तारा एयरको आम्दानी साढे ६४ करोड नाघ्यो, चार वर्षअघिको तुलनामा अझै ५९ प्रतिशत कम
काठमाडौं । स्टोल रुटमा उडान भरिरहेको तारा एयरको आम्दानी कोरोना महामारीपछि बढ्न थालेको छ । कोरोना महामारीमा विदेशी पर्यटक आगमन न्यून हुँदा उल्लेख्य रुपमा घटेको कम्पनीको आम्दानी सन् २०२२ मा भने बढेको हो ।
कोरोना महामारी शुरु हुनुभन्दा अघि सन् २०१९ मा १ अर्ब ५६ करोड ८० लाख रुपैयाँको कारोबार गरेको कम्पनीको आम्दानी सन् २०२० मा घटेर ९४ करोड ७० लाख रुपैयाँमा सीमित भएको थियो ।
तर सन् २०२१ मा ४७ करोड रुपैयाँमा सीमित आम्दानी सन् २०२२ मा भने ३७.४४ प्रतिशतले बढाएर ६४ करोड ६० लाख रुपैयाँ पुर्र्याएको छ । सन् २०२२ को आम्दानी भने प्रक्षेपण गरिएको हो ।
यसरी कोरोना महामारी शुरु हुनुभन्दा अघिको अवस्थाभन्दा अझै पनि कम्पनीको आम्दानी ९२ करोड रुपैयाँ कम छ ।
कम्पनीका अनुसार सन् २०२० र २०२१ मा उल्लेख्य रुपमा आम्दानी कम हुँदा कम्पनीको ऋण पनि बढेको छ ।
कम्पनीको मुख्य आम्दानी डलर रहे पनि कोरोना महामारीका कारण विदेशी पर्यटकको संख्या न्यून भएपछि यस्तो आम्दानी सन् २०२२ को ९ महिनामा १८ प्रतिशतमा सीमित भएको छ । जबकी कोरोनाभन्दा अघि डलरबाट हुने आम्दानी ५५ देखि ६० प्रतिशत थियो ।
तारा एयरको कुल आम्दानीमा तीन वटा रुटको हिस्सा ५२ प्रतिशत छ । कम्पनीका अनुसार लुक्ला, सिमिकोट र रारा गन्तव्यबाट कम्पनीले ५२ प्रतिशत आम्दानी गर्न सफल भएको छ ।
सन् २००८ मा स्थापना भइ सञ्चालनमा आएको तार एयर प्रालिले विशेष गरी स्टोल गन्तव्यमा तीन वटा ट्विन अटर एयरक्राफ्टबाट उडान गरिरहेको छ । स्टोल रुटमा उडान गर्ने एयरलाइन्समध्ये सबैभन्दा धेरै यात्रुलाई सेवा दिनेमा तार एयर पहिलो स्थानमा छ ।
कम्पनीको प्रमोटरमा पर्यटन व्यवसायीहरु लाक्पा सोनाम शेर्पा छन् । साथै, अर्का प्रमोटर आङ छिरिङ शेर्पाको भने हेलिकोप्टर दुर्घटनामा निधन भइसकेको छ । हाल कम्पनीको अध्यक्षमा चन्दा शेर्पा छिन् ।
तारा एयर यति एयरलाइन्सको सिस्टर कन्सर्न कम्पनी हो । यति एयरले ट्रंक रुटमा सेवा दिँदै आएको छ ।
कम्पनीले हालै ९८ अर्ब ३० करोड रुपैयाँ र ४० लाख ५९ हजार डलर बराबरको ऋणका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले दीर्घकालीन कर्जाका लागि एलबी र अल्पकालीन कर्जाका लागि एफोर रेटिङ दिएको छ ।