५० लाख पर्यटक ल्याउने कुरा गरेर मात्रै हुँदैन, पर्यटनमा सपना र विपनाको तालमेल मिलाउन सक्नु पर्छ
नेपालका विषयमा विदेशीले गरिदिएको प्रचारका आधारमा नेपालको पर्यटन आजको विन्दुमा पुगेको हो । आगामी दिनमा नेपालले पर्यटनबाट लाभ लिन आफैंले प्रचारप्रसार गर्नुको विकल्प छैन ।
सांग्रिला शब्दको सुरूवात नेपालबाट भएको हो । नेपाल र तिब्बत भ्रमण गरेपछि जेम्श हिल्टनले सन् १९३७ मा लेखेको उपन्यास लस्ट होराइजनमा पहिलो पटक सांग्रिला शब्द प्रयोग गरेका थिए । टाढाको सुन्दर, काल्पनिक र सुन्दर ठाउँ चिनाउन सांग्रिला शब्द प्रयोग गरिएको थियो ।
आजका दिनसम्म नेपालको पर्यटकीय सम्भावनाको प्रचार नेपालीले गर्न सकेका छैनन् । विदेशीले विश्वका विभिन्न भुभागमा नेपाल पृथ्वीको स्वर्ग भन्दै चिनाउन सुरु गरेपछि नेपालमा पर्यटन बढेको हो ।
अब हामी आफैंले आफ्नो देश चिन्नु पर्छ । अनि मात्रै हामी विदेशी नागरिकलाई नेपालका विषयमा बुझाउन सक्नेछौं । नेपालको प्राकृतिक वा वन्यजन्तू पर्यटनको सम्भावनाका विषयमा जोन कपले संसारलाई जानकारी गराएका थिए । जिमी रबटले पदयात्राको प्रचारप्रसार सुरू गरेका थिए ।
सन् १९५० पछि संसारका धेरै देशसँग नेपालको दैत्य सम्बन्ध स्थापना भयो । नेपालको पर्यटन प्रवर्धन विदेशी राजदुत र राजदुतावासका कर्मचारीले गरेका हुन् ।
राजदुतहरुले आफ्नालाई नेपाल घुम्न बोलाए । जसले गर्दा नेपाल घुम्न आउने पर्यटनको संख्या बढ्दै गयो । अर्काे नेपालका पर्यटन बढ्नुको कारण थियो, गाँजा ।
मन्दीरमा भजन गाउँदासमेत गाँजा खान पाइने अवसरका कारणमा नेपालमा हिप्पी पर्यटन बढ्यो । तर, संयुक्त राष्ट्र संघको नेतृत्वका गाँजालाई प्रतिबन्ध लगाउने निर्णयपछि नेपालमा पर्यटकको संख्या घटेको थियो ।
पर्यटन उद्योगमा सपनाको व्यापार हुन्छ । पर्यटन व्यवसायीले आफ्नो ग्राहकको मनोविज्ञान बुझ्न सक्नु पर्छ । प्रत्येक पर्यटकका आ-आफ्नै सोचाई र चाहना हुन्छन् । पर्यटकका चाहना बुझ्न सक्ने हो भने पर्यटन क्षेत्रमा ठूलो अवसर छ । नेपालका लागि पर्यटन कहिल्यै नरोकिने र नसुक्ने खोला हो ।
आधुनिक व्यक्ति कस्तो ठाउँमा बस्न रुचाउँछन्, के खान खान खोज्छन्, हामीले बुझ्ने प्रयास गर्नुपर्छ । पर्यटनमा बासी सामान बिक्री हुँदैन । होटल होस् वा रेष्टुरेन्टले एउटा निश्चित अवधीपछि केही न केही परिर्वतन गर्न सक्दा पर्यटकले राम्रो महशुस गर्छन् । पर्यटनमा प्रोडक्ट नयाँ थपिनु पर्छ । तर, पर्यटकलाई सेवा गर्ने व्यक्ति उहीँ हुनु पर्छ ।
नेपालको पर्यटन सगरमाथा वा लुम्बिनी भएर वा नेचर र कल्चरले विकास भएको होइन । नेपालीको मानवीय स्वभाव र स्वागतको भावनाले नेपालको पर्यटन विकास भएको हो । नेपालमा हिमाल र मानिसको मुस्कान हेर्न समेत पर्यटक आउने गर्छन् ।
विदेशीले नेपाललाई कति राम्रो मान्छन् भने सशस्त्र विद्रोहको माओवादीकालमा समेत नेपालमा पर्यटक घटेका थिएनन् ।
मनले तानेको र धार्मिक पर्यटक निकै प्रतिवद्ध हुन्छ । नेपाल आउने पर्यटकको सम्बन्ध नेपालसँग मनदेखि जोडिएको छ । जसले गर्दा भुकम्पको विशम परिस्थितिमा समेत पर्यटक आएका थिए । हाम्रो मानवीय स्वभावले पर्यटकको संख्या बढेको हो । नेपालीको प्राकृतिक मुस्कानले पर्यटक बढेको हो ।
नेपालभित्र संसार छ । नेपालले आफ्नो महत्व बुझ्न सकेको छैन । एक तोला यार्चागुम्बुले एक ट्रक चामल किन्न सकिन्छ । तर, हामी अभैm पनि चामल उत्पादनमा बढी केन्द्रीत छौँ । हिमाल र पहाडमा कयौं महत्त्वपूर्ण जडिबुटी छन् । हामीले थाहै पाएका छैनौं ।
नेपालका बारेका नेपालीलाई विदेशीले किताब लेखेर सम्झाएका छन् । हामी परिजिबी भइसकेका छौं । हामी कयौं प्रविधी जानेका जानेका व्यक्तिका सन्तान हौं । तर, हामी निरन्तर परनिर्भर बन्दै गएका छौं ।
नेपालीले नकारात्मक कुरा गर्न र लेख्न जानेका छन् । यहाँ नकारात्मक कुरा गर्ने व्यक्तिलाई नायक बनाउने गरिएको छ । यसरी देश बन्छ ? नकारात्मक कुरा गरेर संसारमा कुनै देश बनेको छैन ।
हामीले धेरै पर्यटन ल्याउने गरि काम गर्नु हुँदैन । केही व्यक्ति ५० लाख पर्यटक ल्याएर नेपाल विकास गर्ने बताउँनु हुन्छ । संस्कृति र प्रकृतिमा आधारित पर्यटनमा धेरै पर्यटक ल्याउनु हुँदैन ।
नेपालमा कति पर्यटक ल्याउँदा कुनै पनि क्षेत्रमा नकारात्मक असर पर्दैन् भनेर क्यारिङ क्यापासिटीको अध्ययन गर्नु पर्छ । हामीले सबै क्षेत्र खुल्ला गर्नु हुँदैन । हामीले देशका केही गन्तव्यलाई रहस्यमय बनाउँनै पर्छ ।
नेपालमा थाइल्यान्ड जस्तो पब हेर्न वा ठूलो कुनै कार्यक्रम हेर्न पर्यटक आउने होइन ।
नेपालको संस्कृतिले पर्यटकलाई समेत प्रभाव पारेको छ । नेपालमा भगवानप्रतिको आस्था घटेको छैन । म सानो छँदा स्वयम्भू जाँदा जस्तो भिड हुन्थ्यो, अहिले पनि त्यस्तै भिड हुन्छ ।
हामीसँग भएको तर अन्य देश सँग नभएको प्रोड्क्टलाई प्रचार प्रसार गर्न जोड दिनु पर्छ । हनी हन्टिङ नेपालको युनिक प्रोडक्ट हो । चरा हेर्न मात्रै नेपाल आउन खोज्ने धेरै छन् । कर्णाली प्रदेशका कयौं गन्तव्य रहस्यमय छन् । हामीले हाम्रा गन्तव्यलाई प्रचार राम्ररी प्रचारप्रसार गर्न सक्नु पर्छ ।
नेपालमा १४००० फिट माथि रूख नहुने तर जंगली फूलहरू फूल्ने ठाउँ छन् । बाक्लो घाँसे मैदान हुन्छ । प्राकृतिक कार्पेट जस्तो । डोल्पामा यस्ता कयौं गन्तव्य छन् । त्यसैले कुन क्षेत्र पर्यटकका लागी कहिले खुल्ला गर्ने भन्ने विषयमा हामी रणनीति र कार्ययोजना बनाउनु पर्छ ।
पर्यटकलाई डलरको चस्माबाट मात्रै हेर्नु हुँदैन । संरक्षणमात्रै गर्ने भनेर पनि हेर्नू हुँदैन । हामीले सन्तुलित विकास गर्ने गरी नीति बनाउनु पर्छ । ५० लाख पर्यटक ल्याउने फूर्ति गरेर पर्यटन दीगो हुँदैन ।
देशभरमा पर्यटक लैजान्छु भनेर पर्यटन विकास हुँदैन । पर्यटनमा सपना र विपनाको तालमेल मिलाउन सक्नु पर्छ । के खुल्ला गर्ने र कहाँ संरक्षण गर्ने भन्ने विषयमा सरकारी निकाय गम्भीर हुनु पर्छ ।
भिजिटर क्यारिङ क्यापासिटीका विषयमा योजना बनाउनु पर्छ । पर्यटनलाई आजमात्रै बचाउने होइन । भोलिका दिनमा पनि पर्यटनले निरन्तरता पाउनु पर्छ । पर्यटन दीगो बनाउन सबै क्षेत्र खुल्ला गर्नु हुँदैन । सबै क्षेत्र खुल्ला गरेर पर्यटन विकास गर्छु भन्नु आत्महत्या जस्तै हो ।
सरकारले पर्यटन दशक मनाउने भनेर वाहियात कुरा गरिरहेको छ । हामीलाई १० वर्षमात्रै पर्यटन चाहिने हो ? पर्यटन दशकमा के कार्यक्रम हुन्छ ? आगामी १० वर्ष सरकारले नयाँ के काम गर्न लागेको हो ? पर्यटकिय पूर्वाधारमा कसरी सुधार गर्छ ? आगामी १० वर्षमा कुन दिन कस्तो कार्यक्रम गर्ने भन्ने विषयमा योजना बनाएर पर्यटन दशक घोषणा गर्नु राम्रो होला । तर, हचुवाका आधारमा पर्यटन दशक घोषणा गरेर मात्रै नेपालमा पर्यटकको संख्या र पर्यटन क्षेत्रबाट आम्दानी बढ्दैन ।
जनताले सरकारी अभियानमा अपनत्व लिएनन् भने कुनै कार्यक्रम सफल हुँदैन । जनतालाई यस्ता कार्यक्रममा कसरी सहभागी गराउने भन्ने विषयमा सरकारले गम्भिर भएको योजना बनाउनु पर्छ ।
शाहसिक पर्यटन नेपालको प्रतिस्पर्धी क्षेत्र हो । संसारको सबै भन्दा राम्रो प्याराग्लाइडिङ नेपालमा हुन सक्छ । सेती नदीको खोचमा हुने क्यानोनिङ संसारकै उत्कृष्ठ हो । पर्वतको बन्जीलाई पनि हामी संसारमै राम्रो शाहसिक खेल भन्न सक्छौं । नेपालमा यस्ता कयौं शाहसिक खेल आयोजना गर्न सकिने सम्भावना छ । जसलाई हामी संसारमा बेच्न सक्छौं । हामीले सबै क्षेत्रमा छरेर काम गर्नु भन्दा शाहसिक पर्यटनमा कसरी काम गर्ने भनेर योजना बनाउनु पर्छ ।
जोखिम लिएर रमाइलो गर्न चाहनेको संख्या बढ्दो छ । संसारमा कहाँ के भइरहेको छ भन्ने थाहा पाउनु पर्छ । शाहसिक पर्यटन भविष्य हो । हामीले त्यस्ता व्यक्तिलाई नेपाल उत्कृष्ट गन्तव्य भएको सन्देश दिन सक्नुपर्छ । जसको नेपालमा ठूलो अवसर छ ।
(नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम) ले आयोजना गरेको पहिलो राष्ट्रिय पर्यटन कन्क्लेभमा हिँजो, आज र भोलीको पर्यटन विषयमा पर्यटन व्यवसायी शाक्यले राखेको मन्तव्यको सम्पादित अंश )