेमा धेरै सेत छु । त्यसेले पनि एक प्रकारको दबाब आफैं सिर्जना भयो । अवसर र स्रोतहरुको उपलब्धता पनि यो दबाबमा थपिएको थियो ।’

३५ वर्षकी भचानीका लागि यो सबै आफैंलाई प्रमाणित गर्नुसँग सम्बन्धित थियो । उनी थप्छिन्, ‘कम्पनी सबै प्रोफेसनलहरुले चलाएका छन् । हामीले व्यावसायसँग जोडिने हो भने हामीले आफूलाई प्रमाणित गर्नुपर्छ ।’

भचानी परिवारले सञ्चालन गरिरहेको व्यावसायमा योग्यतालाई सुनिश्चित गर्नुपर्ने विषय महत्वपूर्ण ठान्छिन् ।

मुम्बईमा रहेको गोदरेज परिवारको चौथो पुस्ताकी ३९ वर्षिय नाइरिका होल्कारका लागि ‘३६० डिग्री फिडब्याक मेकानिजम’ पारिवारिक व्यावसायमा योग्यताको पालना गरिएको सुनिश्चित गर्ने प्रभावकारी बाटो भएको लाग्छ ।

‘मैले पारिवारिक व्यावसायमा प्रवेश गर्नुभन्दाअघि कुनै पनि कुरा सामान्य नलागोस भन्ने सुनिश्चित गर्न ६ वर्षसम्म कानुनी फर्म (ल फर्म)मा काम गरेकी थिएँ,’ होल्कर भन्छिन्, ‘परिवारका हरेक सदस्यसँग आफ्नो जिम्मेवारी हुनु महत्वपूर्ण छ र उनीहरु जवाफदेही पनि हुनुपर्छ । उनीहरुसँग एउटा सम्बन्धित क्षेत्र हुुनपर्छ । परिवारका सदस्यहरुलाई कम्पनीको बोर्डले जवाफदेही बनाएको छ भन्ने कुरा पनि सुनिश्चित गर्नुपर्छ ।’

होल्कर ‘गोदरेज एण्ड बोयस’ कम्पनीको कार्यकारी निर्देशक हुन् । उक्त कम्पनीले आर्थिक वर्ष २०२१ मा १० हजार १४० करोड भारुको कारोबार गरेको थियो ।

आर्थिक वर्ष २०२२ मा १ हजार ३४३ करोड भारुको कारोबार गरेको ‘फुटवेयर’को सामान बनाउने ‘मेट्रो ब्राण्ड’का संस्थापक मलिक तेजनीका नातीनीहरु फरहा र एलिसाले अहिले पारिवारिक व्यावसायलाई अघि बढाइरहेका छन् । मेट्रोले मेट्रो, मोची, वाकवे र दाभिन्चीजस्ता ब्राण्डको संञ्चालकसँगै तेस्रो पक्षबाट सञ्चालक भइरहेका क्रक्स, स्केचर्स, फ्लोरसिइम र फिटप्लवजस्ता ब्राण्डहरुलाई हेरिरहेको छ ।

फरहा पाँच दिदीबहिनीमध्ये दोस्रो हुन् भने एलिसा सबैभन्दा कान्छी ।

‘हामी पाँचै जना दिदीबहिनी छौं,’ मेट्रो ब्राण्डको प्रबन्ध निर्देशक रहेकी ४६ वर्षिया फरहा मलिक भन्जी भन्छिन्, ‘यदि हामीहरु बीचमा दाजुभाई भएको भए, अवस्था कस्तो हुन्थ्यो जस्तो लाग्छ ।’

मेट्रो ब्राण्ढमा उनका बुबा रफिक मलिक अध्यक्ष छन् । फरहा भन्छिन्, ‘हामी हुर्किँदा हामीलाई स्वतन्त्रता दिएर आफूलाई मन लागेको गर्ने छुट थियो ।’

आफू हुर्किँदै गर्दा मेट्रोका पसलहरुसँगका रोमाञ्चक यादहरु फरहासँग छन् । उनी सम्झिन्छिन्, ‘व्यावसाय सानो हुँदा यो एउटा परिवारजस्तै थियो । मेरो बुबाको जन्मदिन पनि पसलमा नै मनाइन्थ्यो । सानै उमेरबाट स्कुल सकिएपछि हामी हजुरबुुबा भेट्न कोलाबा जान्थ्यौ किनकी उहाँ एकदमै रमाइलो हुनुहुन्थ्यो । उहाँले हामीलाई चुट्किलाहरु सुनाउनुहुन्थ्यो ।’

व्यावसाय चलिरहेको भएकाले पनि त्यसमा केही नयाँ परिवर्तन ल्याउनु उनको लागि सबैभन्दा ठूलो चुनौती रहेको उनी बताउँछिन् ।

‘एकप्रकारको तानाशाही प्रवृतिको नेतृत्व थियो,’ उनी भन्छिन्, ‘धेरै जसो व्यावसायको संस्थापकहरु तानाशाही प्रकृतिका हुन्छन् ।’

तर, जब उनी कम्पनीमा थप व्यावसायिक भएर काम गर्न थालिन्, तब नेतृत्व थप सहयोगी शैलीमा रुपान्तरण भएको छ ।

फरहाकाअनुसार उनीजस्ता महिला नेतृत्वकर्ताहरु आक्रामक रुपमा आउँछन् किनकी उनीहरुले सफलता पाउनका लागि आफूलाई हदसम्म लैजानुपर्छ ।

विज्ञहरुकाअनुसार परिवारले सञ्चालन गरेका व्यावसायहरु नेतृत्व तहमा महिलाको भूमिका सुनिश्चित गर्ने महत्वपूर्ण बाटो हो ।

होल्कर स्विकार्दै भन्छिन्, ‘अझैं पनि यसमा धेरै अघि बढ्न बाँकी छ । खासगरी, परम्परागतरुपमा हाम्रोजस्तो उत्पादन र इञ्जिनियरिङकेन्द्रित व्यावसायमा केन्द्रित व्यावसायहरुमा थप काम हुन बाँकी छ । कम्तीमा यो विषय स्थापित गर्नकै लागि पनि पारिवारिक व्यवसायले राम्रो विवधताको अनुपातका लागि बाटो खुल्ला गरेको छ ।’

इण्डियन स्कुल अफ बिजनेस (आइएसबी) अन्तर्गतको ‘थोमस स्मिडहाइनी सेन्टर फर फ्यामेली इन्टरप्राइज’की कार्यकारी निर्देशक सौगता राय पारिवारिक व्यावसायमा पुरुषलाई जस्तै खुल्लारुपमा महिलाहरुलाई पनि भाग दिनुपर्ने बताउँछन् ।

‘अहिले पनि कतिपय परिवारहरु छन् जसले महिलाहरुले मुख्यगरी बुबाआमाले चलाएका व्यावसायमा जोडिनु हुन्छ भन्ने ठान्दैनन्,’ उयनी भन्छन्, ‘यसले नेतृत्व तहमा पुग्ने उनीहरुको अवसरलाई पछि धकेल्छ । सन्तानका रुपमा छोरीमात्रै भएको परिवारमा भने यो पक्षमा बढि स्वतन्त्रता छ ।’

आर्थिक वर्ष २०२२ मा १ हजार ६१६ करोड भारुको कारोबार भएको भिनती अर्गानिक्सकी ३८ वर्षिया सिइओ तथा एमडी भिनती सरफ मुत्रेजा पारिवारिक व्यावसायको माध्यमबाट नेतृत्वकर्ताको भूमिकामा महिलाहरुको संख्या बृद्धि हुनसक्ने बताउँछिन् । उनी भन्छिन्, ‘मलाई पक्का विश्वास छ पारिवारिक व्यावसायले एउटा उदाहरण नै बनाउन सक्छ । जब परिवारले छोरी र छोरालाई समान व्यवहार गर्छ, तब यो सन्देश घरघरमा चाँडै पुग्छ ।’

बुबा भिनोद सरफको केमिकल उत्पादनको व्यावसायमा २००६ मा जोडिएकी मुत्रेजाले २० करोड भारुको बजार भाउ रहेको कम्पनीलाई हाल २० हजार करोड भारुको बनाएकी छिन् । उनी भन्छिन्, ‘सुरुवातमा मैले बुबालाई छायामा मारेर बैठकमा बस्दै व्यावसायको विभिन्न पक्षहरुबारे सिकेको थिएँ । कम्पनी सानो भएकाले यसो गर्न पनि सजिलो थियो । तर, अहिले यो बेग्लै अवस्थामा पुगेको छ र म पनि कम्पनीसँगै हुर्किँदै यो यात्राको भाग भएको छु ।’

पारिवारिक व्यावसाय सञ्चालन गर्नुको ठूलो जोखिम भने यो व्यावसायमात्रै नहुनु रहेको बताउँछिन् मुत्रेजा ।

‘यो परिवारको विरासत हो, तपाईं यसमा पैसाकै लागि मात्र आउनुहुन्न,’ उनी भन्छिन्, ‘योसँगै कैयौं भावनाहरु जोडिएका हुन्छन् । त्यसपछि यहाँ बेग्लै किसिमको विश्वास हुन्छ । कुनै पनि पेशेवरलाई विश्वास गर्न गाह्रो हुन्छ । तर, साँच्चै रुचि छ भने मात्रै पारिवारिक व्यावसायमा जोडिनुपर्छ । नभएमा पेशेवर सिइओ राखेर कम्पनी चलाउनुपर्छ ।’

मुत्रेजाले कम्पनीमा प्रवेश गरेसँगै यसले फार्मेस्युटिकल उत्पादन मात्रै नभएर एग्रो केमिकल, तेल तथा ग्यास, पानीको शुद्धीकरण, व्यक्तिगत हेरचायलगायतका विभिन्न क्षेत्रसँग सम्बन्धित सामग्रीमा पनि काम गर्न थाल्यो । र, अहिले ३५ देशमा यसले निर्यात गर्छ । उनी यसको श्रेय आफूलाई र व्यवस्थित बनाएको श्रेय आफ्नो बुबालाई दिन्छिन् ।

‘मेरो नेतृत्व धेरै लोकतान्त्रिक छ,’ उनी भन्छिन्, ‘म धेरैजसो सामुहिक निर्णय गर्छु, जसले गर्दा हामीले सूचितरुपमा निर्णय लिन सक्छौं । तर, मेरो बुबा संस्थापक भएका कारण थोरै तानाशाही हुनुहुन्छ । त्यसैले पनि हामी एकअर्कालाई ब्यालेन्स गर्छौं र सबैजसो विवाद पनि एउटा टिमको रुपमा समाधान गर्छौं ।’

पारिवारिक व्यावसायमा विवादलाई पर राख्नु सबैभन्दा कठिन चुनौतीमा पर्छ । र, यसका लागि प्रेम र सम्मान नै चाहिने बताउँछिन् पार्ले एग्रोका संस्थापक प्रकाश चौहानका तीनमध्ये जेठी छोरी स्वना चौहान । उनीहरुको बुबाको योजनाअनुसार, स्वना (४६), एलिसा (४४) र नदिया (३६)को जिम्मेवारीलाई उनीहरुको क्षमताअनुसार स्पष्टरुपमा विभाजन गरिएको छ । स्वनाले उत्पादन, गुणस्तर, प्राविधिक कार्य र वित्तको क्षेत्रको जिम्मा लिएकी छिन्, एलिसाले सिएसआरको जिम्मा लिएकी छिन् । र, नदियाले रणनीति पक्ष, विक्री तथा मार्केटिङ र खुद्रा तथा वितरणको पक्षको जिम्मा लिएकी छिन् ।

‘हामीबीच कुनै पनि किसिमको असुरक्षा महशुस हुँदैन,’ पार्ले एग्रो ग्रुपकी सिइओ स्वना भन्छिन्, ‘पारिवारिक व्यावसायको एउटा ठूलो फाइदा तपाईंहरु आफैं एकअर्का ठोक्किनुपर्ने ठाउँमा हुनुहुन्छ । त्यसैले हाम्रो कामअनुसार तनावको स्तर पनि उत्तिकै बाँडिन्छ ।’

तीनैजना दिदीबहिनीहरु लामो समयदेखि पारिवारिक व्यावसायको भाग बनेका छन् । स्वना भन्छिन्, ‘हामीहरु युवा हुँदादेखि नै व्यावसायमा छौं । मैले आफूलाई पहिल्यै मानसिकरुपमा यहि गर्ने हो भनेर तयार गरिसकेकी थिएँ ।’

पारिवारिक नाम ‘चौहान’ र ‘पार्ले एग्रो’ आफ्नो भिजिटिङ कार्डमा हुनुले राम्रोसँग प्रयोग गर्न जानेमा धेरै बाटाहरु खोलेर फाइदा पु¥याउने बताउँछिन् उनी ।

भन्छिन्, ‘हाम्रो बुबाले हामीमाथि सकरात्मक प्रभाव पार्नु भएको छ । उहाँ समयअनुसार चल्नु भएको छ र परिवर्तन अनुकुल हुनुहुन्छ, जुन हामीमध्ये कोही छैनौं ।’

पार्ले एग्रोमै एमडी तथा सिएमओरहेकी उनकी बहिनी नदिया पनि स्वीकार्दै भन्छिन्, ‘तपाई एकदमै फुर्तिलो र बदलिँदो वातावरणसँग अनुकुल हुन आवश्यक हुन्छ ।’

आफूले एक दशकअघि कम्पनीमा प्रवेश गर्दाको समय सम्झिँदै नदिया आफूले केवल कुराहरु फेर्नमात्रै नआएको बताउँछिन् ।

‘म कम्पनीका लागि केवल स्पष्ट लक्ष्य स्थापित गर्न चाहन्थे, जसले सबैलाई त्यो लक्ष्यअनुसार परिवर्तन हुनपर्ने गराओस्’, उनी भन्छिन्, ‘त्यो लक्ष्य हासिल गर्नका लागि भएका परिवर्तनहरु सम्भव थिए किनकी सबैलाई थाहा थियो लक्ष्य पाउने बाटो त्यही मात्र छ ।’

महिला नेतृत्वकर्ताहरुका लागि मुख्य चुनौती काम र परिवारलाई व्यवस्थापन गर्नु हो । गोदररेज एण्ड बोयसकी होल्करका अनुसार एउटा महिला नेतृत्वकर्ताले व्यावसाय सञ्चालन गर्दै परिवारको हेरचाह गर्नुपर्छ । यही कारण पनि थोरै मात्रै महिलाहरु कार्यकारीको पदसम्म पुग्ने गरेको उनी बताउँछिन् ।

यही कारण ऐतिहासिकरुपमा पनि महिलाहरुले मुख्य व्यावसाय र संगठनको सञ्चालनभन्दा बाहिर आफ्नो लागि अवसर निर्माण गरेको बताउँछन् इण्डियन स्कुल अफ बिजनेसका राय । उनी थप्छन्, ‘तर, यो परिवर्तन हुँदै छ । नयाँ पुस्ताका महिलाहरु वास्तवमा पारिवारिक व्यवासायमा सामेल हुन इच्छुक छन् । यो निकै रोचक शुरुवात हो । तर, अझै धेरै लामो बाटो बाँकी छ ।’

मेट्रो ब्राण्डकी फरहा महिलाहरुले परिवार र कामलाई सँगसँगै लैजानु पर्ने भएकाले पनि धेरै काम एकसाथ गरिरहेको हुने बताउँछिन् । उनी भन्छिन्, ‘हरेक दिन काममा आउन पाउनु पनि एउटा अवसर हुन्छ । त्यसैले हामी यसलाई निकै महत्व दिन्छौं र यसबाट धेरै परिणाम खोज्छौं । हामी काममा आउनका लागि केही त्यागेर आएका छौ भन्ने थाहा हुन्छ । र, यसले नै हामीलाई थप हौसला दिन्छ र हामी पनि थप मिहेनत गर्छौं ।’

फरहा कार्यक्षेत्रमा विभिन्न जातजातीका महिलाहरुको उपस्थित आवश्यक भएको बताउँछिन् । यसले कम्पनीमा विविधता ल्याउने बताउँछिन् । हरेकको सोचाई फरक हुने भएकाले यसले प्रभाव पार्छ ।

उनकी बहिनी एलिसा मलिक पारिवारिक व्यवसायमा सबैभन्दा ठूलो अवसर निरन्तर नयाँ नयाँ खोज गर्न पाउनु भएको बताउँछिन् । मेट्रो ब्राण्डको इ–कर्मस तथा मार्केटिङकी अध्यक्ष रहेकी उनी भन्छिन्, ‘मेट्रो ब्राण्ड ७० वर्षदेखि पारिवारिक व्यावसायको रुपमा छ । तर, मेरो बुबाले भनेजस्तो यो ७० वर्ष पुरानो स्टार्टअप हो ।’

चौहान दिदीबहिनीजस्तै मलिक दिदीबहिनीको पनि कम्पनीमा स्पष्ट भूमिका विभाजन भएको छ । फरहा भन्छिन्, ‘हाम्रो परिवारमा हामी छलफल गर्न मन पराउँछौ । हामी अरुको विचार सुन्छौं र सबैलाई सहज हुने निर्णयमा पुग्छौं ।’

जहाँसम्म नयाँ पुस्ताको कुरा छ, उनीहरुको परिवारमा १० जना नातीनातिनीहरु छन् । फरहा उनीहरुमध्ये कुनै एकजना मात्रै पारिवारिक व्यावसायमा आए वा सञ्चालकको भूमिकामा बसेमा राम्रो हुने विश्वास गर्छिन् ।

पारिवारिक व्यवसायको विरासत थामिरहेका सबै महिलाहरु नयाँ पुस्ताले पनि त्यसलाई अघि बढाओस् भन्ने चाहन्छन् । स्वना चौहानजस्ता केहीले त आफ्ना सन्तानलाई व्यावसायमा सामेल पनि गराउन थालेका छन् । उनको ९ वर्षको छोरा जहान उत्पादन विभागमा आउन मन पराउँछन र कुनै अपरिचितले ‘फ्रुटी’ पिइरहेको देख्दा आफूलाई भएको गर्व व्यक्त गर्न लाज मान्दैनन् ।

‘मेरो छोरा पारिवारिक व्यवसायमा नजोडिएमा म निराश हुन्छु,’ स्वना भन्छिन्, ‘त्यसैले पनि मैले उसलाई हुर्काउन सक्षम छु भनेर देखाइरहेको छु । तर, मलाई थाहा छ म हदसम्म पुग्न हुँदैन र अन्तिम निर्णय त उसकै हुन्छ ।’

धेरै महिला नेतृत्वकर्ताहरुले पारिवारिक व्यवसायको विरासत थामिरहँदा इण्डिया आइएनसीले पनि बोर्डरुममा विविधता देख्नेछ । अन्ततः यो व्यवसायकै लागि राम्रो पक्ष हुनेछ ।


क्लिकमाण्डू