केएल दुगड ग्रुपका खाद्य व्यापार गर्ने ३ कम्पनीले गरे १५ अर्बको कारोबार



काठमाडौं । केएल दुगड ग्रुपद्वारा सञ्चालित ३ वटा कम्पनीले एकै वर्ष १५ अर्बको व्यापार गरेका छन् ।

दुगड ग्रुपको विकास फ्लोर मिल प्रालि, स्वास्तिक ओयल इन्डष्ट्रि प्रालि र सौरभ आयल एण्ड एग्रो इन्डष्ट्रि गरी ३ वटा कम्पनीले सन् २०२१ मा १५ अर्ब २३ करोड ६० लाख रुपैयाँको व्यापार गरेका छन् ।

केएल दुगड ग्रुप विगत लामो समयदेखि खाने तेल, खाद्यान्न, प्याकेजिङ, हाइड्रोपावर, निर्माण क्षेत्र, बैंक तथा वित्तीय संस्थासहित अन्य विभिन्न कार्यमा संलग्न छन् । उक्त क्षेत्रमा आवद्ध भएकामध्ये तीनवटा कम्पनीले व्यापार सार्वजनिक गरेका छन् । कम्पनीले रेटिङमार्फत् कर्जाका लागि कम्पनीहरूको व्यापार तथा आम्दानीबारे सार्वजनिक गरेका हुन् ।

तीनवटा कम्पनीमध्ये स्वस्तिक तेल उद्योगले मात्रै सन् २०२१ मा ११ अर्ब बढीको व्यापार गरेको छ ।

स्वस्तिक ब्रान्डमा तेल बेच्ने कम्पनीले १० महिनामै गर्‍यो करिब १२ अर्बको व्यापार

स्वस्तिक ब्रान्डमा विभिन्न प्रकारका तेल बेच्ने स्वस्तिक तेल उद्योगले १० महिनामै करिब १२ अर्बको व्यापार गरेको छ । केएल दुगडद्वारा सञ्चालित स्वस्तिक तेल कम्पनीले सन् २०२२ को १० महिनाको अवधिमै ११ अर्ब ७७ करोड ४० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ ।

कम्पनीले सन् २०२१ मा ११ अर्ब १० करोड रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२० मा ८ अर्ब २ करोड रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९८४ मा दर्ता भएको कम्पनीले विभिन्न प्रकारका तेल प्रशोधन तथा प्याकेजिङ गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । मोरङ नेपालमा उद्योग भएको कम्पनीले सोयाबिन, पाम, सन्फ्लावर र वनस्पति घ्यू गरी वार्षिक १ लाख ३५ हजार मेट्रिक टन उत्पादन गर्दै आएको छ भने १० हजार मेट्रिक टन तोरीको तेल उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले तेल तथा घ्यू उत्पादनका लागि आवश्यक कच्चा पदार्थ विभिन्न देशबाट आयात गरी बिक्री वितरण गर्दै आएको छ । विकास दुगड अध्यक्ष रहेको यस कम्पनीमा दुगड ग्रुपको पूर्ण स्वामित्व रहेको छ ।

दुगड ग्रुपले देशभर १८० वटाभन्दा बढी वस्तु बिक्री वितरण गर्दै आएको छ । कम्पनी चामल, दाल, बच्चाको खाना, मसला, चिया, पिठो, तेल र अन्य विभिन्न प्रकारका खाद्यान्न बिक्री वितरणमा संलग्न छ ।

कम्पनीले आन्तरिक बजारमा वस्तु बिक्री गर्नुका साथै भारतमा मोहन धारा र नोरिस ब्रान्डमा तेलजन्य वस्तु निर्यात गर्दै आएको छ ।

कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि १० अर्ब ४६ करोड ८० लाख रुपैयाँको रेटिङ गराएको छ ।

धारा ब्रान्डमा तेल बेच्ने सौरभ तेलको व्यापार पनि बढ्दो क्रममा

केएल दुगडद्वारा नै सञ्चालित अर्को कम्पनी सौरभ आयल एण्ड एग्रो इन्डष्ट्रिको व्यापार बढ्दो क्रममा छ । कम्पनीको व्यापार हेर्दा हरेक वर्ष बढ्दै गएको देखिन्छ । कम्पनीले सन् २०१९ मा ९७ करोड २० लाखको व्यापार गरेको थियो भने सन् २०२० मा १ अर्ब ३० करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, सन् २०२१ मा कम्पनीले १ अर्ब ९३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ ।

धारा ब्रान्डमा तोरीको तेल र ज्ञान ब्रान्डमा विभिन्न प्रकारका खाद्यान्न प्रशोधन गरी बिक्री वितरण गर्दै आएको कम्पनीको उद्योग कोहलपुर बाँकेमा छ । कम्पनीले वार्षिक १० हजार ५ सय मेट्रिक टन तेल, १४ हजार ४ सय मेट्रिक टन खाद्यान्न र ९ हजार ८ सय मेट्रिक टन आयल केक उत्पादन गर्दै आएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब १० करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले सन् २०२० देखि ज्ञान ब्रान्डमा फुड प्रोडक्ट उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । सो क्षेत्रबाट कम्पनीले सन् २०२१ मा ४८ प्रतिशत आम्दानी गरेको छ ।

त्यसैगरी, कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी प्रशोधन गर्दै आएको छ । त्यसमा सरकारले यो वर्ष कच्चा पदार्थको आयातमा १० प्रतिशत रहेकाे भन्सार शुल्क बढाएर १५ प्रतिशत कायम गरेको छ । उक्त भन्सार शुल्कले गर्दा तोरीको दाना आयातमा असर देखिएको कम्पनीको भनाइ छ । त्यस्तै, कम्पनीले अधिकांश तोरीबाट उत्पन्न भएको केक ३२ प्रतिशत भारतमा निर्यात गरेकाे जनाएको छ ।

सौरभ उद्योगअन्तर्गत तोरीको सेग्मेन्टबाट सन् २०२२ को ११ महिनामा ६७ प्रतिशत आम्दानी गरेको कम्पनीको भनाइ छ । सन् २०२० मा ८० प्रतिशत आम्दानी गरेको थियो ।

पिठो जन्य बस्तुको व्यापार १२ प्रतिशतले बढ्यो

विकास फ्लोर मिल प्रालिको आम्दानी १२ प्रतिशतले वृद्धि भएको छ । बजारमा विभिन्न प्रकारका मैदा तथा आटा बेच्दै आएको कम्पनीले सन् २०२१ मा २ अर्ब २० करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२० मा २ अर्ब १८ करोड ८० लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब ९५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ ।

सन् १९९४ मा दर्ता भएको कम्पनीले गहुँ प्रशोधन तथा उत्पादन गरी विभिन्न प्रकारका पिठोको व्यापार गर्दै आएको छ ।

कम्पनीले बोडी, मसला, लिटो, चामलको लिटो, चिउरालगायत विभिन्न प्रकारका पिठोको कारोबार गर्दै आएको छ । कम्पनीले ज्ञान र आशिर्वाद ब्रान्डमा सो वस्तुहरू बिक्री गर्दै आएको छ ।

कम्पनीले वार्षिक ३ हजार मेट्रिक टन आटा, १६ हजार ९७६ मेट्रिक टन चामल, २५ हजार मेट्रिक टन चक्की आटा, ३२ हजार ४०० मेट्रिक टन फ्लोर मिल र ४ हजार मेट्रिक टन लिटो उत्पादन गर्दै आएको छ ।

कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि १ अर्ब ७१ करोड रुपैयाँको रेटिङ गराएको छ ।


अरिष्मा मोक्तान