कुन कुन बैंकबाट आईपीओ भर्दा सी-आश्वा शुल्क लाग्दैन ?



काठमाडौं । नेपाल बैंक र सानिमा बैंकले सी-आश्वा शुल्न नलिने घोषणा गरेसँगै निःशुल्क आश्वा सेवा दिने बैंकको संख्या ६ पुगेको छ ।

अहिलेसम्म नेपाल, सानिमासँगै कुमारी, नबिल, एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंकले सी-आश्वा सेवा निःशुल्क दिने घोषणा गरेका छन् ।

यी बैंकबाट सेयरमा आवेदन दिने लगानीकर्ताले कुनै पनि शुल्क तिर्नुपर्दैन । बाँकी २० वटा वाणिज्य बैंकबाट सेयरमा आवेदन दिँदा ५ रुपैयाँ शुल्क तिर्नुपर्छ ।

यसअघि बैंकहरुले १० रुपैयाँदेखि १०० रुपैयाँसम्म शुल्क लिने गरेका थिए । धितोपत्र बोर्डले भदौ ५ गते बैंकहरुलाई आश्वा शुल्क ५ रुपैयाँमात्रै लिन निर्देशन दिएको छ ।

बोर्डले सार्वजनिक निष्काशन भएको धितोपत्रको खरिद प्रक्रियालाई स्वच्छ, पारदर्शी, छिटो छरितो तथा मितव्ययी बनाउन शुल्क घटाएको जनाएको छ ।

बोर्डले आश्वा सेवा शुल्कलाई समयानुकुल समायोजन गर्न आवश्यक रहेकाले बोर्डले ‘धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३’ मा तेस्रो संशोधन गरी ५ गतेदेखि ५ रुपैयाँ लिने व्यवस्था गरेको हो

बोर्डले गरेको नयाँ व्यवस्थामा बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बापत बढीमा १०० रुपैयाँ सेवा शुल्क लिन सक्नेमा सो सेवा शुल्क घटाई बढीमा ५ रुपैयाँ सेवा शुल्क लिन सक्ने व्यवस्था गरिएको छ ।

बैंक वा वित्तीय संस्थाले निष्काशन तथा बिक्री प्रवन्धकलाई प्रतिदरखास्त १० रुपैयाँ बुझाउनु पर्नेमा त्यो रकम घटाई प्रतिदरखास्त दुई रुपैयाँ बुझाउनु पर्ने व्यवस्था गरेको छ ।

धितोपत्रको केन्द्रीय निक्षेप सेवा प्रदायकले सुविधा उपलब्ध गराए बापत निष्काशन तथा बिक्री प्रबन्धक वा बैंक वा वित्तीय संस्थाले प्रतिदरखास्त बापत दुई रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेमा उक्त रकमलाई घटाई निष्काशन तथा बिक्री प्रबन्धकले प्रति दरखास्त वापत एक रुपैयाँका दरले शुल्क बुझाउनु पर्ने व्यवस्था गरेको छ ।

आइपीओ भर्दा बैंकहरुबाट पैसा काटिन्छ । ६ वटा बाहेक बैंकले ग्राहकसँग यो सेवा दिँदा ५ रुपैयाँ लिने गर्छन् । जसलाई सी-आस्वा सेवा भनिन्छ । यसरी ग्राहकलाई सी–आस्वा सेवा दिएवापत शुल्क लिनको लागि बैंकहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका हुन्छन् ।


क्लिकमान्डु