पुनर्बीमा कम्पनीको लगानी २६ अर्ब नाघ्यो, नेपाल पुनर्बीमा एक्लैको १८ अर्ब ७४ करोड



काठमाडौं । नेपालमा २ वटा कम्पनीले पुनर्बीमाको व्यवसाय गर्दै आएका छन् । ती कम्पनीले गत आर्थिक वर्षमा २६ अर्ब रूपैयाँ भन्दा धेरै लगानी गरेका छन् ।

समितिद्वारा जारी बीमकको लगानी निर्देशिकाबमोजिम नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिले गत आवमा २६ अर्ब १८ करोड ७३ लाख रूपैयाँ कुल लगानी गरेका हुन् ।

नेपाल पुनर्बीमा कम्पनी एक्लैले १८ अर्ब ७४ करोड ३२ लाख रूपैयाँ लगानी गरेको छ । जुन कुल लगानीको ७१.५७ प्रतिशत हो ।

यस्तै, हिमालयन रिले ७ अर्ब ४४ करोड ४० लाख रूपैयाँ गरी सो बराबरको रकम विभिन्न क्षेत्रमा लगानी गरेको छ ।

बीमा समितिले बीमकको लगानीसम्बन्धी निर्देशिका, २०७५ जारी गर्दै घरजग्गा व्यवसाय, जलस्रोत, कृषि, पर्यटन, सामूहिक लगानी कोषलगायतका क्षेत्रमा लगानी गर्न सक्ने बाटो खोलिदिएको थियो ।

तर, लगानीको दायरा फराकिलो भए पनि पुनर्बीमा कम्पनीको लगानी भने अझै पनि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा मात्रै सीमित भएको छ ।

बीमा समितिद्वारा जारी बीमकको लगानी निर्देशिकामा तोकिएको क्षेत्रमा लगानी नगरि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा मात्रै केन्द्रित भएका हुन् ।

पुनर्बीमा कम्पनीहरूले कुल लगानीको ८५.३९ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा गरेका छन् ।

दुवै कम्पनीले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा मात्रै कुल लगानीको ८५.३९ प्रतिशत अर्थात २२ अर्ब ३६ करोड २२ लाख रूपैयाँ लगानी गरेका हुन् ।

कम्पनीहरूले क बर्गको मुद्दती नक्षेपमा २० अर्ब ८७ करोड ८६ लाख रूपैयाँ र ख बर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १ अर्ब ४८ करोड ३५ लाख रूपैयाँ लगानी गरेका छन् ।

कम्पनीहरूले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ९ करोड ४७ लाख रूपैयाँ लगानी गरेका छन् । जुन कुल लगानीको ०.३६ प्रतिशत मात्रै हुन आउँछ ।

क, ख र ग बर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा कम्पनीहरूले २ अर्ब ३२ करोड ८८ लाख रूपैयाँ लगानी गरेका छन् । जुन कुल लगानीको ८.८९ प्रतिशत हो ।

यस्तै, पुनर्बीमा कम्पनीहरूले म्यचुअल फण्ड र नागरिक लगानी कोषमा ९ लाख रूपैयाँ, ख बर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १ अर्ब ७३ लाख २१ लाख ७५ हजार रूपैयाँ र अन्य लगानीमा १ अर्ब ५१ लाख रूपैयाँ लगानी गरेका छन् ।

दुई पुनर्बीमा कम्पनीहरूले नेपाल सरकारको बचतपत्रमा ३० करोड रूपैयाँ लगानी गरेका छन् ।

समितिद्धारा जारी बीमकको लगानी निर्देशिकाअनुसार पुनर्बीमा कम्पनीहरूले नेपाल सरकारको पूर्वाधार बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था छ । तर, सञ्चालनमा रहेका दुई पुनर्बीमा कम्पनीले सो क्षेत्रमा लगानी नै गरेका छैनन् । यस्तै, पुनर्बीमा कम्पनीहरूले घर जग्गामा बढिमा ५ प्रतिशत लगानी गर्न सक्ने व्यवस्था भएता पनि यस क्षेत्रमा पनि लगानी शून्य छ ।

समितिद्धारा जारी बीमकको लगानी निर्देशिकाअनुसार पुनर्बीमा कम्पनीले नेपाल सरकारको बचपत्रमा न्यूनतम ५ प्रतिशत, क वर्गको बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा बढीमा १० प्रतिशत, क, ख र ग बर्गको बैंक तथा वित्तीय संस्थाको सेयर र ऋणपत्रमा बढीमा २० प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेञ्चरमा बढिमा २० प्रतिशत, कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधारमा बढिमा २० प्रतिशत, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा बढिमा ५ प्रतिशत, ख बर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बढिमा २० प्रतिशत र ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बढिमा १० प्रतिशत लगानी गर्न सक्ने व्यवस्था छ ।


क्लिकमान्डु