साना तथा मझौला कम्पनीको सेयर कारोबार गर्न छुट्टै नियमावली बनाउँदै धितोपत्र बोर्ड



काठमाडौं । नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीका लागि आवश्यक नियमावली बनाउन यही साता अध्ययन समिति बनाउने भएको छ । धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज नेप्सेबीच करिब ६ महिना लामो बिबादपछि बोर्डले नियमावली बनाउने तयारी गरेको हो ।

बोर्डका अध्यक्ष रमेश हमालले धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीले छुट्टै बोर्डमा सेयर कारोबार गर्नका लागि आवश्यक पर्ने नियमावली बनाउन यही साता अध्ययन समिति बनाइने बताए ।

‘हामी यो विषयमा अध्ययन गरिरहेका छौं,’ अध्यक्ष हमालले क्लिकमाण्डूसँग भने, ‘म बोर्डमा आउने वितिकै यो विषय अघिबढाउने भनेको, करिब ७ महिना ढिला भयो । हामी यो साता नै नियमावली बनाउन समिति बनाउने छौं ।’

समितिले अधिकतम छिटो विनियम बनाउने र त्यो विनियम बोर्डको सञ्चालक समितिबाट पारित भएर, अर्थ मन्त्रालय हुँदै, मन्त्रिपरिषदबाट पारित भएपछि कार्यान्वयमा आउने छ ।

बोर्डको अध्यक्ष हमाल आए लगत्तै स्माल मिडियम इन्टरप्राइजेज (एसएमई) इन्डेक्स प्लेटफर्म कार्यान्वयन गर्ने भनेका थिए । अध्यक्ष हमालले एसएमई कार्यान्वयन ल्याउनका लागि भन्दै नेप्सेलाई तत्काल विनियमावली बनाउन पटक पटक निर्देशन दिएका थिए ।

तर, बोर्डले नियमावली नबनाई विनियम बनाउन नमिल्ने भएका कारण यो कामले पूर्णता पाउन सकेको थिएन । अब भने बोर्डले नियमावली बनाएर नेप्सेलाई त्यसको आधारमा विनियमावली बनाएर यो व्यवस्था कार्यान्वयन गर्न बाटो खोल्ने भएको छ ।

स्रोतका अनुसार बोर्ड अध्यक्ष हमालले आए लगत्तै विनियमावली बनाउन नेप्सेलाई निर्देशन दिएपनि बोर्डकै कर्मचारीले नियमावली सेबोनले नबनाई विनियम नेप्सेले बनाउन सक्दैन भनेर सुझाव नदिएका कारण करिब ६ महिनासम्म यसको प्रगति शुन्य भएको हो ।

‘हाम्रा अध्यक्षज्यूले लामो समयदेखि नेप्सेले विनियमावली नबनाएर एसएमई कार्यान्वयनमा जान सकिने भनिरहनु भएको थियो,’ बोर्डका एक कर्मचारीले भने, ‘अहिले अध्यक्षज्यूलाई कसले भनिदियो कुन्नी नियमावली बनाई विनियम बनाउन मिल्दैन भनेर । त्यही भएर अब नियमावली बनाउन अध्ययन गर्ने भन्ने सुनिएको छ । अब यो काम शुरु हुन्छ होला ।’

ती कर्मचारीका अनुसार अध्यक्ष हमाललाई आउनासाथ माथिल्लो तहका कर्मचारीले यो विषयमा जानकारी गराएको भए अहिलेसम्म कार्यान्वयनमा आउने थियो ।

अध्यक्ष हमालका अनुसार अब बन्ने विनियममा कम्पनीको चुक्ता पुँजी बढीमा २० करोड रुपैयाँ हुनेछ । विनियम बनाउँदा अन्तराष्ट्रिय अभ्यासलाई पनि हेर्ने हमालको भनाइ छ ।

बोर्डले एसमएईज कार्यान्वयनका लागि नियमावली बनाउने भएपछि हाल नेप्सेमा सूचीकृत रहेका २० करोडभन्दा कम पुँजी भएका कम्पनीहरु मूख्य बोर्डमा रहेन वा एसएमईमा रहने हुन भन्ने चर्चा पनि सुरु भएको छ । कतिपय थोरै पुँजी भएका कम्पनीहरुको पनि अहिले सेयर मूल्य राम्रो रहेको छ ।

उदाहरणका लागि युनिलिभर नेपालको चुक्ता पुँजी ९ करोड २० लाख ७० हजार रुपैयाँ छ । यो कम्पनीको सेयर मूल्य १८ हजार रुपैयाँभन्दा बढी छ ।

हाल यो कम्पनीको मेन बोर्डमा कारोबार भइरहेको छ । अब यो कम्पनी यदि एसएमईमा गयो भने कम्पनीको मूल्य घटेर लगानीकर्तालाई नोक्सान पर्ने हो की भन्ने चर्चा पनि शुरु भएको छ । बोर्ड अध्यक्ष हमाल यो विषयमा के गर्ने भनेर अध्ययनपछि मात्रै भन्न मिल्ने बताए ।

‘त्यही के गर्ने हो भनेर अध्ययन गर्दै छौं’ उनले भने ‘हामी जे गर्छौं लगानीकर्ताको हितमा काम गर्छौं, लगानीकर्ताको अहित हुने कुनै काम गर्दैनौं ।’

बोर्ड अध्यक्ष हमालले अहिले बोर्डले साना कम्पनी र ठूला कम्पनी एकै बोर्डमा हुँदा सेयर कारोबारमा विकृति भित्रिएको बताउँदै आएका छन् । हमालले साना तथा ठूला कम्पनीलाई फरक फरक बोर्डमा राख्ने हो भने सेयर बजारमा देखिएको विकृती हट्दै जाने तर्क गर्दै आएका छन् ।

साना तथा मझौला कम्पनीले आफुलाई आवश्यक पर्ने पुँजी संकलनका लागि पुँजी बजारबाट संकलन गर्ने भएका छन् । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा लागत बढी पर्ने भएका कारण पुँजी बजारमा आएर पुँजी संकलन गर्नका लागि साना तथा मझौला प्लेटफर्म आवश्यक रहेको बताइँदै आएको छ ।

स्रोतका अनुसार साना कम्पनी पुँजी संकलनका लागि आउने हो भने पनि आइपीओ ल्याउँदा बोर्डलाई तिर्नुपर्ने शुल्क, बिक्री प्रबन्धकलाई तिर्नुपर्ने शुल्क, सिडिएससीलाई तिर्नुपर्ने शुल्क, आईपीओ निष्कासन गर्दा लाग्ने विभिन्न शीर्षकमा लाग्ने खर्चका कारण संकलन गर्ने पुँजी भन्दा बढी खर्च हुने हो कि भन्नेमा पनि चिन्ता शुरु भएको छ । यो विषय अध्ययनले सम्बोधन गर्दै अध्यक्ष हमालले बताएका छन् ।

‘मानौ साना तथा मझौला कम्पनीका लागि २/३ करोड रुपैयाँ संकलन गर्नुपर्ने हुनसक्छ’ बोर्ड निकट स्रोतले भन्यो ‘आईपीओ निष्कासन गर्दा नै डेढ २ करोड खर्च लाग्यो भने त्यसको अर्थ पनि हुँदैन ।’

धितोपत्र बोर्डले आर्थिक वर्ष २०७७/७८ र चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा साना तथा मझौला कम्पनीलाई छुट्टै करोबार हुने गरी एसएमई प्लेटफर्म बनाउने नीति लिएको छ ।

आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा ‘साना तथा मझौला कम्पनीहरुको लागि छुट्टै कारोबार हुने गरी एसएमई प्लेटफर्म तथा अन्य कम्पनीको कारोबारका लागि मेन बोर्डको व्यवस्था गर्नका लागि नेप्सेलाई सहजीकरण गर्ने’ भन्ने व्यवस्था गरेको थियो ।

यस्तै आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा ‘साना तथा मझौला उद्यमहरुको धितोपत्र कारोबारका लागि एसएमईज प्ल्याटफर्मका लागि आवश्यक व्यवस्था मिलाई व्यवसायिक कृषिजन्य उद्यमलाई पुँजी बजारमा आवद्ध गरिनेछ’ भन्ने व्यवस्था रहेको छ ।


क्लिकमान्डु