५३ अर्ब लगानीमा बन्दैछन् १७ वटा तारे होटल, कुनको लगानी कति ?



काठमाडौं । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गर्यो । एक वर्षमा २० लाख पर्यटक ल्याउने सरकारको महत्वाकांक्षी लक्ष्य कोरोना महामारीका कारण पूरा हुन सकेन ।

फलस्वरुप उद्घाटन भएको तीन महिना नबित्दै नेपाल भ्रमण वर्ष २०२० को अभियाान बीचमै रोकियो ।

तर नेपाल भ्रमण वर्ष मनाउने निर्णयसँगै उत्साहित निजी क्षेत्रले होटल तथा रेष्टुराँमा उल्लेख्यरुपमा लगानी बढाएको थियो । नेपाल भ्रमण वर्षको अवसरमा विदेशी पर्यटकको संख्यामा वृद्धि हुने आशामा नेपालमा होटल तथा रेष्टुराँमा हुने लगानी बढेको थियो ।

स्वदेशी र विदेशी लगानीमा राजधानी काठमाडौं र काठमाडौं बाहिरका विभिन्न जिल्लामा होटल निर्माणको लहर नै चल्यो । तर कोरोना महामारीका कारण नेपाल भ्रमण वर्र्ष मात्रै स्थगित भएन निर्माणधिन होटलहरुको गति पनि रोकियो । र, यसले लागत र समय दुबै बढायो ।

५३ अर्ब लगानी
हाल नेपालमा १७ वटा पाँचतारे होटल सञ्चालनमा छन् । यद्यपि कोरोना महामारीका कारण दरबारमार्गको होटल डेल अन्नपूर्ण र लाजिम्पाटको सांग्रिला होटल भने विभिन्न कारणले हाल बन्द अवस्थामा छन् ।

उद्योग विभागको तथ्यांक अनुसार गत आवमा मात्रै ४० वटा होटल तथा रेष्टुराँमा लगानीका लागि स्वदेशी र विदेशबाट १३ अर्ब ४८ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ । यस समाचारमा १ अर्ब रुपैयाँभन्दा बढी लगानीमा निर्माण भइरहेका होटलहरुबारे चर्चा गरिएको छ ।

१) होटल सेराटन, लैनचौर
काठमाडौंको लैनचौरमा निर्माण भइरहेको पाँचतारे होटल सेराटनमा शेष घलेको लगानी छ । करिब १० अर्ब रुपैयाँ लागतमा निर्माण भइरहेको होटल अबको करिब २ वर्षभित्र सञ्चालनमा आउने तयारी छ । निर्माणाधिन होटलहरुमध्ये सबैभन्दा बढी लगानीमा निर्माण भइरहेको यो होटलमा सिसा मात्रै १ अर्ब रुपैयाँको जडान हुनेछ ।

२) द म्यासिफ होटल, ग्वार्को
गुण ग्रुपले ललितपुरको ग्वार्कोमा निर्माण गरिरहेको द म्यासिफ होटलमा ६ अर्ब ५१ करोड रुपैयाँ लगानी हुनेछ । हालसम्म ३५ प्रतिशत भौतिक र ४३ प्रतिशत आर्थिक प्रगति भइसकेको होटल एक वर्षपछि सञ्चालनमा आउनेछ ।

३) सूर्य नेपाल, बुढानिलकण्ठ
काठमाडौंको बुढानिलकण्ठमा निर्माण भइरहेको ६ अर्ब रुपैयाँमा निर्माण हुन लागेको सूर्य नेपाल होटल ७२ रोपनी क्षेत्रफलमा फैलिएको छ । १५० देखि २०० वटासम्म रुम रहने होटलमा नेपाली लगानीकर्ताको ३९ प्रतिशत र २ प्रतिशत ब्रिट्रिस अमेरिकन टोबाको इन्भेष्टमेन्टको लगानी हुनेछ ।

४) होटल बाराही, कान्तिपथ
काठमाडौंको ठमेल चोकमा निर्माण भइरहेको होटल बाराहीमा १ अर्ब ३० करोड रुपैयाँ लगानी हुनेछ । शुरुवातमा ९० करोड रुपैयाँ लगानी हुने भनिए पनि कोरोना महामारीलगायतका कारणले होटलको लागत बढेको हो । भवनमा तीन तला मल सञ्चालन हुनेछ भने बाँकी ८ तलामा होटल सञ्चालन हुनेछ ।

५) होटल हिल्टन, नक्साल
शंकर ग्रुपले काठमाडौंको नक्सालमा निर्माण गरिरहेको होटल हिल्टन ८ अर्ब रुपैयाँ लगानी हुनेछ । शुरुवाती समयमा सवा ६ अर्ब रुपैयाँ लगानी हुने भनिए पनि कोरोना महामारीलगायतका कारणले लागत बढेको शंकर ग्रुपको भनाइ छ ।

६) बुढानिलकण्ठ हेरिटेज होटल, बुढानिलकण्ठ
काठमाडौंको बुढानिलकण्ठमा निर्माण भइरहेको बुढानिलकण्ठ हेरिटेज होटलमा २ अर्ब ४० करोड रुपैयाँ लगानी हुनेछ । शुरुवातमा १ अर्ब ६० करोड रुपैयाँ लगानी हुने भनिए पनि कोरोना महामारी, बैंकको ब्याजदर तथा जग्गा खरिदमा भएको खर्चका कारण लगानी बढेको होटलका अध्यक्ष राजेन्द्र केसीले जानकारी दिए ।

७) दुषित थानी, काभ्रे
काभ्रेको नमोबौद्धमा निर्माण भइरहेको थाइल्याण्डको चेन होटल तथा रेष्टुराँमा २ अर्ब ५० करोड रुपैयाँ लगानी भएको छ । होटलमा सानिमा बैंकसहितको कर्जा लगानी समेत छ ।

८) ट्रयाङकुलिटी रोयल, ठूलोभर्याङ

काठमाडौंको ठूलो भर्याङमा निर्माण भइरहेको पाँच तारे स्तरको यो होटलमा २ अर्ब २९ करोड रुपैयाँ लगानी भएको छ । पद्या हस्पिटालिटी ग्रुपले निर्माण गरिरहेको यो होटल २ वर्षभित्र सञ्चालनमा आउनेछ ।

९) होटल सेफ्रोन, बुटवल
रुपेन्देहीको बुटवलमा निर्माण हुन लागेको सेफ्रोन होटल पनि कोरोना महामारीका कारण चपेटामा परेको छ । चुन्नप्रसाद शर्मा, नरिश्वर शर्मालगायतपको लगानी रहने होटलमा १ अर्ब ५० करोड रुपैयाँ लगानी हुनेछ । यद्यपि कोरोना महामारीलगायतका कारणले भने होटलको लगानी बढ्नसक्ने सञ्चालकहरु बताउँछन् ।

१०) गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्स, चावहिल
काठमाडौंको चाबहिलमा निर्माण हुने यस होटलमा साढे २ अर्ब रुपैयाँ लगानी हुनेछ । पाँच तारे स्तरको होटल रहने भवनमा व्यापारिक कम्प्लेक्स समेत रहनेछ । गोपिकृष्ण मुभिज भएको हालको स्थानमा कम्प्लेक्स र होटल निर्माण हुन लागेको हो ।

११) आयुष्मान होटल, झापा
झापाको मेचिनगरमा निर्माण हुने आयुष्मान होटलमा २ अर्ब ५१ करोड लगानी हुनेछ । ९५ बेड क्षमताको होटलमा १९० जना क्षमताको रेष्टुराँ समेत हुनेछ । होटलमा ३ सय जनाले रोजगार पाउनेछन् । होटलमा इन्द्रप्रसाद सुवेदीको लगानी हुनेछ ।

१२) होटल इष्टर्न, झापा
झापाको मेचीनगर नगरपालिकामा निर्माण हुने होटल इस्टर्नमा १ अर्ब ६९ करोड ७ लाख ७१ हजा रुपैयाँ लगानी हनेछ । ९९ बेड क्षमताको होटलमा २५० सिट क्षमताको रेष्टुराँ समेत निर्माण हुनेछ ।

१३) स्वर्णीम बैंक्वेट, पोखरा
कास्कीको पोखरा नगरपालिका वडा नम्बर ६ मा निर्माण हुने होटलमा १ अर्ब लगानी हुनेछ । जसमा वेड क्षमता ९० र रेष्टुराँको सिट क्षमता ३२ हुनेछ । होटलमा ७० जनाले रोजगारी पाउनेछन् ।

१४) मेट्रोपोलिटियन होटल, काठमाडौं
काठमाडौं महानरपालिका वडा नम्बर ४ मा निर्माण हुने भनिएको यो होटलमा १ अर्ब ६५ करोड ९६ लाख रुपैयाँ लगानी हुनेछ । १९० बेड क्षमता र ४०० सिटको रेष्टुराँ समेत रहने होटलमा ६० जनाले रोजगारी पाउनेछन् ।

१५) ग्रीन भ्यू, काठमाडौं
काठमाडौं महानरपालिका वडा नम्बर ११ मा निर्माण हुने ग्रीन भ्यू होटलमा १ अर्ब रुपैयाँ लगानी हुनेछ । होटलमा ९० वटा बेड रहनेछन् भने होटलको रेष्टुराँमा ७५ सिट हुनेछन् । होटलमा ५० जनाले रोजगारी पाउने उद्योग विभागको तथ्यांकमा उल्लेख छ ।

१६) नेपाल इन्टरनेशनल हस्पिटालिटी प्रालि, बिराटनगर
मोरङ जिल्लाको बिराटनरमा स्थापना हुने नेपाल इन्टरनेशनल हस्पिटालिटी प्रालिमा १ अर्ब ३० करोड लगानी हुनेछ । ९९ बेड क्षमता र ४०० सिट रेष्टुराँ समेत रहने होटलमा ७७ जनाले रोजगारी पाउनेछन् ।

१७) सिद्धार्थ इन्टरनेशनल होटल, बुटवल
रुपेन्देहीको बुटवलमा निर्माण हुने भनिएको सिद्धार्थ इन्टरनेशनल होटलमा करिब १ अर्ब रुपैयाँ लगानी हुनेछ । २०० बेड क्षमताको होटलमा रेष्टुराँको सिट क्षमता ३०० रहनेछ । होटलमा १२८ जनाले रोजगारी पाउनेछन् ।


क्लिकमान्डु